शुक्रबार, २८ नोभेम्बर, २०२५
10:03 | १५:४८

लन्डन ब्रीजको क्रिसमस मार्केटबाट नेपाली स्वाद विश्वभर पुर्‍याउंदै ‘टेष्ट अफ नेपाल’

नेपाली लिङ्क नोभेम्बर २८, २०२५

लन्डन । विश्वभरका पर्यटकको मुख्य आकर्षण बन्ने लन्डनस्थित टावर ब्रीजमा यतिखेर क्रिसमस मार्केट शुरु भएको छ ।

चारैतिर झिलिमिली बत्तीहरू, चिसो सिरेटो र हजारौँ पर्यटकको भीड । यही भीड बीचबाट आउने एउटा विशेष बास्नाले भने जो–कोहीलाई टक्क अड्याउँछ । यो बास्ना हो– नेपाली मःम, हिमालयन थुक्पा र गोर्खा सुपको ।

लन्डनको यो विश्व प्रसिद्ध क्रिसमस बजारमा ‘टेष्ट अफ नेपाल’ मार्फत मःम चाउमिन र गोर्खा सुप जस्ता नेपाली परिकारका स्वाद पस्कन व्यस्त छन् सुलभ श्रेष्ठ ।

लन्डनको सदक स्टेशनस्थित ब्ल्याक फायर रोडमा ‘टेष्ट अफ नेपाल’ नामक रेष्टुरेन्ट सञ्चालन गर्दै आएका श्रेष्ठ विगत चार वर्षदेखि टावर ब्रीज क्रिसमस बजारमार्फत पनि नेपाली स्वाद विश्वभरका पर्यटकमाझ पुर्‍याउन व्यस्त छन्।

करिब तीन स्क्वायर मिटर क्षेत्रमा सञ्चालित यो स्टल टावर ब्रीज क्षेत्रमा रहेको एकमात्र नेपाली स्टल हो, जहाँ विदेशी पर्यटक तथा स्थानीयहरू नेपाली मःम र गोर्खा सुपका लागि लामो लाइन लागेर प्रतीक्षा गर्दछन्।

लन्डनको अत्यन्तै व्यस्त र महँगो मानिने टावर ब्रीज क्षेत्रमा व्यवसाय सञ्चालन चुनौतीपूर्ण मानिन्छ। त्यहाँको डेढ महिनाको भाडा अन्य स्थानको एक वर्ष बराबर पर्ने सुलभको भनाइ छ।

उनी भन्छन्, ‘चुनौती त ठूलो छ, तर नेपाली परिकारलाई विश्वमाझ चिनाउने उद्देश्यले हामीले निरन्तर ‘टेष्ट अफ नेपाल’ सञ्चालन गर्दै आएका छौँ। हामी म:मलाई प्राथमिकतामा राख्दै गोर्खा सुप, चाउमिन, हिमालयन थुक्पा लगायतका परिकार विक्री गर्दै आइरहेका छौँ।’

श्रेष्ठले ‘टेष्ट अफ नेपाल’लाई क्रिसमस बजारमै सिमित नराखी लन्डनका अन्य प्रमुख स्थानहरू सेन्ट पल क्याथेड्रल नजिकै र लन्डन आइ वरपरको समर मार्केटमा पनि निरन्तर नेपाली प्रतिनिधित्व गर्दै आएका छन्। म:म उनले आफ्नै कारखानामा उत्पादन गर्छन् भने अन्य सामग्री नेपालबाटै ल्याइन्छ, जसले नेपाली स्वादको मौलिकता कायम राख्न मद्दत गर्छ।

टावर ब्रीजजस्तो विश्वप्रसिद्ध स्थानमा नेपाली परिकारको उपस्थिति स्थापित गर्नु आफ्नो प्रमुख उपलब्धिमध्ये एक मान्छन् उनी ।

खाद्य व्यवसायसँगै सुलभले विगत एक दशकदेखि ‘नमस्ते ए टु जेड’ कार्गो सेवा पनि सञ्चालन गर्दै आएका छन्, जुन बेलायतमा नेपालीले सञ्चालन गर्ने सफल कार्गो व्यवसायमध्ये एक मानिन्छ ।

आफ्नो व्यवसायमार्फत उनले करिब दुई दर्जन बढी व्यक्तिलाई रोजगारी प्रदान गरिरहेका छन् ।

काठमाडौंका सुलभ सन् २००२ मा बेलायत आएका थिए। पछिल्लो डेढ दशकदेखि उनी ‘टेष्ट अफ नेपाल’ मार्फत नेपाली खानाको पहिचान र स्वादलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्धन गर्न समर्पित छन्।

शब्द/तस्विर- नरेन्द्र बस्नेत

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू