बेलायतका चिकित्सकहरुको च्यारिटी रनमा ओलम्पियन गौरिका सिंह पनि दौड्ने



ओलम्पियन गौरिका सिंह
लन्डन । लन्डन बस्ने सेलिब्रेटी स्वीमर गौरिका सिंह नेपलिज डक्टर्स एसोसिएसन यूकेले नेपालका क्यान्सर पीडित महिलाहरुको सहयोगार्थ गर्न लागेको च्यारिटी दौडमा सहभागी हुने भएकी छन् ।
राष्ट्रिय अन्तर्राष्ट्रिय खेलहरुमा थुप्रै अवार्ड जितेकी ओलम्पियन गौरिकाले नेपालमा पाठेघरको क्यान्सर उन्मूलन अभियानमा काम गरिरहेको संस्था क्यान्सर केयर नेपालको सहयोगार्थ आफू दौड्न लागेको जनाउंदै आर्थिक सहयोगका लागि सबैमा अपिल गरेकी छन् ।
एसोसिएसनले आउंदो १४ डिसेम्बर आइतबार रिजेन्ट्स पार्कमा ५ के र १० के दौड गर्दैछ ।
‘राम्रो उद्देश्यका साथ गर्न लागिएको च्यारिटी दौडमा म पनि सहभागी हुंदैछु । म निकै उत्साहित पनि छु’, गौरिकाले भनेकी छन्, ‘दौडबाट संकलन हुने कोषले नेपालमा पाठेघर क्यान्सरका बिरामीको स्क्रिनिङ, प्रारम्भिक पहिचान र आवश्यक हेरचाह गर्न ठूलो मद्दत पुग्ने भएकाले सबैलाई सहयोग गरिदिनु हुन अनुरोध छ ।’
यसअघि क्यान्सर केयर नेपालकी अनररी अध्यक्ष अभिनेत्री मनिषा कोइरालाले समेत आफ्नो संस्थाको सहयोगका लागि च्यारिटी दौड आयोजना गरेकामा नेपलिज डक्टर्स एसोसिएसन यूकेकी अध्यक्ष डा. आरती थापा, एसोसिएसन सदस्य डा. देव हमाल लगायत समस्त एसोसिएसन परिवार र धावकहरुप्रति आभार व्यक्त गर्दै सहयोग अपिल गरेकी थिइन् ।
एसोसिएसन अध्यक्ष डा. आरती थापाले नेपालमा पाठेघर क्यान्सरको अवस्था दर्दनाक भएको उल्लेख गर्दै आफूहरुको च्यारिटी दौडमा सघाउन अनुरोध गरेकी छन् । जस्ट गिभिङमार्फत समेत सहयोग गर्न सकिने उनले जनाइन् ।
उक्त दौडमा दिवाकर हमाल, प्रभाकर हमाल, ऐस्ता सुब्बा, अलका सुब्बा, सोफी नेपाली, निकोलस राडेगोन्डे, सविन जोशी, सेलिना जोशी, ओलम्पियन गौरिका सिंह, सशक्त थापा, शम्भु शाह, लन्डनस्थित नेपाली दूतावासका सैनिक सहचारी अनुप शाह, निलय साह र म्याथ्यू सिंह सहभागी हुने भएका छन् ।
सहयोग गर्न चाहनेले यस लिंकमा क्लिक गर्नु होला-



