सोमबार, १७ नोभेम्बर, २०२५
15:56 | २१:४१

एनपीएलको पहिलो खेलमा काठमान्डु गोर्खाजको सहज जीत, साविक विजेता जनकपुर ५ विकेटले पराजित

नेपाली लिङ्क नोभेम्बर १७, २०२५

काठमाडौँ । काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ को पहिलो खेलमा सोमबार डिफेन्डिङ च्याम्पियन जनकपुरलाई ५ विकेटले पराजित गरेको छ।

ओपनरद्वय बेन चार्ल्सवर्थ र आकाश त्रिपाठीको उत्कृष्ट ब्याटिङपछि काठमान्डुले त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय रंगशालाको पहिलो पटक फ्लड लाइटमा खेलाइएको खेलमा १ सय ३१ रनको लक्ष्य दुई ओभर अगाडि नै पूरा गर्‍यो।

इंग्लिस खेलाडी चार्ल्सवर्थले २३ बलमा ४६ रन बनाउँदै आकाशसँग पहिलो विकेटमा ८ ओभरमा ७० रन जोडी काठमान्डुलाई उत्कृष्ट सुरुआत दिलाएका थिए। चार्ल्सवर्थले ५ चौका र ३ छक्का प्रहार गरे। गत सिजन जनकपुरले उपाधि जित्दाका सदस्य आकाशले ४५ बल खेली ५ चौकासहित ३९ रन बनाए।

चार्ल्सवर्थलाई यान निकोल लफ्टी इटनले आफ्नै बलिङमा सानदार क्याच गरे। भीम सार्की ७ बल खेली ३ रनमै आउट भए पनि आकाशले संयमित खेल्दै काठमान्डुको इनिङ्स अगाडि बढाएका थिए । आकाशलाई सञ्जय कृष्णमुर्थीले बोल्ड गरे।

मिलिन्द कुमारले २२ बल खेली १ छक्कासहित १९ र जोहन सिम्पसनले ६ बल खेली समान १ चौका र छक्कासहित १३ रन बनाए। जेहर्राड इरसमस १ र मोहम्मद आदिल अन्सारी ४ बलमा १ छक्का प्रहार गरी ८ रन बनाई अविजित रहे।

यसअघि आसिफ शेखले अर्धशतक बनाए पनि काठमान्डुले जनकपुरलाई १ सय ३० रनको स्कोरमा रोकेको थियो। काठमान्डुले टस जितेपछि ब्याटिङमा आएको जनकपुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सय ३० रन मात्र बनाउन सकेको थियो।

पहिलो २ ओभरमा विना क्षति २६ रन बनाएको जनकपुर १० ओभरमा ५६–४ को स्थितिमा पुगेको थियो। अमेरिकी अलराउन्डर मिलिन्दले पाँचौँ ओभरमा लाहिरु मिलान्थालाई विकेटको पछाडि क्याच र कप्तान अनिल साहलाई आउट गराई काठमान्डुलाई उत्कृष्ट पुनरागमन गराएका थिए।

लाहिरुले १२ बलमा ७ रन बनाए भने अनिलले खाता खोल्न सकेनन्। मिलिन्दले आफ्नो अर्को ओभरमा लफ्टी इटनलाई २ रनमा बोल्ड गरी जनकपुरलाई उच्च दबाबमा राखेका थिए। अमेरिकी ब्याट कृष्णमुर्थीलाई सन्तोष यादवले २ रनमा बोल्ड गरेपछि पहिलो १० ओभरको खेलमा काठमान्डु हावी भएको थियो।

मार्की खेलाडी आसिफले ४१ बलमा ५४ रन बनाए। उनले ६ चौका र १ छक्का प्रहार गरे। साहब आलमले आसिफलाई विकेटकिपर सिम्पसनबाट क्याच गराए। लाहिरु समराकुन २१ बलमा २२ रन बनाई आउट भए। अन्तिम ओभरको पाँचौँ बलमा करणबाट आउट भएका उनले २ छक्का प्रहार गरेका थिए।

अन्तिम बलको सामना गरेका रुपेश सिंहले चौका प्रहार गरे। मायन यादव ३४ रनमा अविजित रहे। उनले २९ बल खेल्दै २ चौका र १ छक्का प्रहार गरे। काठमान्डुका मिलिन्दले ४ ओभरमा १५ रन मात्र खर्चेर ३ विकेट लिएका हुन्। १४ ओभरमा ७९ रन रहेको जनकपुरले अन्तिम ६ ओभरमा ५१ रन जोडेको थियो।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू