शनिबार, १७ जनवरी, २०२६
13:58 | १९:४३

यूकेमा पहिलो नेपाल म्यूजिक फेस्टिभल–लन्डन ट्रोक्सीमा विपुल र कुटुम्ब एकसाथ

नेपाली लिङ्क जनवरी १७, २०२६

लन्डन– नेपाली संगीतका दुई लोकप्रिय र चर्चित ब्याण्ड तथा गायकको प्रस्तुतिमा बेलायतमा पहिलोपटक ‘नेपाल म्यूजिक फेस्टिभल २०२६’ हुँदैछ।

मामाघर इन्टरटेनमेन्ट यूकेको आयोजनामा आगामी २८ फेब्रुअरी शनिबार लन्डनको ऐतिहासिक तथा प्रतिष्ठित भेन्यू ट्रोक्सीमा ‘कुटुम्ब’ र ‘विपुल एन्ड द ट्राभलिङ ब्यान्ड’ ले प्रस्तुति दिनेछन्।

परम्परागत नेपाली लोक–वाद्य संगीतलाई आधुनिक प्रस्तुति शैलीमा विश्वभर चिनाउन सफल ब्याण्ड हो कुटुम्ब। सारङ्गी, बाँसुरी, मादललगायतका मौलिक नेपाली बाजाका माध्यमबाट नेपाली लोकधुनलाई कुटुम्बले जीवन्त बनाउँदै आएको छ।

त्यस्तै, पछिल्लो पुस्ताका चर्चित गायक विपुल र उनको ‘द ट्राभलिङ ब्यान्ड’ नेपाली लोक पप शैलीका गीतहरुबाट लोकप्रिय छन्। ‘सिन्डिकेट’, ‘असार’, ‘सिरिरी’, ‘राम साइली’ आदि उनका केही चर्चित गीतहरू हुन्।

नेपाली संगीत, संस्कृति र पहिचानलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रवर्धन गर्ने उद्देश्य राखेर ‘नेपाल म्यूजिक फेस्टिभल’ को सोच बनाइएको आयोजक मामाघर इन्टरटेनमेन्ट यूकेले जनाएको छ।

गत वर्ष लन्डनकै अर्को प्रतिष्ठित भेन्यू ओटु मा कन्दरा ब्याण्डको प्रस्तुतिमा ऐतिहासिक कन्सर्ट सम्पन्न गरेको मामाघरका निर्देशक विमल तिमिल्सिनाले नेपाली लिंकसंग भने–‘हाम्रो लक्ष्य नै गतिलो भेन्यूमा क्वालिटी इन्टरटेनमेन्ट हो, त्यो पनि सबै पुस्ताका दर्शकको लागि। जसले प्रस्तुति गर्ने कलाकार र दर्शक दुवैको अनुभवलाई विशेष बनाउनेछ भन्ने हाम्रो विश्वास छ।’

सन् १९३० को दशकमा निर्मित ‘ट्रोक्सी’ उत्कृष्ट साउन्ड सिस्टम, भव्य स्टेज र विशाल दर्शक क्षमताका कारण प्रतिष्ठित छ । लाइमहाउस स्टेशन नजिक अवस्थित यो एतिहासिक भेन्यूमा बलिउड, हलिउडका नाम चलेका कलाकारले पनि प्रस्तुति गर्ने गरेका छन् ।

कार्यक्रमको सञ्चालन सिर्जना गुरुङले गर्नेछिन्। १४ वर्षभन्दा माथिका दर्शकका लागि खुला कार्यक्रममा विद्यार्थीहरूका लागि सीमित संख्यामा १५ प्रतिशत छुटको व्यवस्था गरिएको छ । यो छुट ‘Unidays’ प्रोमो कोड प्रयोग गरी २७ जनवरी २०२६ राति १० बजेसम्म लिन सकिनेछ।

त्यस्तै, समुदायको लागि १० प्रतिशतको विशेष छुट समेत व्यवस्था छ।

आयोजक मामाघर इन्टरटेन्मेन्टका अनुसार कार्यक्रमको तयारी उत्साहजनक रूपमा अघि बढिरहेको छ र हालसम्म आधा भन्दा बढी टिकट बिक्री भइसकेको छ। सिट संख्या सिमित रहेकाले यथासक्य चांडो आफ्नो स्थान सुरक्षित गर्न दर्शकलाई सल्लाह छ।

कार्यक्रमलाई राष्ट्रिय पोशाक घर यूकेले प्रायोजन गरेको छ भने सहप्रायोजक केआर रेकर्ड्स, माया इभेन्ट्स र होम हाउस छन्।

नेपाल म्युजिक फेस्टिभल २०२६ ले बेलायतमा रहेका नेपाली समुदायलाई एकै स्थानमा जोड्दै नेपाली संगीत र संस्कृति प्रवर्द्धनमा योगदान पुर्‍याउने विश्वास आयोजकको छ।

कार्यक्रमसम्बन्धी थप जानकारीका लागि इमेलमार्फत् आयोजकलाई सम्पर्क गर्न सकिनेछ।

टिकटका लागि यो लिंकमा क्लिक गर्नुहोस्

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू