लन्डन प्लमस्टिडमा नेपालीको लगानीमा खुल्यो एशियन ओरिएन्टल सुपरमार्ट


लन्डन- नेपालीहरुको उल्लेख्य बसोबास रहेको साउथ इष्ट लण्डनको प्लमस्टिडमा ‘एशियन ओरिएन्टल सुपरमार्ट’ खुलेको छ।
लण्डनका नेपाली व्यवसायीहरुको लगानीमा प्लमस्टिड हाइ स्ट्रिट (एभरेष्ट स्टोरको छेउ) मा शुरु भएको सुपरमार्ट आइतबार स्थानीय सांसद एवं बेलायती प्रधानमन्त्रीकी पार्लियामेन्टरी प्राइभेट सेक्रेटरी अबेना अपोङ्ग असारेको उपस्थितिमा समुद्घाटन गरियो।
सुपरमार्टका प्रबन्धक मोहन गुरुङ, सञ्चालक प्रनी गुरुङ, भगवान श्रेष्ठ, सिर्जना श्रेष्ठ,गंगा श्रेष्ठ, रासिका श्रेष्ठ र सर्लिन श्रेष्ठले संयुक्त रूपमा रिबन काटेर सुपरमार्ट उद्घाटन गरेका थिए।
एशियन ओरिएन्टल सुपरमार्टमा विशेषगरी चिनियाँ, जापानी, कोरियन, थाइ, फिलिपिनो, भियतनामी, नेपाली, भारतीय, बंगलादेशी तथा अफ्रिकी समुदायका लागि आवश्यक ग्रोसरी सामग्रीहरू उपलब्ध छन्। साथै अफ–लाइसेन्स सामग्री, मासुजन्य पदार्थ, फ्रोजन फुड, ताजा फलफूल, दूध तथा तरकारीहरू पनि सुपथ मूल्यमा उपलब्ध गराइने जनाइएको छ।
मार्ट उद्घाटनपछि सांसद असारेले प्लमस्टिड क्षेत्रमा एशियन ओरिएन्टल सुपरमार्ट सञ्चालनमा आउनु स्थानीय समुदायका लागि उपयोगी र स्वागतयोग्य रहेको बताइन्।
एशियन सुपरमार्टले स्थानीय समुदायको दैनिकीलाई थप सहज बनाउने विश्वास उनले व्यक्त गरिन्।
सो अवसरमा स्थानीय ग्रीनवीच रोयल बरोका पूर्व मेयर काउन्सिलर जीत रानाभाटले एशियन ओरिएन्टल संचालनमा आएकोमा खुशी व्यक्त गर्दै सफलताको शुभकामना दिए। उनले एशियन सामग्री खरिदका लागि स्थानीय समुदायलाई सहज हुने विश्वास व्यक्त गरे ।
सुपरमार्टका तर्फबाट प्रबन्धक तथा स्थानीय समाजसेवी मोहन गुरुङले प्रमुख अतिथि, विशेष अतिथि तथा कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथिहरूलाई स्वागत गरेका थिए। उद्घाटन समारोहमा साउथ इष्ट रिजनल तमुधिंका अध्यक्ष शिवराम गुरुङसहितको टिम, पासा पुचः गुथी यूके अध्यक्ष सुशील प्रजापति, क्याटरिङ व्यवसायी श्याम शेरचनसहित स्थानीय नेपाली समुदायका प्रतिनिधि, सामाजिक अगुवा तथा शुभेच्छुकहरूको उल्लेख्य उपस्थिति थियो।
एशियन ओरिएन्टल सुपरमार्टका प्रबन्धक मोहन गुरुङले उद्घाटन समारोहमा उपस्थित सम्पूर्ण अतिथि, समुदायका प्रतिनिधि तथा सहयोगीहरूप्रति हार्दिक आभार व्यक्त गरेका थिए।

सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५



