बीसीसी गुम्बामा ५ दिने ञ्युङने मौन ब्रत शुरु



लन्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) यूके गुम्बामा ५ दिने ञ्युङने ब्रत शुरु भएको छ । बुधबार २४ सेप्टेम्बरबाट शुरु भएको ब्रत आइतबार २८ सेप्टेम्बरका दिन समापन हुनेछ ।
बौद्ध परम्परामा अत्यन्त महत्वपूर्ण मानिने उक्त ब्रत बीसीसी यूकेले प्रत्येक वर्ष आयोजना गर्दै आएको छ । यो चौंथो पटक गरिएको हो ।
सो ब्रतलाई बीसीसी यूकेका अध्यक्ष आङ्गदावा शेर्पा, आमा प्रमुख जगना गुरुङ, प्रमुख सल्लाहकार एवं ब्रत संयोजक मेजर खुशीमान गुरुङले दीप प्रज्ज्वलन गरी शुभारम्भ गरे ।
उक्त ब्रत विधिवत रुपमा सम्पन्न गर्न बौद्ध अर्घौं सदन पोखराका ञ्युङने प्रमुख गुरु लामा हर्कजङ्ग घले र लामा प्रदीप गुरुङको विशेष सहभागिता छ । उनीहरु गतहप्ता बेलायत आइपुगेका हुन् ।
त्यस्तै, बीसीसी यूकेका प्रमुख लामा खेन्पो छिरिङ्ग, लोपेन सोनाम, लोपेन वाङ्दी, खेन्पो छेवाङ्ग, लामा दिनेश गुरुङ, लामा अखिल गुरुङ, लामा शंकर गुरुङ, लामा युङडुङ छेवाङलगायत गुरुहरुले ञ्युङने पूजापाठ तथा जप साधना गर्दै आएका छन् ।

ञ्युङने मौन ब्रत महायान उपषोध भगवान बुद्धले उपदेश गरेको विनय पिटकमा आधारित महा अष्टशील पालना गरेर गुरु एकादशानन् आर्य अवलोकेतेश्वरको उपसना गरेर अनादिकालदेखि हामीसंग भएको पापवरण र क्लेशवारणलाई विशुद्ध बनाउन सक्ने बज्रयान बौद्ध धर्मको अपार पूण्य सञ्चय गर्ने साधना पद्धति हो ।
ञ्युङने मौन ब्रत अभ्यासका क्रममा २ दिन अर्थात् ४८ घण्टामा पहिलो दिन एक छाक शाकाहारी शुद्ध भोजनगरी भोलीको दिन २४ घण्टासम्म एक थोपा पानी पनि नपिई मौन ब्रत बसेर कठोर साधना गरिन्छ ।
बिहान ५ देखि साँझ ६ बजेसम्म चल्ने सो ब्रतका लागि बीसीसी यूकेका स्वंयसेवी आमाहरु सेवामा जुटिरहेका छन् । संगै ब्रत सम्पन्न गर्न ब्रतालू तथा विभिन्न भक्तजनले नगद तथा जिन्सी प्रदान गर्दै आएका छन् । बीसीसी यूकेले इच्छुकले उक्त मौन ब्रत तथा दर्शन गर्न सक्ने जनाएको छ ।

सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५



