लन्डन हिथ्रो विमानस्थलले बढायो ड्रप–अफ शुल्क, बढी बसे ८० पाउण्डसम्म जरिवाना
१० मिनेट समय सीमा लागू


लन्डन । बेलायतको सबैभन्दा व्यस्त मानिने लन्डन हिथ्रो विमानस्थलमा यात्रु ओराल्दा (ड्रप–अफ) लाग्ने शुल्क बढ्ने भएको छ । साथै, पहिलो पटक समय सीमा समेत लागू गरिने भएको छ।
सन् २०२६ जनवरी १ देखि ड्रप–अफ शुल्क हालको ६ पाउण्ड बढाएर ७ पाउण्ड प्रति प्रवेश हुनेछ। नयाँ नियमअनुसार ड्रप–अफ क्षेत्रमा १० मिनेटभन्दा बढी बस्न पाइने छैन्, अन्यथा ८० पाउण्ड सम्म जरिवाना लाग्न सक्नेछ ।
शुल्क अनलाइन वा फोनमार्फत अग्रीम रूपमा वा प्रयोग गरेपछि भोलिपल्ट मध्यरातसम्म भुक्तानी गर्न सकिनेछ । विमानस्थल परिसर वा टर्मिनलभित्र भने शुल्क तिर्ने सुविधा उपलब्ध छैन् ।
प्रत्येक टर्मिनल बाहिर रहेको ड्रप–अफ क्षेत्रमा यात्रु ओराल्न सबैभन्दा छिटो छरितो माध्यम मानिन्छ ।
विमानस्थलका प्रवक्ताले यो परिवर्तनले ट्राफिक प्रवाह सहज बनाउने, भीड कम गर्ने र यात्रुलाई सार्वजनिक यातायात प्रयोग गर्न प्रोत्साहित गर्ने उद्देश्य राखेको बताए । उनका अनुसार अहिले पनि ९५ प्रतिशत बढी सवारी साधनले १० मिनेटभित्रै ड्रप–अफ प्रक्रिया पूरा गर्छन्।
ड्रप–अफ क्षेत्रमा कुनै सवारी साधन कसैले छाडेर जान पाइने छैन्, अन्यथा प्रहरीद्वारा तत्काल हटाइने चेतावनी दिइएको छ ।
शुल्क नतिर्ने वा लामो समय बस्न चाहनेहरूका लागि सबै टर्मिनलमा रहेको ‘पार्क एन्ड राइड’ निःशुल्क ड्रप–अफ र पिक–अप विकल्प यथावत् उपलब्ध रहनेछ।
हिथ्रोको यो शुल्क वृद्धि ग्याटविक, लुटन र स्ट्यान्स्टेड जस्ता अन्य प्रमुख ब्रिटिस विमानस्थलहरूसँग मिल्दोजुल्दो छ, जहाँ पहिलेदेखि नै न्यूनतम ७ पाउण्ड शुल्क लागू हुँदै आएको छ। लन्डन सिटी विमानस्थलमा भने ड्रप–अफ सुविधा निःशुल्क छ।
कोभिड १९ पछि हिथ्रो विमानस्थालमा ५ पाउण्डबाट सुरु गरिएको ड्रप अफ शुल्कलाई निरन्तरता दिंदै नियमित रुपमा वृद्धि गरेर ७ पाउण्ड पुरयाउन लागिएको हो ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५




