आइतबार, १८ जनवरी, २०२६
23:56 | ०५:४१

दूतावासको पर्खाइमा छन् प्रेस्टनवासी नेपाली

नेपाली लिङ्क जनवरी १८, २०२६

लन्डन । उत्तरी इंग्ल्याण्डमा अवस्थित प्रेस्टन शहरका नेपालीले आफ्नो समुदायमा राजदूतावास र एनआरएनए यूकेको उपस्थिति कहिल्यै नभएको भन्दै गुनासो गरेका छन् ।

शैक्षिक परामर्शदाता कम्पनी बिज एजुकेशनले प्रेस्टन नेपाली समाज र दाह्री ग्याङ यूकेको सहकार्यमा शनिबार आयोजना गरेको ‘बेलायतमा अवसर र चुनौति’ विषयक एक अन्तरक्रिया कार्यक्रमका सहभागीले उक्त गुनासो गरेका हुन् ।

‘यहां न एनआरएनए यूकेको उपस्थिति छ, न नेपाली दूतावास’, प्रेस्टन नेपाली समाजका संस्थापक हरि कार्कीले भने, ‘हामीमाथि अलिकति विभेद भएजस्तो महशुस भएको छ । नेपाली दूतावासले अरु शहरमा राहदानी तथा कन्सुलर घुम्ती शिविर गरिरहेको थाहा पाइन्छ तर हामी त्यस सुविधाबाट वञ्चित छौं ।’

कार्कीले लन्डनबाट झण्डै २२० माइल टाढा रहेको प्रेस्टनमा अहिले करिब १५०० नेपाली बसोवास गरिरहेका बताए ।

‘यहां विद्यार्थीसहित चिकित्सक, नर्स, इन्जिनियर लगायत पेशामा स्थापित नेपालीहरु हुनुहुन्छ । हामीलाई लन्डन गएर राहदानी बनाउन झण्डै ३ देखि ४ सय पाउण्ड लाग्छ, समय पनि उत्तिकै व्यतित हुन्छ’, कार्कीले भने, ‘त्यसकारण दूतावासले दिने कन्सुलर सेवा प्रेस्टनमै आएर दिए हामीलाई निकै सजिलो हुने थियो । बरु हामी दूतावासलाई यहां भेन्यू, अकोमोडेसन, यातायात खर्च लगायत सबै व्यवस्था गर्ने थियौं ।’

आइटी इन्जिनियर विकासमोहन भट्टराईले दूतावासलाई प्राविधिक रुपमा सहयोग गर्नुपरे सघाइने बताउंदै दूतावासको उपस्थिति भइदिए नेपाली समुदायले अभिभावकत्व महशुस गर्ने बताए ।

प्रेस्टनमै रहेका दाह्री ग्याङ यूके अध्यक्ष सुशील गौतमले विद्यार्थी मुद्धामा दूतावास र एनआरएनए यूकेको सहयोग नपाइएको गुनासो गरे ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू