बेलायतमा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिवन्ध तयारी



लन्डन । बेलायतमा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालको प्रयोगमा प्रतिवन्ध लगाउने तयारी शुरु भएको छ । यस सम्बन्धमा प्रस्तावित नीतिबारे बेलायत सरकारले सार्वजनिक रुपमा परामर्श बटुल्ने प्रक्रिया पनि अघि बढाइसकेको छ ।
तीन महिनाभित्र आम सर्वसाधारण, अभिभावक, विशेषज्ञ र सरोकारवाला समूहलगायतबाट राय, सुझाव सकंलन गर्ने र सोहीअनुसार आउँदो समर यामभित्रै नयाँ नीति निर्माण गरी कार्यान्वयनमा लैजाने योजना सरकारको छ।
बेलायत सरकारको नयाँ प्रस्तावमा विद्यालय क्षेत्रमा मोबाइल फोनको प्रयोगमा समेत कडाइ गर्ने नीति पनि समावेश गरिएको छ ।
बालबालिकाहरुको मानसिक स्वास्थ्य, सुरक्षा र समय व्यवस्थापनका सम्बन्धमा बढ्दै गएको चिन्तालाई सम्बोधन गर्ने प्रयासमा सामाजिक सञ्जाल प्रतिवन्धको नीति प्रस्ताव गरिएको बेलायत सरकारका भनाइ छ।
सरकारले सामाजिक सञ्जाल प्लेटफर्महरूले प्रयोगकर्ताको उमेर प्रमाणीकरण अर्थात् एज भेरिफिकेसनका लागि थप प्रभावकारी सिस्टम लागू गर्नेदेखि प्रयोगकर्तालाई अत्यधिक लत लगाउने खालका फिचरहरु हटाउन वा कम गर्न बाध्य पार्नेसम्मका प्रस्तावमा सार्वजनिक परामर्श लिंदैछ ।
त्यस्तै, विद्यालयस्तरमा मोबाइल फोनको प्रयोग घटाउने उद्देश्यले शिक्षक तथा विद्यालयका कर्मचारीहरूले विद्यार्थीहरूको अगाडि व्यक्तिगत प्रयोजनका लागि मोबाइल फोन प्रयोग गर्न नपाउने नीति पनि प्रस्तावित छ ।
बेलायतमा सत्तारुढ तथा विपक्षीसमेत उल्लेख्य संख्याका सांसद तथा अभिभावक समूहहरूले प्रस्तावित प्रतिवन्धको समर्थन गर्दै तत्कालै लागू गर्नुपर्ने माग गरेका छन् । केही आलोचकहरूले भने यस्तो प्रतिबन्धले बालबालिकाहरूलाई अनियन्त्रित अनलाइन स्थानतिर धकेल्न सक्ने चेतावनी दिएका छन् ।
प्रतिवन्धका समर्थकहरुले सामाजिक सञ्जालको अत्यधिक प्रयोगले बालबालिकाको मानसिक स्वास्थ्य, निद्रा र पारिवारिक सम्बन्धमा असर पु¥याएको उल्लेख गरिरंहदा आलोचकहरुले भने यस्तो प्रतिबन्धले अनलाइनमा उपलब्ध हुने सहायताको पहुँचमा पनि अवरोध ल्याउन सक्ने दाबी गरेका छन् ।
हाल बेलायतमा सामाजिक सञ्जाल लगायत अनलाइन सेवाहरूमा डिजिटल सहमति उमेर सामान्यतया १३ वर्ष कायम छ, जसको अर्थ १३ वर्ष वा सोभन्दा माथिका व्यक्तिहरू आफ्नै अनुमति अर्थात् अभिभावक–स्वीकृति बिना अनलाइन गतिविधिहरूमा सहभागी हुन सक्छन्, जुन उमेरलाई लिएर धेरै आलोचना तथा सुरक्षा चिन्ता व्यक्त हुंदै आएका छन् ।
हालै मात्रै पहिलोपटक अष्ट्रेलियाले १६ वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिवन्ध लगाएको थियो।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


