मंगलबार, २७ जनवरी, २०२६
17:53 | २३:३८

ग्लास्गो नेपाली एशोसिएसनमा चुनियो रामप्रसाद कँडेलको अध्यक्षतामा सर्वसम्मत कार्यसमिति

नेपाली लिङ्क जनवरी २७, २०२६


ग्लास्गो- स्कटल्यान्डको पुरानो नेपाली संस्था ‘ग्लास्गो नेपाली एशोसिएसन’ को १३औँ अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सोमबार सम्पन्न भएको छ।

अधिवेशनले रामप्रसाद कँडेलको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति निर्वाचित गरेको छ।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा साजना गैरे र नरिश्वर खराल चयन भएका छन् भने शिवकान्त खराल सचिव, अन्जु न्यौपाने सहसचिव, कृष्ण सापकोटा कोषाध्यक्ष र चक्रप्रसाद जोशी सहकोषाध्यक्षमा चुनिएका छन् । त्यस्तै, सदस्यमा गोविन्द देवकोटा, पर्शुराम भण्डारी, पूर्ण कँडेल, गोकर्ण खड्का, सूर्य पौड्याल र राजेश भट्ट छन्।

कृष्ण देवकोटा संयोजक, डिलाराम गैरे सहसंयोजक र मीन खरेल सदस्य रहेको निर्वाचन समितिले नयाँ कार्यसमितिको घोषणा तथा शपथ ग्रहण गराएको थियो।

नवनिर्वाचित अध्यक्ष रामप्रसाद कँडेल

नवनिर्वाचित अध्यक्ष रामप्रसाद कँडेल एनआरएनए यूकेका वर्तमान उपाध्यक्ष हुन्। उनीसंग विभिन्न सामाजिक संघसंस्थामा नेतृत्वदायी भूमिकामा रहेर काम गरेको अनुभव छन्।

अध्यक्ष निर्वाचित भएपछि कंडेलले स्कटल्यान्ड तथा बेलायतभरका सामाजिक तथा धार्मिक संघ–संस्थासँग सहकार्य गर्दै स्कटल्यान्डमा बसोवास गर्ने नेपाली समुदायबीचको भ्रातृत्व, सद्भाव र एकतालाई अझ मजबुद बनाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

अध्यक्ष कंडेलले निवर्तमान अध्यक्ष छविलाल अर्यालसहित सिंगो कार्यसमितिलाई आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गर्दै नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गर्न महत्वपूर्ण भूमिका खेलेको भन्दै धन्यवाद व्यक्त गरेका छन्।

अधिवेशन सफल बनाउन भूमिका निर्वाह गरेकोमा निर्वाचन समिति र अधिवेशनका क्रममा नास्ता तथा पानीको व्यवस्थापन गर्ने पशुपतिनाथ मन्दिरकी अध्यक्ष डली भट्टलगायत सम्पूर्ण सहयोगीहरूप्रति पनि उनले विशेष आभार व्यक्त गरेका छन्।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू