मंगलबार, २७ जनवरी, २०२६
00:09 | ०५:५४

बेलायतमा घण्टीको नाम लिएर धमाधम व्यक्तिगत खातामा चन्दा उठाइएपछि कारवाहीको चेतावनी

नेपाली लिङ्क जनवरी २६, २०२६

लन्डन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निकट प्रवास नेपाली सम्पर्क विभाग बेलायतले आफ्नो संगठनको नाम, हैसियत तथा संगठनात्मक परिचयको दुरुपयोग गर्दै केही व्यक्तिले चुनावको सन्दर्भ देखाइ व्यक्तिगत बैंक खातामा आर्थिक सहयोग संकलन गरिरहेको पाइएको भन्दै कानूनी कारवाही गर्ने चेतावनी दिएको छ ।

विभागले आइतबार एक विज्ञप्ति जारी गर्दै यदि यस किसिमको कार्यमा नियतवश वा लापरवाहीपूर्वक कुनै व्यक्ति, पार्टीका पदाधिकारी वा साधारण सदस्य समेत संलग्न रहेको पुष्टि भएमा सम्बन्धित व्यक्तिलाई तत्काल निलम्बन गरि पार्टीको विधान अनुसार कडा अनुशासनात्मक कारवाही प्रक्रिया अगाडि बढाइने र आवश्यक परे कानूनी कारवाही तथा सम्बन्धित निकायमा उजुरीसमेत दर्ता गरिने प्रष्ट पारेको छ ।

विभागबाट कुनै पनि व्यक्ति, समूह वा इकाईलाई व्यक्तिगत बैंक खातामार्फत आर्थिक सहयोग संकलन गर्ने अधिकार प्रदान नगरिएको पनि विज्ञप्तिमा प्रष्ट पारिएको छ ।

‘हाम्रो संगठनको नाममा चन्दा उठाउने कार्य पार्टीको विधान, आचारसंहिता तथा निर्णय विपरितमात्र नभई संगठनको नाममा ठगी, गलत प्रतिनिधित्व र आर्थिक अनियमितताको श्रेणीमा पर्ने गम्भीर अपराध हो’, विज्ञप्तिमा छ ।

विभागका अध्यक्ष पवन शर्माले चुनावमा पार्टीलाई लजिष्टिक र भौतिक सहयोग गरिने तर आर्थिक सहायता नदिइने बताए । ‘पहिलो, हामीलाई पार्टीले आर्थिक सहयोग मागेको पनि छैन् । अर्को कुरा प्रवास संगठन पार्टीलाई पैसा दिन मात्र गठन भएका हुन् भन्ने परम्परागत ‘माइण्ड सेट’ परिवर्तन गर्ने हाम्रो अठोट छ’, शर्माले भने ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू