१७ औं नेपाली मेला ३० अगष्टलाई तय, गृहकार्यमा जुट्यो तमुधिं यूके


लन्डन- बेलायतको नेपाली समुदायमा आयोजना हुने वर्षकै ठूलो इभेन्ट नेपाली मेला आउँदो वर्ष अगष्ट ३० मा हुने भएको छ ।
तमुधिं यूकेको आयोजनामा लन्डनको केम्पटन पार्क रेस कोर्समा हुने १७ औं संस्करणको नेपाली मेलाका लागि प्रारम्भिक चरणको तयारी एवम् गृहकार्य शुरु गरिएको छ ।
नेपाली मेलालाई विगतभन्दा अझै व्यवस्थित र प्रभावकारी बनाउन भन्दै तयारी छलफल शुरु गरिएको तमुधिं यूकेले जनाएको छ । नेपाली मेला–२०२६ को सफल आयोजना तथा तयारीलाई अझ प्रभावकारी बनाउन केम्पटन पार्कका आधिकारिक प्रतिनिधिहरू र तमु धीं यूकेका पदाधिकारीहरूबीच महत्वपूर्ण छलफल सम्पन्न भएको तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङले जानकारी दिए ।
नेपाली समुदायको सबैभन्दा ठूलो सांस्कृतिक महोत्सवमध्ये एक मानिने ‘नेपाली मेला’ लाई व्यवस्थित, सुरक्षित र आकर्षक बनाउन आवश्यक समन्वय, व्यवस्थापन तथा प्राविधिक पक्षबारे विस्तृत कुराकानी गरिएको बैठकमा सहभागीहरूले जनाएका छन् ।
प्रतिनिधिहरूले मेलाका कार्यक्रम, सम्भावित चुनौती, सुरक्षा व्यवस्थापन, टिकट प्रणाली, स्टलहरूको व्यवस्थापन तथा समुदाय–मैत्री वातावरण निर्माणजस्ता विषयमा आफ्ना सुझाव तथा योजना प्रस्तुत गरेका थिए । छलफल सकारात्मक र फलदायी भएको आयोजक समितिले जनाएको छ । उनीहरूको भनाइअनुसार, आगामी दिनहरूमा थप तयारी बैठक गर्दै मेला तयारीलाई अन्तिम रूप दिने योजना छ ।
बैठकमा तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ, उपाध्यक्ष कमल गुरुङ, महासचिव डा. विशाल गुरुङ, कोषाध्यक्ष अरुण गुरुङ तथा सल्लाहकार दिलरास गुरुङ सहभागी थिए ।
बेलायतमा सन् २००९ देखि शुरु भएको नेपाली मेला यस वर्ष १६ औं संस्करणमा आइपुग्दा अहिलेसम्मकै विशाल र भव्य बनेको थियो । आगामी संस्करणमा मेलामा सहभागिताका साथै उपस्थित सहभागीहरुको अनुभवलाई समेत थप गुणस्तरीय बनाउने गरी अहिलेदेखि नै आवश्यक तयारीका कार्यहरु अघि बढाउने योजना आयोजक तमुधिं यूकेले बनाएको अध्यक्ष जुमकाजी गुरुङले बताएका छन् ।



