सांस्कृतिक उल्लाससहित तमुधिं लन्डन इकाईको १८औं वार्षिक उत्सव तथा ल्होछार



लन्डन । तमुधिं लन्डन इकाईले गत जनवरी १० तारिख शनिबार आफ्नो १८औं वार्षिक उत्सव तथा तमु ल्होछार मनाएको छ ।
लन्डन ग्रीनफोर्ड टाउनहलमा आयोजित उक्त कार्यक्रममा नेपालबाट आएका चारजना राष्ट्रिय कलाकारहरुको बेजोड गायन, अवार्ड वितरण तथा विविध नृत्यहरुको समिश्रण थियो ।
तमुधिं यूकेले गत २७ डिसेम्बरका दिन तमु ल्होछार (नयां वर्ष) मनाइसकेकाले लन्डन इकाईको यो ल्होछार समापन संस्करणका रुपमा आयोजना गरिएको थियो जसमा तमुधिं यूके केन्द्रिय पदाधिकारीहरुको पनि उत्साहजनक सहभागिता थियो ।
महासचिव विकास (रक) गुरुङले ‘हेल्थ एण्ड सेफ्टी ब्रीफ’ गर्दै सञ्चालन गरेको औपचारिक कार्यक्रममा उपाध्यक्ष एवं कार्यक्रम संयोजक ईश्वर गुरुङले स्वागत मन्तव्य दिएका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी तमुधिं यूके अध्यक्ष जुमकाजी गुरुङले लन्डन ईकाइले केन्द्रका हरेक कार्यक्रम जस्तै ल्होछार, नेपाली मेला, गोर्खा कप आदि इभेन्टहरुमा पूर्ण सहयोग गरेकोप्रति आभार व्यक्त गरे । अध्यक्ष गुरुङले तमुधिं यूकेले तमु कला संस्कृति, भेषभूषा, पहिचान, परम्परा संरक्षण र प्रवर्धन गर्दै आएको पनि बताए ।
उनले यस ईकाइलाई अप्ठेरो परेका बेला डेभिड गुरुङले बचाएको भन्दै उनको प्रशंसा समेत गरे ।
तमुधिं लन्डन इकाईका पूर्व अध्यक्ष एवं ट्रष्टी डेभिड गुरुङले ल्होछारलाई तमुहरुको मात्र नभई राष्ट्रिय चाडका रुपमा मनाउनु पर्ने बताए । उनले ल्होछार वा ल्होसार शब्दमा विवाद नगर्न पनि सुझाए ।
अध्यक्ष भरत गुरुङले सहयोगी सबैप्रति आभार व्यक्त गरे । औपचारिक सत्रमा तमु छोजा धीं गुरुङ राष्ट्रिय परिषद्का उपाध्यक्ष तथा विदेश विभाग प्रमुख मनोज गुरुङ र ईकाइकी आमा समूह अध्यक्ष देवकला गुरुङले पनि शुभकामना दिएकी थिइन् ।

कार्यक्रममा विभिन्न व्यक्तित्वहरु कम्प्युनिटी र पर्सनालिटी अवार्डबाट सम्मानित भए । नयां आजीवन सदस्यहरुलाई प्रमाणपत्र र खादासहित सम्मान गरिएको थियो ।
समारोहमा प्रमुख अतिथी र ईकाइ अध्यक्षले निवर्तमान अध्यक्ष विष्णु गुरुङ र फष्ट लेडी कमला गुरुङलाई उनीहरुको योगदानको कदर गर्दै कम्युनिटी अवार्ड प्रदान गरे ।
त्यसैगरि, श्रीप्रसाद गुरुङ र श्रीमति मनदेवी गुरुङलाई पर्सनालिटी अवार्ड दिइयो । सोंपाल समाज यूके अध्यक्ष जगदीश गुरुङ र श्रीमति सिमा गुरुङ, ईकाईका महासचिव विकास (रक) गुरुङ, प्रमुख संरक्षक खुशीमान गुरुङ र उनकी धर्मपत्नी मीना गुरुङलाई समेत विशेष सम्मान गरिएको थियो ।
दोश्रो चरणमा सांस्कृतिक प्रस्तुति भएको थियो । सांस्कृतिक कार्यक्रम मेलिसा गुरुङ र मिना गुरुङले ‘होस्ट’ गरेका थिए । कार्यक्रममा तमुहरुको रोधी बस्ने मौलिक परम्परा र कौडा नाच समेत देखाइएको थियो ।

उक्त कार्यक्रममा तमुधिं यूकेको विशेष निमन्त्रणमा बेलायत आएका कलाकारहरु नेपाल आइडलकी फष्ट रनरअप सलोमी गुरुङ, म्यूजिक कम्पोजर एवं गायक केश बहादुर गुरुङ, अर्का गायक तिलक गुरुङ र कौडाका बादशाह भनिने दुर्गा गुरुङको प्रस्तुति दमदार थियो ।
स्थानीय कलाकारहरु वृषा गुरुङ, गुड्डु गुरुङ, दुर्गा गुरुङ, विद्या गुरुङ, जमुना गुरुङ, दीपा गुरुङ, युद्ध गुरुङ, लेख खोला तमु, जमुना गुरुङ लगायतले समेत विविध आकर्षक नाच देखाए ।
तस्विर- शिव भण्डारी





सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५



