मंगलबार, २० जनवरी, २०२६
01:03 | ०६:४८

तमु समाज यूकेको ल्होछार-ल्होसार समीक्षा बैठक, प्रदेश सांसद गुरुङ सम्मानित

नेपाली लिङ्क जनवरी १९, २०२६

लन्डन । तमु समाज यूकेले ल्होछार-ल्होछार २०२६ को समीक्षा बैठक गरेको छ । १८ जनवरी २०२६ का दिन समाजको आफ्नै सामुदायिक भवन बारहम पार्क, वेम्बलीमा सम्पन्न बैठकपछि हाल बेलायत भ्रमणमा रहेका गण्डकी प्रदेश सभा सदस्य पञ्च राम गुरुङको भव्य स्वागत तथा सम्मान गरिएको छ ।

पहिलो चरणमा भएको समीक्षा बैठकको अध्यक्षता तमु समाज यूकेकी अध्यक्ष श्रीमती बिन्दु कुमारी गुरुङ घलेले गरेकी थिइन् भने बैठक सञ्चालन सचिव क्याप्टेन तेसरजंग गुरुङले गरेका थिए । बैठकमा उपस्थित सदस्यहरूलाई उपाध्यक्ष भिम बहादुर गुरुङले स्वागत मन्तव्य दिए पश्चात एजेन्डा अनुसार कार्यक्रम अगाडि बढेको थियो ।

बैठकमा सर्वप्रथम समाजका कोषाध्यक्ष चन्द्रकान्त गुरुङले हालै सम्पन्न ल्होछार सेलिब्रेसन कार्यक्रमको आय–व्यय विवरण प्रस्तुत गरे । यस अवसरमा उनले समाजले ल्होछार कार्यक्रमबाट धेरै समय पछि आर्थिक रूपमा मुनाफा गर्न सफल भएको जानकारी दिएका थिए जसलाई बैठकले सकारात्मक उपलब्धिका रूपमा लिएको छ ।

त्यसपछि ल्होछार कार्यक्रमका क्रममा देखिएका कमी–कमजोरी, सुधारका सम्भावना तथा आगामी दिनमा कसरी कार्यक्रम अझ व्यवस्थित र प्रभावकारी बनाउने भन्ने विषयमा गहन छलफल भएको थियो । सो क्रममा केही कार्यविधि सुधार गर्दै लैजाने र केही गतिविधि आगामी कार्यक्रममा समावेश नगर्ने निर्णयसमेत गरियो । राम्रो कार्यसम्पादन गर्ने कार्यकर्ताहरूलाई प्रोत्साहन गर्ने निर्णय पनि बैठकले गरेको छ। बैठकको एजेन्डा टिपोट सचिव क्याप्टेन तेसरजंग गुरुङले गरेका थिए ।

बैठकको अन्त्यमा अध्यक्ष बिन्दु कुमारी गुरुङ घलेले ल्होछार कार्यक्रम सफल बनाउन प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैप्रति हार्दिक धन्यवाद व्यक्त गरिन् । विशेष गरी उनले कार्यक्रम संयोजक उपाध्यक्ष केदार बहादुर गुरुङ, सल्लाहकार धरमबल गुरुङ, प्रायोजक खोजीमार्फत आर्थिक भार कम गर्न महत्वपूर्ण भूमिका खेल्ने संस्थापक अध्यक्ष चित्र बहादुर गुरुङ, पूर्व अध्यक्ष शिवचन्द्र गुरुङ, अतिथिहरूको भोजन व्यवस्थापनमा खटिएका आमा समूह, समाजका युवा कलाकारहरूप्रति विशेष आभार प्रकट गरेकी थिइन् ।

बिहान ११ बजे सुरु भएको समीक्षा बैठक अपराह्न ४ बजे समापन भएको थियो ।

माननीय गुरुङको स्वागत सम्मान

कार्यक्रमको दोस्रो चरणमा तमु समाज यूकेले कोने, घोताने, घोन्डे तमु समाज यूकेको विशेष निमन्त्रणामा बेलायत आएका गण्डकी प्रदेश सभा सदस्य माननीय पञ्च राम गुरुङको स्वागत तथा सम्मान गरिएको छ । उक्त कार्यक्रमको अध्यक्षता तमु समाज यूकेकी अध्यक्ष श्रीमती घलेले गरेकी थिइन् ।

कार्यक्रममा समाजका सचिव क्याप्टेन तेसरजंग गुरुङले प्रमुख अतिथि गुरुङको परिचय दिए । उनी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) गण्डकी प्रदेश अध्यक्ष, संसदीय दलका नेता तथा पूर्व सामाजिक विकास तथा स्वास्थ्य मन्त्रीको हैसियतमा गण्डकी प्रदेशको सामाजिक, स्वास्थ्य र विकास क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका निष्ठावान, सादा र जनसमर्पित नेताको रूपमा परिचित छन् । स्याङ्जा जिल्लाबाट निर्वाचित गुरुङ गुरुङ समुदायको भाषा, संस्कृति र पहिचान संरक्षण तथा सबै जातजातिबीच सद्भाव र एकता कायम गर्न निरन्तर क्रियाशील रहँदै आएको जानकारी गराइएको थियो ।

सो अवसरमा संस्थापक अध्यक्ष चित्र बहादुर गुरुङले तमु समाज यूकेको स्थापना, उद्देश्य र गतिविधिबारे संक्षिप्त जानकारी दिएपछि समाजका तर्फबाट अध्यक्ष बिन्दु कुमारी गुरुङ घले, संस्थापक अध्यक्ष चित्र बहादुर गुरुङ तथा आमा समूहकी अध्यक्ष विमला गुरुङद्वारा माननीय गुरुङलाई खादा, फेटा, पुष्पगुच्छा तथा मायाको चिनो प्रदान गरिएको थियो।

