बिहीबार, १ जनवरी, २०२६
15:53 | २१:३८

तमु समाज यूकेद्वारा ल्होछारको अवसरमा ग्रह शान्ति तथा शुद्धीकरण पूजा

नेपाली लिङ्क जनवरी १, २०२६

लन्डन । तमु समाज यूकेले तमु समुदायको महान पर्व तमु ल्होछार-ल्होसारको अवसरमा सर्प वर्गको विदाई तथा घोडा वर्गको स्वागत गर्दै विशेष ग्रह शान्ति तथा शुद्धीकरण पूजा कार्यक्रम गरेको छ। उक्त कार्यक्रम २७ डिसेम्बर २०२५, शनिबार लन्डनको वेम्बलीस्थित बरहाम पार्कमा रहेको तमु समाज यूके नेपाली कम्युनिटी सेन्टरमा गरिएको हो ।

बिहान १० बजे शुभारम्भ भई दिउँसो ४ बजे समापन भएको कार्यक्रममा तमु समाज यूकेका अध्यक्ष, संस्थापक अध्यक्ष, पूर्व अध्यक्षहरू, उपाध्यक्षहरू, कार्यसमितिका पदाधिकारीहरू, सल्लाहकारहरू, आजीवन सदस्यहरू लगायत समाजका ज्येष्ठ नागरिकदेखि युवा तथा बालबालिकासम्मको उल्लेख्य उपस्थिति थियो ।

समाजका उपाध्यक्ष केदार बहादुर गुरुङको संयोजकत्व तथा आमा समूहकी अध्यक्ष बिमला गुरुङको व्यवस्थापनमा आयोजित उक्त कार्यक्रममा पूजा प्रारम्भ हुनु अघि Rangjung Yeshe Oddiyana UKCIO बुद्धिष्ट सेन्टर, फानबोरोका प्रमुख लामा श्रद्धेय ड्रुब्ला गुरुलाई तमु समाज यूकेकी अध्यक्ष श्रीमती बिन्दु घले, संस्थापक अध्यक्ष चित्र बहादुर गुरुङ, उपाध्यक्ष भिम बहादुर गुरुङ तथा आमा समूहकी अध्यक्ष श्रीमती बिमला घले गुरुङले विधिपूर्वक स्वागत गर्दै पूजा स्थलमा आमन्त्रण गरेका थिए ।

पूजा कार्यक्रम प्रारम्भ अघि संयोजक उपाध्यक्ष केदार बहादुर गुरुङले श्रद्धेय धर्मगुरुहरूको परिचय गराउँदै पूजा स्थलमा अपनाउनुपर्ने हेल्थ एण्ड सेफ्टी सम्बन्धी आवश्यक जानकारी दिएका थिए ।

त्यसपछि समाजकी अध्यक्ष श्रीमती बिन्दु कुमारी घले, आमा समूहकी अध्यक्ष श्रीमती विमला गुरुङ तथा संस्थापक अध्यक्ष चित्र बहादुर गुरुङद्वारा संयुक्त रूपमा दीप प्रज्वलन र छ्योख अर्पण गरी पूजा कार्यक्रम औपचारिक रूपमा आरम्भ गरिएको थियो ।

पूजा कार्यक्रमको निर्देशन तथा समन्वय संयोजक केदार बहादुर गुरुङ र सहयोगी लामा गुरु रविन्द्र लोसालले गरेका थिए । नेपालबाट आएका लामा ड्रुब्ला गुरु तथा उनका सहयोगी रविन्द्र लोसालद्वारा धार्मिक विधि विधानअनुसार ग्रह शान्ति तथा शुद्धीकरण पूजा सम्पन्न गरिएको थियो । यस अवसरमा लामा ड्रुब्ला गुरुले यस वर्षको नयाँ ल्हो त ल्हो (घोडा वर्ग) सम्बन्धी विशेष जानकारी दिँदै घोडा वर्गमा जन्मिएका व्यक्तिहरूले यस वर्ष अपनाउनुपर्ने सकारात्मक तथा सावधानी अपनाउनुपर्ने पक्षहरूबारे मार्गदर्शन गरे । साथै उनले ग्रह शान्ति तथा शुद्धीकरण पूजाको महत्वबारे उपस्थित सबैले सहज रूपमा बुझ्ने गरी सारगर्वित प्रवचन दिएका थिए ।

निर्धारित समय अनुसार सम्पन्न पूजा कार्यक्रम दिउँसो करिब ४ बजे धर्मगुरुहरूद्वारा समापन गरिएको थियो। त्यसपछि समाजकी अध्यक्ष तथा कार्यसमितिका पदाधिकारीबाट धर्मगुरुहरूलाई विधिपूर्वक गुरुदक्षिणा प्रदान गरि कार्यक्रम औपचारिक रूपमा समापन गरिएको थियो।

समापन समारोहमा संस्थाका कोषाध्यक्ष चन्द्रकान्त गुरुङले पूजा कार्यक्रममा स्वतःस्फूर्त रूपमा द्रव्यदान गर्ने दानवीरहरूलाई धन्यवाद व्यक्त गर्दै नामावली वाचन गरे । यसैगरी आमा समूहकी अध्यक्ष श्रीमती विमला गुरुङले भोजन तथा पेय पदार्थ प्रायोजन गर्ने आमा दिदीबहिनीहरूको नामावली वाचनसहित धन्यवाद ज्ञापन गरेकी थिइन् ।

अन्त्यमा तमु समाज यूकेकी अध्यक्ष श्रीमती बिन्दु घलेले पूजा कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिदिने श्रद्धेय धर्मगुरुहरू, संयोजक उपाध्यक्ष केदार बहादुर गुरुङ, द्रव्यदान, भोजन तथा पेय पदार्थ प्रायोजन गर्ने सहयोगी हातहरू, व्यवस्थापनमा खटिने आमा दिदीबहिनी तथा कार्यक्रममा सहभागी सम्पूर्ण महानुभावप्रति धन्यवाद तथा कृतज्ञता व्यक्त गरे ।

सोही क्रममा अध्यक्ष घलेले समाजले आगामी ३ जनवरी २०२६, शनिबार ह्यारो लेजर सेन्टरमा हर्षोल्लासका साथ तमु ल्होछार÷ल्होसार उत्सव आयोजना गर्न लागेको जानकारी गराउँदै सबैलाई कार्यक्रममा उपस्थित भइदिन अनुरोध गरिन् । उक्त कार्यक्रममा नेपालबाट आमन्त्रित चर्चित लोकदोहोरी कलाकारद्वय चिज गुरुङ र निर्जला गुरुङको विशेष प्रस्तुति साथै आकर्षक राफल ड्र पुरस्कारहरू समेत समावेश हुने जनाइएको छ ।

-शिव कुमार गुरुङ 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू