बुधबार, ४ फ्रेब्रवरी, २०२६
08:13 | १३:५८

यूकेका घरधनीलाई २०२६ देखि लागू हुने कानुनी परिवर्तनहरुबारे सजग रहन विज्ञहरुको सुझाव

नेपाली लिङ्क डिसेम्बर १३, २०२५

लन्डन– युकेको प्रपर्टी बजार सम्बन्धी विज्ञ तथा र कर विशेषज्ञहरूले युके घरधनीलाई २०२६ देखि लागू हुन गइरहेका कानुनी परिवर्तनहरूबारे सजग रहन आग्रह गरेका छन्।

उनीहरूले समयमै तयारी नगरे गम्भीर जरिवाना तथा कानुनी कारबाही भोग्नु पर्ने चेतावनी पनि दिएका छन्।

ए स्टार फाइनान्सियल सर्भिसेजले आयोजना गरेको ‘युकेमा प्रपर्टी तथा घर भाडासम्बन्धी वेबिनार’ मा बोल्दै नर्थउड एस्टेट एजेन्ट्सका निर्देशक कोलिन सिम्प्सनले घरधनीहरूका लागि ‘कम्प्लायन्स’ नै सबैभन्दा ठूलो चुनौती भएको बताए।

‘नियमकानुनहरु लगातार बदलिँदै छन्। त्यसबारे जानकार रहनु सबै घर धनीहरुको कर्तव्य हो’, उनले भने। उनले नयाँ नियम अनुसार भाडामा बस्ने व्यक्तिको विस्तृत ‘ड्यू डिलिजेन्स’ देखि लिएर सम्पत्तिको ‘एमओटी स्टाइल’ समीक्षा गर्नुपर्ने बताए । ‘हामी सबै कम्प्लायन्स तथा प्रशासनिक काम सम्हाल्छौँ ताकि घरधनीले शान्ति पाउन सकून्’, उनले भने।

नर्थउड एस्टेट एजेन्टसकी अपरेसन म्यानेजर श्रीमती पेसेन्सले आगामी १ मे २०२६ देखि लागू हुन गइरहेको ‘रेन्टर्स राइट्स एक्ट’ ले बेलायतमा दशकौँपछि सबैभन्दा ठूलो परिवर्तन ल्याउने बताइन्।

उक्त ऐन अनुसार दफा २१ (नो फल्ट एभिक्शन) पुरै हटाइएको छ भने घरधनीले आफ्नै घर फिर्ता लिन पनि अनिवार्य रुपमा वैध कारण देखाउनु पर्ने छ। भाडा बक्यौता भएमा तीन महिनाको नोटिस दिनु पर्ने छ भने नयाँ ढाँचाको टेनेन्सी सम्झौता गर्नुपर्ने छ।

त्यस्तै २७ डिसेम्बर २०२५ देखि स्थानीय काउन्सिलहरुले बिना सूचना निरीक्षण गर्न पाउने छन्। उक्त कानूनको उल्लङ्घन गर्ने घरधनीहरुलाई ३० देखि ४० हजार पाउण्डसम्म जरिवाना वा कारावास पनि हुन सक्ने उनले बताइन्।

जीएनएस एसोसियट्सका प्रबन्ध निर्देशक तथा कर विशेषज्ञ एल.एन. घिमिरेले ब्रिटिश सरकारले सुरु गरेको ‘मेकिङ ट्याक्स डिजिटल’ बारे जानकारी दिए। उनले सेल्फ–इमप्लोयडहरुले पहिले वर्षमा एकपटक मात्र कर विवरण बुझाउनु पर्नेमा नयाँ नियम अनुसार अब वर्षको पांच पटक ‘डिजिटली’ आफ्नो कर विवरण अपडेट गर्नुपर्ने बताए।

उनले अब अधिकांश घर धनीहरु यो नयाँ नियममा समेटिने भएकाले समयमै जानकारी लिन आग्रह गरे।

कार्यक्रमको सहजीकरण गरिरहेका ए स्टार मोर्गेजेजका मोर्गेज एण्ड प्रोटेक्सन एडभाइजर रमेश सरांगकोटीले बैंक अफ इङ्ग्ल्यान्डले वर्षमा आठ पटक ब्याजदर समीक्षा गर्ने गरेको र यस वर्षको अन्तिम समीक्षा १८ डिसेम्बरमा हुने जानकारी दिए ।

‘सम्पत्ति (प्रोपर्टी) क्षेत्रमा लगानी गर्ने लगानीकर्ताहरू नियम–कानुनको पूर्ण पालना गर्न अझ सचेत र जानकार हुन आवश्यक छ। तर यस विषयमा अनावश्यक चिन्ता लिनुपर्ने अवस्था छैन। जहाँ प्रतिफल हुन्छ, त्यहाँ मेहनत पनि आवश्यक हुन्छ। सरकारको रणनीति निजी तथा साना घरधनीलाई अझ जिम्मेवार बनाउनेतर्फ केन्द्रित देखिन्छ। यद्यपि निजी घरधनीले नयाँ नियमन तथा मापदण्डहरू पालना गर्नुपर्ने हुन्छ, तर प्रोपर्टी लगानी अझै पनि सबैभन्दा बलिया लगानी क्षेत्रहरूमध्ये एक हो। २५% डिपोजिटमा लगानी गरेर १००% इक्विटी वृद्धि प्राप्त गर्न सकिने सम्भावना रहन्छ, तर यो सही स्थान, सही मूल्य, गहिरो अनुसन्धान तथा सही परामर्शमा निर्भर गर्दछ’, उनले भने।

युकेकै सबैभन्दा ठूलो मोर्गेज ऋणदाता लोयड्ज बैंकिङ ग्रुपले भाडा क्षेत्रमा ठूलो मात्रामा लगानी गर्दै आएको छ। ‘लोयड्जले चार वर्षअघि सन् २०३० सम्म ५०,००० भाडाका घर खरिद गरी देशकै सबैभन्दा ठूलो घरधनी बन्ने योजना सार्वजनिक गरेको थियो। हाल यसको स्वामित्वमा करिब ७,००० घरहरू छन्। यस परिप्रेक्ष्यमा हेर्दा भाडा व्यवसायमा ठूलो सम्भावना रहेको स्पष्ट हुन्छ, तर यस क्षेत्रमा नियमको पूर्ण पालना अनिवार्य छ’, सरांगकोटीले भने।

उनले प्रपर्टी मार्केटमा लगानी गर्न युकेवासी नेपाली समुदायका लागि राम्रो अवसरहरु रहेको तर विश्वसनीय र आधिकारिक कम्पनी वा एडभाइजरसंग मात्रै सम्पर्क गर्न उनले सुझाव दिए।

‘तपाईंले घर किन्ने सोच्नु भएको छ भने ६ महिना वा एक वर्ष पहिलेनै आधिकारिक कम्पनी वा एडभाइजरसंग सल्लाह लिनु राम्रो हुन्छ। त्यस्तो सल्लाहको पैसा तिर्नु पर्दैन र तपाईंले आफ्नो परिस्थिति अनुसार योजना बनाउन सक्नु हुन्छ’, सरांगकोटीले भने ।

सो अवसरमा ए स्टार मोर्गेजेजकै मोर्गेज एण्ड प्रोटेक्सन एडभाइजर कुमार गुरुङले आफ्नो कम्पनीले दिइरहेको सेवाहरुको बारेमा र ए स्टार रियल एस्टेट्सका एडभाइजर नारायण तिमिल्सिनाले सो कम्पनीले ग्रेटर लन्डनमा घर बिक्री, भाडा, व्यवस्थापन, मूल्यांकन तथा सम्पूर्ण कम्प्लायंस सेवा प्रदान गरिरहेको बताए।

ए स्टार मोर्गेजेजका फाइनेन्सियल एडभाइजर तथा प्रबन्ध निर्देशक मिन दर्लामीले सबै सहभागीहरुलाई स्वागत गरेका थिए।

ए स्टार मोर्गेजेजले आगामी दिनमा पनि समसामयिक विषयमा वेबीनारहरु आयोजना गर्ने जनाएको छ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू