गुगलले भारतमा अमेरिका बाहिरकै ठूलो एआई हब निर्माण गर्ने
पाँच वर्षभित्र १५ अर्ब अमेरिकी डलरको लगानी



नयाँदिल्ली । विश्वप्रसिद्ध प्रविधि कम्पनी गुगलले भारतमा अभूतपूर्व लगानी योजना घोषणा गरेको छ । कम्पनीले आगामी पाँच वर्षभित्र १५ अर्ब अमेरिकी डलर बराबरको पूँजी लगानी गर्दै भारतको दक्षिणी राज्य आन्ध्र प्रदेशको विशाखापट्टनम सहरमा अमेरिका बाहिरको सबैभन्दा ठूलो आर्टिफिसियल इन्टेलिजेन्स (एआई) हब निर्माण गर्ने बताएको छ ।
गुगल क्लाउडका प्रमुख कार्यकारी अधिकारी थोमस कुरियनले नयाँदिल्लीमा आयोजित समारोहमा यस हबलाई ‘गिगावाट–स्केल एआई आधार’ का रूपमा विकास गरिने जानकारी दिए । उनले भने, “यो गुगलले अमेरिका बाहिर गर्ने सबैभन्दा ठूलो एआई लगानी हो । हामीले आगामी पाँच वर्षमा १५ अर्ब डलरको पूँजी लगानी गर्दै यस्तो पूर्वाधार तयार गर्ने छौँ जसले भारतलाई एआई प्रविधिको विश्वव्यापी नक्सामा अग्रस्थानमा पुर्याउने छ ।”
कुरियनका अनुसार गुगलले निर्माण गर्न लागेको उक्त एआई केन्द्रलाई अन्ततः ‘धेरै गिगावाट क्षमतामा’ विस्तार गर्ने योजना छ । यस लगानीले भारतमा तीव्ररूपमा बढिरहेको डिजिटल बजार र एआई उपकरणको मागलाई सम्बोधन गर्ने छ । हाल भारतमा इन्टरनेट प्रयोगकर्ताको सङ्ख्या ९० करोड नाघ्ने अनुमान गरिएको छ, जसले व्यवसाय र व्यक्तिगत दुवै तहमा प्रविधिको प्रयोगलाई नयाँ उचाइमा पुर्याएको छ ।
भारतका सूचना प्रविधिमन्त्री अश्विनी वैष्णवले गुगलको लगानीप्रति धन्यवाद ज्ञापन गर्दै भने, “यो डिजिटल पूर्वाधार हाम्रो ‘भारत एआई’ दृष्टिकोणका लक्ष्य पूरा गर्नको दिशामा महत्वपूर्ण कोसेढुङ्गा सावित हुने छ । यसले भारतलाई एआई प्रविधिको उत्पादन र नवप्रवर्तन केन्द्रका रूपमा स्थापित गर्न मद्दत पुर्याउने छ ।”
त्यसै गरी, आन्ध्र प्रदेशका मुख्यमन्त्री चन्द्रबाबु नायडूले यो परियोजनालाई राज्यका लागि ‘एक ऐतिहासिक र अत्यन्त खुशीको दिन’ का रूपमा वर्णन गरे । उनका छोरा तथा राज्यका प्रविधिमन्त्री नारा लोकेशले सामाजिक सञ्जाल ‘एक्स’ मा लेख्दै भने, “यो लगानी एक वर्षको गहन छलफल र अथक प्रयासपछि सम्भव भएको हो । यो केवल सुरुआत हो—हाम्रो राज्यको डिजिटल भविष्य, नवीनता र विश्वव्यापी प्रतिष्ठाका लागि यो एक ठूलो छलाङ हो ।”
गुगलको यो निर्णय भारतमा तीव्ररूपमा विकसित भइरहेको कृत्रिम बुद्धिमत्ता (एआई) बजारप्रति अन्तर्राष्ट्रिय कम्पनीको बढ्दो चासोको अर्को उदाहरण बनेको छ । यसै महिना अमेरिकी एआई स्टार्टअप एन्थ्रोपिकका प्रमुख कार्यकारी अधिकारी डारियो अमोदेईले प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्दै अर्को वर्ष भारतमा आफ्नो कार्यालय स्थापना गर्ने योजना घोषणा गरेका थिए ।
प्रधानमन्त्री मोदीले एक्समा लेख्दै अमोदेईलाई धन्यवाद ज्ञापन गर्दै भने, “भारतको जीवन्त टेक इकोसिस्टम र प्रतिभाशाली युवाले एआई इनोभेसनलाई गति दिइरहेका छन् । हामी विकासका लागि एआईको अधिकतम उपयोग गर्न प्रतिबद्ध छौंँ ।”
एन्थ्रोपिकको यो निर्णयपछि अन्य शीर्ष एआई कम्पनीले पनि भारतीय बजारमा आफ्नो उपस्थिति विस्तार गर्ने घोषणा गरेका छन् । ओपनएआईले यस वर्षको अन्त्यमा भारतमा आफ्नो कार्यालय खोल्ने तयारी गरेको जनाएको छ । यसका प्रमुख साम अल्टम्यानका अनुसार भारतमा च्याटजिपिटीको प्रयोग गत वर्षको तुलनामा चार गुणा बढेको छ ।
यस्तै, एआई कम्पनी पप्र्लेक्सिटीले गत जुलाईमा भारतीय टेलिकम कम्पनी एयरटेलसँग साझेदारी गरेको थियो, जसअनुसार एयरटेलका ३६ करोड ग्राहकलाई एक वर्षका लागि पप्र्लेक्सिटी प्रोको निःशुल्क सदस्यता प्रदान गरिएको छ ।
गुगलको यो १५ अर्ब डलरको लगानीसँगै भारत एआई प्रविधिको प्रमुख केन्द्र बन्ने मात्र नभई यसले देशको डिजिटल पूर्वाधार, रोजगारी र अनुसन्धान क्षेत्रमा समेत नयाँ अध्याय खोल्ने अपेक्षा गरिएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५