सोमबार, २२ डिसेम्बर, २०२५
10:58 | १६:४३

बेलायतका नेपालीले पहिलोपटक गरे नेपाल स्विमिङ गाला

नेपाली लिङ्क डिसेम्बर २२, २०२५


लन्डन– बेलायतस्थित नेपाली समुदायले शनिबार बेग्लै इभेन्ट अवलोकन गर्‍यो । पहिलोपटक आयोजना गरिएको सामुदायिक पौडी प्रतियोगिता ‘नेपाल स्विमिङ गाला २०२५’ मा प्रमुख अतिथी बनेर साँझ झन्डै ६ बजे आफ्नी आमा गरिमा राणासंग आइपुगिन् गौरिका सिंह ।

गौरिका तिनै हुन् जसले सन् २०१६ मा आयोजित रियो ओलिम्पिक्समा सबैभन्दा कान्छी खेलाडीको रुपमा भाग लिएकी थिइन् । सन् २०१९ मा नेपालमा आयोजित साउथ एसियन गेम्समा स्विमिङ्गतर्फ नेपालका लागि चार स्वर्ण पदक जितेकी गौरिकाको उपस्थितिले प्रतियोगितामा भाग लिन आएका ६ वर्षीया बालिकादेखि वयस्क समेत उत्साहित भए ।

प्रतियोगितामा बेलायतमै हुर्किएका नेपालीमूलका बालबालिकाको उत्साहजनक सहभागिता थियो ।

नेप्लिज ब्रिटिस कम्युनिटी (एनबीसी) यूकेको आयोजना तथा नेपाल रन यूके, स्विमर्सबोल्ट्स र एनएनआइपीए यूकेको सहकार्यमा आयोजित प्रतियोगितामा करिब ४० जना बालबालिका तथा वयस्कले विभिन्न विधामा प्रतिस्पर्धा गरे।

कार्यक्रममा विशेष अतिथिका रूपमा उपस्थित ओलम्पिकमा सहभागी भएकी नेपालकी चर्चित पौडी खेलाडी गौरिकाले बालबालिकालाई हौसला दिँदै शुभकामना व्यक्त गरिन्। उनले सानो उमेरदेखि नै खेलकुदप्रति लगाव र अनुशासन विकास गर्न सके भविष्यमा अन्तरराष्ट्रिय स्तरसम्म पुग्न सकिने बताइन्।

एनबीसी यूकेका अध्यक्ष तथा संयोजक समीरनाथ प्याकुरेलले बेलायतमा नेपाली बालबालिकाले पौडी सिके पनि आफ्नो सीप प्रदर्शन गर्ने मञ्चको अभाव रहेको उल्लेख गर्दै त्यसै आवश्यकतालाई सम्बोधन गर्न यो प्रतियोगिता आयोजना गरिएको बताए ।

नेपाल रन यूकेका प्रमुख कोच सन्तोष राईले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबै प्रायोजक, सहकार्य गर्ने संस्थाहरू र स्वयंसेवकहरूलाई धन्यवाद दिँदै खेलकुदमार्फत समुदायमा स्वास्थ्य सचेतना जगाउनु नै कार्यक्रमको मुख्य उद्देश्य रहेको बताए ।

कार्यक्रम निर्देशकसमेत रहेका राईले सबैको सक्रिय सहभागिताका कारण नेपाल स्विमिङ गाला २०२५ सफलतापूर्वक सम्पन्न भएको जानकारी दिँदै आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता पनि व्यक्त गरे ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू