बुधबार, ४ फ्रेब्रवरी, २०२६
08:09 | १३:५४

बीसीसी यूकेले धार्मिक पूजापाठसहित तमू ल्होछार मनाउने

नेपाली लिङ्क डिसेम्बर २०, २०२५

बीसीसी गुम्बा

लण्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) यूकेले विविध धार्मिक कार्यक्रमकासाथ तमु (गुरुङ) हरुको महान पर्व तमू ल्होछार मनाउने भएको छ ।

उक्त कार्यक्रम आउँदो मंगलबार ३० डिसेम्बर २०२५ अर्थात् २०८२ पौष १५ का दिन अल्डरसटस्थित बीसीसी गुम्बामा गर्न लागिएको हो ।

नेपालबाट आमान्त्रित धर्मगुरु टुल्कु थुब्वाङ्ग तेन्जिङ रिन्पोछे (सुजन गुरुङ) को विशेष उपस्थितिमा गर्न लागिएको कार्यक्रममा दीप प्रज्ज्वलन, घ्यासी (ग्रह शान्ति), आयु, साङ्ग, घनचक्र पूजा गरिने छ ।

सो धार्मिक पूजामा टुल्कु थुब्वाङ्ग तेन्जिङ रिन्पोछे, बीसीसी यूकेका प्रमुख लामा खेन्पो छिरिङ, लोपेन सोनाम, लोपेन जिग्ने, लामा अखिल, लामा दिनेश, लामा कर्मलगायत अन्य धर्मगुरुहरुको सहभागिता रहनेछ ।

विश्वभर रहेका गुरुङहरुले प्रत्येक पौष १५ गते हुने ल्हो अर्थात् वर्ग परिवर्तनलाई विशेष महत्वका साथ लिने गर्दछन्।

सोही अनुरुप यस वर्ष विश्वभर रहेका गुरुङहरुले सर्प वर्गलाई विदाई गर्दै घोडा वर्ग स्वागत गर्न लागिएको बीसीसी यूकेका उपाध्यक्ष एवं कार्यक्रम संयोजक मेजर हितमान गुरुङले जानकारी गराए ।

कार्यक्रममा तमुधिं यूके, मगर संघ यूके, तामाङ सोसाइटी यूके, थकाली समाज यूके, शेर्पा एशोसिएशन यूके, स्थानीय नेपाली संघसंस्था, धार्मिक संघसंस्था, बीसीसी लण्डन ब्रान्च, बीसीसी यूके ट्रष्टी मेम्बर्सलगायत संघसंस्थालाई आमन्त्रण गरिएको बताइएको छ ।

बिहान ८ देखि साँझ ४ बजेसम्म संचालन हुने कार्यक्रममा नयाँ लुंदा फेरिने छ ।

त्यस्तै, गुम्बाले ग्रहशान्तिका लागि सत्क्यु–पत्क्यु (गेडागुडी), नङ्गलगायतका सामाग्रीहरु संकलन गरिरहेकोले इच्छुक महानुभावहरुले मंगलबार ३० डिसेम्बरका दिन बिहान ११ बजे भित्र गुम्बामा ल्याईदिन बीसीसी यूकेले अनुरोध गरेको छ ।

निःशुल्क चियापान, खाजा र खानासमेत व्यवस्था गरिएको कार्यक्रमका लागि भोजन दान र दीप प्रज्ज्वलन गर्न चाहने भक्तजनहरुले गुम्बामा सम्पर्क गर्न समेत बीसीसी यूकेले अनुरोध गरेको छ ।

बीसीसी यूके अध्यक्ष आङ्दवा शेर्पाको अध्यक्षतामा सम्पन्न हुन लागेको ल्होछार कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न बीसीसी यूकेको सिंगो कार्यसमिति, आमा प्रमुख जगना गुरुङलगायत आमाहरु, पूर्व अध्यक्ष तथा पूर्व आमा प्रमुखहरुलगायत सल्लाहकारहरूले बिशेष जिम्मेवारी लिएको संयोजक मेजर गुरुङले जानकारी दिए ।

उनले धार्मिक पूजापाठका साथ आयोजना गर्न लागिएको कार्यक्रममा सहभागी भइदिन हुन बेलायतवासी सम्पूर्ण नेपालीमा हार्दिक अनुरोध गरे।

स्मरण रहोस्, बीसीसी यूकेले तमू ल्होछार, सोनाम ल्होसार, ग्याल्पो ल्होसारलगायत कार्यक्रमहरुमा विशेष पूजापाठ गर्दै आएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू