शनिबार, २४ जनवरी, २०२६
02:53 | ०८:३८

भूतपूर्व गोर्खाहरुले टुंग्याए बेलायत सरकारसमक्ष राखिने एजेण्डा

नेपाली लिङ्क जनवरी २३, २०२६

लन्डन । भूतपूर्व ब्रिटिश गोर्खाहरु बेलायत सरकारसमक्ष राखिने मागका एजेण्डामा एकमत भएका छन् । शुक्रबार दूतावास भवनमा करिब ४ घण्टा चलेको बैठकले जी टेन सदस्यहरुबीच साझा एजेण्डामा सहमति गरेको हो । ‘जी टेन’ मा विभिन्न गोर्खा संगठनका प्रतिनिधि सहभागी छन् ।

बैठकमा सहभागी गेसो उपसभापति धर्म तामाङले समान पेन्सन मुद्दामा ‘अफोर्डेबल सोलुसन’ मार्फत समस्या समाधान खोज्न भूतपूर्व गोर्खाहरुबीच सहमति बनेको जनाए ।

बैठकमा सहभागी अर्का गोर्खा अभियन्ता गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका प्रमुख संयोजक कृष्ण बहादुर राईले विभिन्न शीर्षकमा गहन छलफलपछि गोर्खा मुद्दा टुंग्याउन साझा एजेण्डा तय भएको जनाए । के के विषयमा साझा एजेण्डा बने भन्ने चाहिं उनले खुलाउन चाहेनन् ।

यसअघि जी टेन सदस्यहरुबीच कार्यगत एकता भएपनि एजेण्डा फरक फरक थिए । तर, अब सबै मनमुटाव अन्त्य गरि एकै खालका माग लिएर उनीहरु प्रस्तुत भएका हुन् ।

बैठकमा कार्यवाहक राजदूत विपिन दुवाडीले अब गोर्खाहरुबाट प्राप्त कमन एजेण्डालाई छिट्टै बेलायत सरकारसमक्ष प्रस्तुत गरि वार्ताको मिति तय गर्न पहल गर्ने बताएका छन् । बेलायत सरकारले समान पेन्सन दिन इन्कार गरेको छ तर दूतावाससंग परिमार्जित (अफोर्डेबल सोलुसन) सहित आउन आग्रह गर्दै आएको थियो ।

उक्त बैठकमा जी टेन आवद्ध गेसो उपसभापति धर्म तामाङ, बिजिडब्लुएस अध्यक्ष मेजर रि. टिकेन्द्रदल देवान, मेजर रि. जुदबहादुर गुरुङ, अनसनकर्ताहरु पुष्पा राणा घले र धन गुरुङ, गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका प्रमुख संयोजक कृष्ण बहादुर राई, विष्णु गुरुङ, बिजिनेसाका दिल जिसी र दूतावासका तर्फबाट कार्यवाहक राजदूत विपिन दुवाडी एवं सैनिक सहचारी ब्रिगेडियर जनरल अनुप शाह उपस्थित थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू