टी-२० विश्वकपमा नेपाल समूह ‘सी’मा



काठमाडौँ । नेपाल टी-२० विश्वकपको कठिन समूहमा परेको छ। फेब्रुअरी ७ देखि मार्च ८ सम्म भारत र श्रीलंकामा हुने ट्वान्टी–२० विश्वकपमा नेपाल समूह ‘सी’ मा परेको हो।
नेपालसहित यो समूहमा दुई पटकको विजेता वेस्ट इन्डिज, १ पटकको विजेता इंग्ल्यान्ड, बंगलादेश र इटाली परेको छ। नेपालले इंग्ल्यान्ड र इटालीसँग पहिलो पटक खेल्ने छ। वेस्ट इन्डिजलाई नेपालले सेप्टेम्बरमा शारजहाँमा भएको ३ खेलको शृंखलामा २–१ ले पराजित गरेको थियो।
इटाली पहिलो पटक विश्वकप खेलिरहेको छ। युरोप क्षेत्रको छनोटबाट स्कटल्यान्डलाई उछिन्दै नेदरल्यान्ड्स र इटाली विश्वकपमा पुगेका थिए। नेपालले तेस्रो पटक विश्वकप खेल्न लागेको हो।
बंगलादेशसँग गत वर्ष नेपालले लगातार तेस्रो पटक खेल्न लागेको हो। बंगलादेशमा २०१४ तथा अमेरिका र वेस्ट इन्डिजमा भएको ट्वान्टी–२० विश्वकपमा पनि नेपालले बंगलादेशसँग खेलेको थियो र दुबैमा पराजित रहेको थियो।
सहभागी २० टोलीलाई ४ समूहमा विभाजन गरिएको छ र शीर्ष दुई टोली सुपर एटमा पुग्ने छन्। सुपर एट दुई समूहमा विभाजन गरिएको छ र त्यसबाट समूहको शीर्ष दुई टोली सेमिफाइनल पुग्ने छ।
समूह ‘बी’ मा अस्ट्रेलिया, श्रीलंका, जिम्बावे, आयरल्यान्ड, ओमान तथा समूह ‘डी’ मा दक्षिण अफ्रिका, न्युजिल्यान्ड, अफगानिस्तान, क्यानडा र यूएई छन्।
भारत र पाकिस्तान एकै समूहमा
भारत र पाकिस्तान एकै समूहमा रहेका छन्। पाकिस्तानले भारत भ्रमण गर्न अस्वीकार गरेकाले यी दुई राष्ट्रको खेल श्रीलंकाको कोलोम्बोस्थित आर प्रेमदासा रंगशालामा फेब्रुअरी १५ मा हुनेछ। भारत र पाकिस्तानसहित समूह ‘ए’ मा अमेरिका, नेदरल्यान्ड्स र नामिबिया रहेका छन्।
निर्धारित तालिका अनुसार ट्वान्टी–२० विश्वकपको फाइनल अहमदाबादमा हुने कार्यक्रम रहेको छ। तर पाकिस्तान फाइनल पुगेमा उपाधि भिडन्तको अन्तिम खेल श्रीलंकामा हुनेछ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५



