मंगलबार, २० जनवरी, २०२६
13:57 | १९:४२

ग्रीनवीच भलिबल क्लबमा नयाँ नेतृत्व, अध्यक्ष बने उमेश चन्द ठकुरी

नेपाली लिङ्क जनवरी २०, २०२६


लन्डन-साउथ इष्ट लन्डनस्थित ‘ग्रीनवीच भलिबल क्लब’ मा नयाँ नेतृत्व चुनिएको छ। आइतबार प्लमस्टिडमा सम्पन्न क्लबको तेस्रो अधिवेशनले सर्वसम्मत रूपमा २५ सदस्यीय कार्यसमिति निर्वाचित गरेको हो।

नवनिर्वाचित टीममा अध्यक्षको जिम्मेवारी उमेश चन्द ठकुरीले पाएका छन्। उनी यसअघि क्लबको महासचिव थिए।

नयाँ कार्यसमितिको उपाध्यक्षमा अनिल गुरुङ र संगीता मगर, महासचिवमा अमर गुरुङ, सचिवमा चन्द्र पुन, सहसचिवमा रश्मी गिरी, कोषाध्यक्षमा विजय थापा तथा सहकोषाध्यक्षमा मिन गुरुङ चयन भएका छन्।

सदस्यहरूमा रेखा घले, चन्दा थापा, आरती राना, संझना थापा, सनम थापा, इच्छा थापा, लक्ष्मण राई, जीवन थापा, मिन रिङ्जाली, निर्मल थापा, सचिन लिम्बु, सुनिल थापा, लब थापा, कुश थापा, रोबिन गुरुङ, मधु थापा र मनोज गुरुङ चुनिएका छन्।

निर्वाचन समिति प्रमुख एवं क्लबका संरक्षक विनोद ज्ञवालीले नवनिर्वाचित पदाधिकारीलाई शपथग्रहण गराएका थिए। ज्ञवाली नेतृत्वको निर्वाचन समितिमा कर्मा पहाडी शेर्पा सदस्य सचिव र राज कटवाल सदस्य थिए।

सोही अवसरमा क्लबको प्रशिक्षकमा जीवन गुरुङ र म्यानेजरमा प्रेम गुरुङलाई चयन गरिएको छ।

क्लबका निवर्तमान अध्यक्ष रविन्द्र रोका मगरले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा सफलताको शुभकामना दिए। उनले क्लबको सम्पूर्ण जिम्मेवारी नवनियुक्त अध्यक्ष उमेश चन्द ठकुरी र महासचिव अमर गुरुङलाई हस्तान्तरण गरे।

सो अवसरमा नवनिर्वाचित अध्यक्ष उमेश चन्द ठकुरीले क्लब र सबै खेलाडीको हित तथा भावनालाई प्राथमिकतामा राख्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

यसअघि पहिलो चरणमा निवर्तमान अध्यक्ष रविन्द्र रोका मगरको अध्यक्षतामा सम्पन्न वार्षिक साधारणसभामा क्लबका गतिविधिको समिक्षा एवं भावी योजनाबारे छलफल गरिएको थियो।

अध्यक्ष रोका मगर र संरक्षक विनोद ज्ञवालीले पानसमा दीप बालेर उद्घाटन गरेको उक्त सत्रमा महासचिव उमेश चन्द ठकुरीले महासचिवको प्रगति प्रतिवेदन प्रस्तुत गरे। कोषाध्यक्ष गिरी पुनको अनुपस्थितिमा विजय थापाले आर्थिक विवरण पेश गरे।

सो अवसरमा संरक्षक विनोद ज्ञवालीले क्लबको स्थापनाकालदेखि हालसम्मका गतिविधिबारे जानकारी गराए।

अध्यक्ष रविन्द्र रोका मगरले आफ्नो कार्यकालका महत्वपूर्ण प्रगतिहरु समेट्दै प्रतिवेदन प्रस्तुत गरे। उपाध्यक्ष सरला रोका मगर, सल्लाहकार कर्मा पहाडी शेर्पा र राज कटवालले शुभकामना मन्तव्य राखे।

साउथ इष्ट लन्डनमा बस्ने भलिबलप्रेमी नेपाली युवाहरुको सक्रियतामा सन् २०१७ मा स्थापना भएको ग्रीनवीच भलिबल क्लबले बेलायतको नेपाली समुदायमा आयोजना भएका थुप्रै प्रतियोगितामा प्रथम स्थान हासिल गरेको छ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू