इंग्ल्यान्डका स्पिड क्यामेरामा प्राविधिक त्रुटि, हजारौं चालकलाई राहत


लन्डन । इंग्ल्याण्डका स्पिड क्यामेरामा भएको प्राविधिक त्रुटिका कारण हजारौं चालकलाई राहत मिल्ने भएको छ ।
इंग्ल्यान्डका हाइवे र प्रमुख ‘ए’ रोडहरूमा प्रयोग भइरहेका केही स्पिड क्यामेरामा देखिएको प्राविधिक गडबडीका कारण सन् २०२१ यता गलत रूपमा जरिवानामा परेका हजारौं चालकहरूलाई राहत मिल्ने भएको हो ।
नेशनल हाइवेजले क्यामेरा र भेरिएबल स्पिड साइनबीच १० सेकेन्डको ढिलाइ हुँदा २ हजार ६ सय ५० पटक गलत रूपमा क्यामेरा सक्रिय भएको पुष्टि गरेको छ। यस त्रुटिका कारण गति सीमा परिवर्तन भइसकेपछि पनि कतिपय चालकहरूलाई गलत रूपमा स्पिडिङ गरेको देखाइएको थियो।
यसबाट प्रभावित चालकहरूलाई सम्बन्धित प्रहरी निकायले सम्पर्क गर्नेछ र उनीहरूले तिरेको जरिवाना फिर्ता गरिनेछ । साथै, ड्राइभिङ लाइसेन्सबाट काटिएका प्वाइन्टहरू समेत हटाइनेछ।
नेशनल हाइवेजले यो समस्या इंग्ल्यान्डका करिब १० प्रतिशत सडक, विशेष गरी स्मार्ट मोटरवे र ए–१४ रोडका क्यामेराहरूमा देखिएको जनाएको छ।
नेशनल हाइवेजका प्रमुख कार्यकारी निक ह्यारिसले त्रुटिप्रति माफी माग्दै प्रभावित सबैलाई प्रहरीमार्फत जानकारी गराइने बताएका छन् ।
प्रहरी निकायहरूले क्यामेराको शुद्धतामा पूर्ण विश्वास नभएसम्म भेरिएबल स्पिड क्यामेराबाट जरिवाना जारी गर्ने कार्य अस्थायी रूपमा रोकेका छन्। यातायात विभागले सुरक्षामा कुनै सम्झौता नभएको र अब कसैलाई पनि गलत रूपमा कारबाही नहुने सुनिश्चित गर्न प्रहरीसँग सहकार्य गरिरहेको स्पष्ट पारेको छ।
६० लाख पटक क्यामेरा सक्रिय भएकोमा दैनिक दुईभन्दा कम घटनामा मात्र यस्तो त्रुटि देखिएको र वास्तविक नियम उल्लङ्घन गर्नेहरूलाई भने कारबाही जारी रहने बताइएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५



