लन्डनबाट कलाकृति लिएर कतार अन्तर्राष्ट्रिय कला महोत्सवमा पी. सिंह



लन्डन – बेलायतवासी नेपाली कलाकार पी. सिंहले कतार अन्तर्राष्ट्रिय कला महोत्सव २०२५ मा आफ्ना कलाकृतिहरू प्रदर्शन गर्ने भएका छन्। कतारको दोहास्थित कतारा कल्चरल भिलेजमा महोत्सव हुनेछ।
‘Woven Legacies’ शीर्षकको कला प्रदर्शनी लिएर सिंह बुधबार दोहा पुगिसकेका छन् । साथै, उक्त प्रदर्शनीमा उनकी छोरी रोस्लिन सिंहका केही कलाकृति पनि समावेश गरिनेछन्। यस अवसरले कलाको क्षेत्रमा उदाउँदो पुस्तालाई समेत प्रोत्साहन दिएको छ।
डिसेम्बर ७ देखि १२ तारिखसम्म चल्ने महोत्सवमा भवन १२ को स्टल G-59 मा कलाकार सिंहको प्रदर्शनी राखिनेछ।
यस वर्षको कतार अन्तर्राष्ट्रिय कला महोत्सवमा ८७ देशका ८६८ अन्तर्राष्ट्रिय कलाकारले भाग लिँदै छन्। सिंहले कतारलगायत क्षेत्रमा रहेका कलाप्रेमीहरूलाई महोत्सवमा आएर आफ्नो कला अवलोकन गर्न अनुरोध गरेका छन् ।
करिब दुई दशकदेखि बेलायत बस्दै आएका कलाकार पी. सिंहले यसअघि पनि विभिन्न अन्तर्राष्ट्रिय महोत्सव तथा प्रदर्शनीहरूमा सहभागिता जनाइसकेका छन्। उनको चित्रकला प्रदर्शनी अमेरिका, नेपाल, भारत, कतार, बेलायत, हाउस अफ लर्डस्, युनिभर्सल पिस फेडेरेसन, हथ थिएटर क्रली, लन्डनस्थित नेपाली दूतावास लगायतमा भइसकेको छ ।
दूतावासमा उनको एकल प्रदर्शनी दुई सातासम्म चलेको थियो । दूतावासले सिंहलाई कलामार्फत नेपालको प्रवर्धन गरेको भन्दै सम्मान समेत गरेको थियो । हथ थिएटर क्रलीमा तीन सातासम्म चलेको प्रदर्शनी हेर्न हजारौं बेलायती आगन्तुक आएका थिए ।
एसएमबीसी बैंक लन्डनमा सफ्टवेयर इन्जिनियरका रुपमा फूलटाइम जागिरे उनको कलाप्रतिको समर्पण र निरन्तरताले अन्तर्राष्ट्रिय स्तरमा नेपाली कलाको प्रतिनिधित्व गरेको छ ।
‘नेपाल यात्रा’ श्रृंखलामा उनले विभिन्न देशमा दर्जन बढी प्रदर्शनी गरिसकेका छन् । उनको चित्रकलामा प्रायः नेपालको प्राकृतिक सौन्दर्य, संस्कृति, सम्पदा, वन्यजन्तु, शहर आदि झल्कन्छ ।


सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५