प्रत्युत्तरस्वरूप सांसद गुरुङले पनि समाजकी अध्यक्षलाई मायाको चिनो प्रदान गरे । कार्यक्रममा उपस्थित सबैले सम्मानस्वरूप खादा अर्पण गरेका थिए ।

सम्मान ग्रहणपछि सांसद गुरुङले भावुक मन्तव्य राख्दै तमु समाज यूकेले देखाएको आत्मीयता र सम्मानप्रति गहिरो आभार व्यक्त गरे । उनले आफू सादा, इमानदार र जनसमर्पित राजनीति गर्ने विश्वासका साथ अघि बढिरहेको उल्लेख गर्दै बोलीभन्दा काम गरेर देखाउने प्रतिवद्धता व्यक्त गरे ।

उनले भने, ‘तपाईंहरूले मप्रति दर्शाउनुभएको यो अगाध सद्भावलाई म कहिल्यै डगमगाउन दिने छैन। एउटा गुरुङको छोरा हुनुको नाताले देश र जनताप्रति सधैं बफादार रहेर काम गर्ने र हाम्रो समुदायको शिर सधैं उच्च राख्ने दृढ संकल्प गर्दछु ।’

आफ्नो पार्टीबाट गण्डकी प्रदेशका इन्चार्जको रूपमा विभिन्न जिल्लाका गुरुङ वस्तीहरू भ्रमण गर्ने क्रममा देखिएको यथार्थतर्फ संकेत गर्दै उनले गुरुङ वस्तीहरूबाट भइरहेको पलायनका कारण धेरै गाउँघर रित्तिँदै गएको, विकासमा पहुँचको अभाव तथा राज्यसँगको दूरीबारे गम्भीर चिन्ता व्यक्त गरे ।

अन्य समुदायका गाउँहरूमा सरकारी लगानीमार्फत विकास भइरहँदा गुरुङ वस्तीमा भने प्रायः वैदेशिक सहयोग र आफ्नै समुदायको योगदानमा आधारित विकास भइरहेको अवस्था उल्लेख गर्दै उनले राज्यसँग आफ्ना हक अधिकार दाबी गर्न सबैलाई सचेत र संगठित हुन आग्रह गरे ।

सांसद गुरुङले विदेशको मात्र भर नपरी आफ्नै देशमा अवसर सिर्जना गर्दै अघि बढ्नुपर्नेमा विशेष जोड दिए । सरकारी सेवा–सुविधा लिने प्रक्रिया झन्झटिलो भएपनि त्यसको सामना गरेर अघि बढ्न सुझाव दिँदै उनले यस कार्यमा आफ्नो पूर्ण सहयोग रहने प्रतिवद्धता समेत जाहेर गरे ।

पुरस्कार तथा सम्मान

कार्यक्रममा गत ३ डिसेम्बर २०२६ मा आयोजित ल्होछार कार्यक्रममा गुरुङ भेषभूषा प्रतियोगितामा उत्कृष्ट महिला श्रीमती निर्मला गुरुङ र उत्कृष्ट पुरुष तर्फ रूपक कुमार गुरुङलाई प्रमुख अतिथिको हातबाट पुरस्कार प्रदान गरिएको थियो।

साथै ल्होछार कार्यक्रममा नृत्य प्रस्तुत गर्ने तमु समाज यूकेका युवा कलाकारहरू प्रज्ज्वलमान गुरुङ, सुमी गुरुङ, सुबिना घले, सुजिता गुरुङ, सुविध गुरुङ, निश्चल गुरुङ र दिपन गुरुङलाई पनि सम्मान गरियो ।

कार्यक्रमको अन्त्यमा समाजकी अध्यक्ष घलेले धन्यवाद मन्तव्य व्यक्त गर्दै व्यस्त समयका बाबजुद पनि तमु समाज यूकेको निमन्त्रणा स्वीकार गरी आएका सांसद गुरुङप्रति कृतज्ञता व्यक्त गरिन् ।

साथै उनले प्रमुख अतिथिको उपस्थितिलाई सुनिश्चित गर्न विशेष भूमिका खेलेका कोने, घोताने, घोन्डे तमु समाज यूकेका महासचिव इन्द्र गुरुङप्रति विशेष धन्यवाद व्यक्त गरिन् ।

त्यसैगरी कार्यक्रम सफल बनाउन योगदान पुर्‍याउने तमु समाज यूकेका पदाधिकारी, स्वयंसेवक तथा उपस्थित सम्पूर्णप्रति धन्यवाद व्यक्त गर्दै औपचारिक कार्यक्रम समापन गरेकी थिइन् ।

कार्यक्रममा समाजका पूर्व अध्यक्ष अर्जुन कुमार गुरुङ, निवर्तमान अध्यक्ष शिव कुमार गुरुङ, कार्यसमिति सदस्यहरू, सल्लाहकारहरू, आमा समूहकी पूर्व अध्यक्ष माया गुरुङ, युवा समूहका अध्यक्ष प्रज्ज्वलमान गुरुङ, आजीवन सदस्य तथा युवाहरूको उल्लेखनीय उपस्थिति थियो ।

कार्यक्रमपछि आयोजित रात्रीभोज दरबार रेस्टुरेन्टबाट व्यवस्था गरिएको थियो भने समग्र व्यवस्थापन उपाध्यक्ष भीमबहादुर गुरुङले गरेकी थिइन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू