सोमबार, १५ डिसेम्बर, २०२५
22:11 | ०३:५६

पाठेघर क्यान्सर उन्मूलन सहयोगार्थ बेलायतका चिकित्सकहरुले गरे दौड

नेपाली लिङ्क डिसेम्बर १४, २०२५

लन्डन । नेपलिज डक्टर्स एसोसिएसन (एनडिए) यूकेले नेपालका महिलाको पाठेघर क्यान्सर उन्मूलन सहयोगार्थ १४ डिसेम्बर आइतबार च्यारिटी दौड आयोजना गरेको छ ।

एसोसिएसनले नेपालमा पाठेघर क्यान्सर उन्मूलन अभियानमा काम गरिरहेको संस्था क्यान्सर केयर नेपालको सहयोगार्थ रिजेन्ट्स पार्कमा ५ के र १० के दौड गरेको हो ।

एसोसिएसनको यो २०२५ को सबैभन्दा ठूलो च्यारिटी कार्यक्रम हो जसबाट १० हजार ६१० पाउण्ड बढी संकलन भएको छ ।

एसोसिएसनका अनुसार, टेन के दौड गर्ने धावकहरूमा डा. सविन जोशी, डा. दिवाकर (देव) हमाल, सुश्री सोफी नेपाली, डा. सशक्त थापा, दूतावासका सैनिक सहचारी सहायक रथी अनुप शाह, सूश्री कृष्टी चेम्बर्स थिए भने ५ के रन दौड्ने धावकहरूमा डा. प्रभाकर हमाल, डा. म्याथ्यू सिंह, निलय साह, डा. शम्भु शाह, सुश्री सेलिना जोशी र सुश्री गौरिका सिंह थिए ।

एनडिए यूकेकी अध्यक्ष डा. आरती थापा र डा. देव हमालले सबै धावक र समर्थकहरूलाई धन्यवाद दिएका छन् ।

अध्यक्ष थापाले एसोसिएसनका लागि प्रमुख फन्ड रेजर डा. सविन जोशीलाई विशेष धन्यवाद दिइन् जसले एक्लै ६ हजार ५०० पाउण्ड बढी रकम संकलन गरेका थिए ।

यो रकम नेपाली महिलाहरूलाई असर गर्ने विशिष्ट HPV प्रकारहरू पहिचान गर्न अध्ययनको लागि कोष जुटाउन मद्दत गर्नु हो।

‘पाठेघरको मुखको क्यान्सर जाँचमा सुधार र अझ प्रभावकारी खोप परिवर्तनलाई समर्थन गर्नु यस च्यारिटीको उद्देश्य हो’- अध्यक्ष डा. आरती थापाले भनिन्-‘जसले आउने पुस्ताका हजारौं बिरामीको जीवन बचाउन सकिन्छ।’

 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू