शुक्रबार, २ जनवरी, २०२६
13:54 | १९:३९

वेल्सस्थित नेपाली भिलेज यूकेमा ३ दिने ‘हाम्रो डबली’

नेपाली लिङ्क जनवरी २, २०२६

वेल्स (यूके) —नेपाली संगीत, साहित्य र समग्र सृजनात्मक अभिव्यक्तिलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित तीनदिने ‘हाम्रो डबली: Igniting Creativity’ कार्यक्रम सम्पन्न भएको छ। २६ देखि २८ डिसेम्बर २०२५ सम्म वेल्सस्थित नेपाली भिलेज यूकेमा कार्यक्रम भएको हो ।

परम्परागत नेपाली गाउँघरको साझा थलो ‘डबली’को अवधारणालाई आधुनिक सन्दर्भमा पुनर्जीवित गर्ने लक्ष्यसहित आयोजना गरिएको उक्त आवासीय कार्यक्रममा यूकेका विभिन्न स्थानबाट आएका १२ जना कला तथा साहित्यप्रेमीहरूको उत्साहजनक सहभागिता थियो।

व्यस्त र यान्त्रिक जीवनशैलीबाट केही समय विश्राम लिई प्रकृतिसँग नजिकिँदै सामूहिक सिर्जनात्मक ऊर्जा आदानप्रदान गर्ने कार्यक्रमको उद्देश्य सार्थक रूपमा पूरा भएको आयोजकको भनाइ छ।

कार्यक्रमको पहिलो दिन सहभागीहरूबीच आपसी परिचय र आत्मीयता बढाउने उद्देश्यले कराओके तथा मनोरञ्जनात्मक कार्यक्रम आयोजना गरिएको थियो। दोस्रो दिन बिहान Sugar Loaf Mountain सम्मको हाइकिङपछि औपचारिक ‘हाम्रो डबली’ कार्यक्रम सम्पन्न भयो, जहाँ ‘मेरो कथा मेरो गीत’ खण्डमा वरिष्ठ संगीतकार विक्रम गुरुङले आफ्नो सांगीतिक यात्राका साथै आफ्ना सृजनाहरु सुनाए ।

“सदाबहार गीत” र “मेरो सिर्जना” खण्डमा कलाकारहरु रबिन श्रेष्ठ, योगेन्द्र गुरुङ, जीवन गुरुङ, रेयर सुनुवार, सेनहाङ लिम्बू,सन्देश राईले गीत प्रस्तुत गरेका थिए भने कथाकार विक्रम भट्टराईले लघुकथा र याक यति याक फाउन्डेसनका अध्यक्ष शेरा गुरुङले आफ्नो जीवन यात्रा संक्षेपमा सुनाए ।

वर्तमान समयमा कला,साहित्य सृजनामा एआइले पार्ने असरबारे छलफल गर्न ‘एआइ र हामी’ शीर्षक खण्डमा सहभागीबीच खुला संवाद र विमर्श पनि भएको थियो। कार्यक्रम मधु गुरुङ र रबिन बान्तावा राईले संचालन गरेका थिए ।

तेस्रो दिन सहभागीहरूले आसपासका प्राकृतिक स्थलहरू Talybont reservoir, waterfall लगायत क्षेत्रको अवलोकन गरेपछि सामूहिक लन्च र विदाई कार्यक्रमसँगै कार्यक्रम समापन गरिएको थियो।

कार्यक्रममा सहभागी सर्जकहरूले ‘हाम्रो डबली’ ले नयाँ प्रतिभालाई प्रोत्साहन गर्नुका साथै नेपाली भाषा, साहित्य र संगीतलाई प्रवासमा पनि जीवित राख्न महत्वपूर्ण भूमिका खेलेको प्रतिक्रिया दिएका छन्। आयोजक पक्षले आगामी दिनमा यस्तै सृजनात्मक भेटघाटलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू