मंगलबार, २१ अक्टोबर, २०२५
08:33 | १३:१८

बेलायतमा पिज्जा हटले ६८ शाखा बन्द गर्दै, करिब १२ सय कर्मचारी बेरोजगार

नेपाली लिङ्क अक्टोबर २०, २०२५

लन्डन । अमेरिकन चेन तथा अन्तर्राष्ट्रिय फ्रेन्चाइज कम्पनी पिज्जा हट यूकेले आफ्ना ६८ वटा रेस्टुरेन्ट र ११ वटा डेलिभरी साइटहरू बन्द गर्ने निर्णय गरेको छ। यस निर्णयसँगै करिब १ हजार २ सय १० जना कर्मचारीहरूले जागिर गुमाउने भएका छन्।

आर्थिक चुनौती र बजारको घट्दो मागका कारण यस किसिमको कदम चाल्नुपरेको कम्पनीले बताएको  छ।

यद्यपि, पिज्जा हटको प्रमुख  कम्पनी यम ब्रान्ड्सले भने यूकेका ६४ वटा शाखा सञ्चालनमा राख्ने निर्णय गरेको छ, जसबाट १ हजार २ सय ७६ जना कर्मचारीको रोजगार सुरक्षित हुनेछ।

पिज्जा हट एक अमेरिकी अन्तर्राष्ट्रिय फास्ट फूड फ्रेन्चाइज कम्पनी हो, जसले विभिन्न प्रकारका पिजा, पास्ता, ब्रेडस्टिक र गार्लिक ब्रेड बिक्री गर्ने गर्दछ। सन् १९५८ मा डान र फ्रान्क कार्नीले अमेरिकाको क्यान्सस राज्यमा यसको स्थापना गरेका थिए ।

पिज्जा हटले पहिलो पटक १९७३ मा लन्डनको इस्लिङटनमा आफ्नो शाखा खोलेको थियो। सन् १९९९ सम्म कम्पनीमा १४ हजार बढी कर्मचारी कार्यरत थिए र २००६ सम्म ७०० भन्दा बढी शाखा रहेका थिए। तर पछिल्ला वर्षहरूमा मुद्रास्फीति र तीव्र प्रतिस्पर्धाका कारण यसको बजार उपस्थिति कमजोर बन्दै गएको छ।

कोभिड महामारीका बेला पनि पिज्जा हट टिक्न सफल भए पनि त्यस अवधिमा २९ शाखा बन्द गर्नुपरेको थियो। पछिल्लो समय ऊर्जा मूल्य वृद्धि र कर नीतिमा परिवर्तनका कारण कम्पनी थप आर्थिक दबाबमा परेको छ।

गत वर्ष कम्पनीले अनलाइन क्यासिनो ‘फ्री स्पिन’ अफर र २,८८० क्यालोरी भएको ‘चिजबर्गर पिज्जा’ जस्ता विवादास्पद प्रमोशनका कारण आलोचना खेप्नुपरेको थियो।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू