बीसीसी यूकेले धार्मिक पूजापाठसहित मनायो ल्होछार


लण्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) यूकेले विविध धार्मिक कार्यक्रमकासाथ तमु (गुरुङ) हरुको महान पर्व ल्होछार मनाएको छ ।
मंगलबार ३० डिसेम्बर २०२५ अर्थात् २०८२ पौष १५ का दिन अल्डरसटस्थित बीसीसी गुम्बामा ल्होछार मनाइएको हो ।
नेपालबाट आमान्त्रित धर्मगुरु टुल्कु थुब्वाङ्ग तेन्जिङ रिन्पोछे (सुजन गुरुङ) को विशेष उपस्थितिमा भएको कार्यक्रममा दीप प्रज्ज्वलन, घ्यासी (ग्रह शान्ति), आयु, साङ्ग, घनचक्र पूजा गरिएको थियो ।
सो अवसरमा आमान्त्रित टुल्कु थुब्वाङ्ग तेन्जिङ्ग रिन्पोछे (सुजन गुरुङ), बीसीसी यूकेका प्रमुख लामा खेन्पो छिरिङ्ग, लोपेन सोनाम, लोपेन जिग्ने, खेन्पो निमा सिंगे, लामा दिनेश, लामा कर्म, लामा धर्मलगायत धर्मगुरुहरुले पूजापाठ गरेका थिए ।
विश्वभर रहेका गुरुङहरुले प्रत्येक पौष १५ गते हुने ल्हो अर्थात् वर्ग परिवर्तनलाई विशेष महत्वका साथ लिने गर्दछन् । सोही अनुरुप यस वर्ष विश्वभर रहेका गुरुङहरुले सर्प वर्गलाई विदाई गर्दै घोडा वर्गलाई स्वागत गरेका हुन्।
सो अवसरमा धर्म गुरु टुल्कु थुब्वाङ्ग रिन्पोछेले तमु ल्होछारबारे धार्मिक प्रवचन दिनुका साथै वाङ्ग (अभिषेक) प्रदान गरेका थिए ।
त्यस्तै, बीसीसी यूके अध्यक्ष आङ्गदावा शेर्पा र आमा प्रमुख जगना गुरुङको पदाधिकारी तथा सदस्यहरुले टुल्कु थुब्वाङ्ग रिन्पोछेलाई मण्डला अर्पण गरेका थिए ।

कार्यक्रममा तमुधिं यूके अध्यक्ष जुमकाजी गुरुङले गुम्बा परिसरभित्र तमुधिं यूकेको तर्फबाट नयाँ लुंदा फेरेका थिए ।
सो अवसरमा तमुधिं यूके आमा अध्यक्ष कमला गुरुङ, पूर्व अध्यक्ष रामचन्द्र गुरुङ तथा पवित्र गुरुङ, पूर्व अध्यक्ष ज्ञाम गुरुङ तथा प्रेमा गुरुङ, पूर्व अध्यक्ष हरि गुरुङ तथा सन्ध्या गुरुङलगायत कार्यसमितिका पदाधिकारी तथा सदस्यलगायतको उपस्थिति थियो ।
बिशेषगरी नयाँ पुस्ताका तमुहरुको समेत बाक्लो उपस्थिति रहेको कार्यक्रममा बीसीसी यूके अध्यक्ष आङ्गदावा शेर्पा र तमुधिं यूकेका अध्यक्ष जुमकाजी गुरुङले शुभकामना मन्तब्य प्रकट गरेका थिए ।
साथै, बीसीसी यूके उपाध्यक्ष क्याप्टेन देब घलेले धर्मगुरु टुल्कु थुब्वाङ्ग तेन्जिङ रिन्पोछेबारे छोटो जानकारी दिए ।
कार्यक्रममा तमुधिं यूके, सहारा यूके, मगर संघ यूके, तामाङ सोसाईटी यूके, थकाली समाज यूके, शेर्पा एशोसिएशन यूके, शिव कल्चरल एण्ड कम्युनिटी सेन्टर, स्थानीय नेपाली- धार्मिक संघसंस्था, बीसीसी लण्डन ब्रान्च, बीसीसी यूकेका ट्रष्टी मेम्बर्सलगायत भक्तजनहरुको उल्लेख्य उपस्थिति थियो ।
निःशुल्क चियापान, खाजा र खानाको समेत व्यवस्था गरिएको कार्यक्रममा विभिन्न दाताहरुले भोजन दान गरेका थिए ।

कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न सपन राईले साउण्ड, एसके गुरुङले भिडियो, मिलन तमुले फोटो र गोर्खा किचनका भिम गुरुङले खाना प्रवन्ध गरेका थिए ।
त्यस्तै, बीसीसी यूकेको सिंगो कार्यसमिति, आमा प्रमुख जगना गुरुङलगायत आमाहरु, पूर्व अध्यक्ष तथा पूर्व आमा प्रमुखहरु, सल्लाहकारहरूले कार्यक्रममा विशेष भूमिका खेलेका थिए ।
बीसीसी यूके अध्यक्ष आङ्गदावा शेर्पाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा बीसीसी यूके उपाध्यक्ष रोविन गुरुङले स्वागत मन्तब्य र कार्यक्रम संयोजक एवं बीसीसी यूके उपाध्यक्ष मेजर हितमान गुरुङले धन्यवाद ज्ञापन गरे । महासचिव मेजर कुमार गुरुङ ‘एमभिओ’ ले औपचारिक कार्यक्रम संचालन गरेका थिए ।
स्मरण रहोस्, बीसीसी यूकेले तमू ल्होछार, सोनाम ल्होसार, ग्याल्पो ल्होसारलगायतका कार्यक्रमहरुमा विशेष पूजापाठ गर्दै आएको छ ।


सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


