आइतबार, १४ सेप्टेम्बर, २०२५
18:52 | २३:३७

ट्रम्प बेलायत आउनुअघि अमेरिकी वित्त कम्पनीहरूले गरे एक अर्ब २५ करोड पाउन्ड लगानी घोषणा

रासस/एएफपी सेप्टेम्बर १४, २०२५

सन् २०१९ मा आफ्नो राजकीय भ्रमणको क्रममा तत्कालीन राजकुमार चार्ल्स र क्यामिलासँग डोनाल्ड ट्रम्प र मेलानिया । तस्वीर- पीए

लन्डन, २९ भदौ– पेपल र सिटी ग्रुपसहितका अमेरिकी वित्त कम्पनीहरूले बेलायतमा एक अर्ब २५ करोड पाउन्ड (एक अर्ब ७० करोड डलर) लगानी गर्ने योजना सार्वजनिक गरेका छन्।

प्रधानमन्त्री किअर स्टार्मरले आइतबार यसलाई स्वागत गर्दै यो घोषणा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको राज्य भ्रमणको केही दिनअघि आएको बताए ।

अग्रणी अमेरिकी कम्पनीको यस लगानीमा बैंक अफ अमेरिका र एस एन्ड पी ग्लोबल पनि समावेश छन्। योजनाअनुसार लन्डन, एडिनबर्ग, बेलफास्ट र म्यानचेस्टरमा करिब एक हजार आठ सय नयाँ रोजगारी सिर्जना हुने अपेक्षा गरिएको छ।

सन् २०१९ मा महारानी एलिजाबेथ द्वितीयले आफ्नो पहिलो कार्यकालमा आयोजना गरेको दोस्रो राजकीय भ्रमणपछि ट्रम्पको यो पहिलो राजकीय भ्रमण हो। मङ्गलबारदेखि सुरु हुने भ्रमणका लागि बेलायतले तयारी गरिरहेको बेला लगानी घोषणा भएको हो।

प्रधानमन्त्री स्टार्मरले भने, “हाम्रा सहयोगीहरूसँग मिलेर हामी यहाँ रोजगारी सिर्जना गरिरहेका छौँ।” यौन अपराधी जेफ्री एपस्टेनसँगको मित्रताका कारण वासिङ्टनस्थित राजदूत पिटर म्यान्डेलसनलाई बर्खास्त गरेपछि घरेलु राजनीतिक सङ्कट झेलिरहेका स्टार्मरले यसलाई आफ्नो लागि सकारात्मक सन्देशका रूपमा लिएका छन् ।

सम्पत्ति कर कम तिर्ने घोटालामा परेर हालै आफ्नो सहायक गुमाएका नेता स्टार्मरले एक्समा लेखेका छन्, “यो लगानीले बेलायतलाई विश्वव्यापी वित्तीय नेतृत्वमा पुष्टि गर्दछ।”

योजनाअनुसार बैंक अफ अमेरिकाले उत्तरी आयरल्यान्डमा आफ्नो पहिलो सञ्चालन सुरु गर्दै बेलफास्टमा एक हजार रोजगारी सिर्जना गर्नेछ।

सिटी ग्रुपले भने यूके अपरेसनहरूमा एक अर्ब १० करोड पाउन्ड लगानी गर्नेछ। यसमा उत्तरी आयरल्यान्डसमेत समावेश हुनेछ। सिटी ग्रुप अहिले नै बेलफास्टमा चार हजारभन्दा बढी कर्मचारीसहित प्रमुख रोजगारीदातामध्ये एक हो ।

बेलायत सरकारले यी लगानीहरूले ‘बेलफास्टलाई प्रमुख प्रविधि पावरहाउसका रूपमा स्थापित गर्ने’ टिप्पणी गरेको छ ।

यसैबीच, एस एन्ड पी ग्लोनलले उत्तरी इङ्ग्ल्यान्डको म्यानचेस्टरस्थित आफ्ना कार्यालयहरूमा ४० लाख पाउन्डभन्दा बढी लगानी गर्ने तयारी गरेको छ। यसले करिब तीन हजार कार्यबललाई थप बलियो बनाउन दुई सय स्थायी रोजगारी सिर्जना गर्न सहयोग गर्नेछ।

पेपलले ‘उत्पादन आविष्कार र वृद्धि’ मा १५ करोड पाउन्ड लगानी गर्नेछ भने ब्ल्याकरोकले स्कटल्यान्डको राजधानी एडिनबर्गमा नयाँ कार्यालय खोलेर युके इन्टरप्राइज डाटा सेन्टरहरूमा ५० करोड पाउन्ड लगानी गर्ने योजना बनाएको छ। यससँगै कम्पनीले ग्राहकहरूको तर्फबाट अर्को वर्ष यूके बजारमा सात अर्ब पाउन्ड छुट्याउने अपेक्षा गरिएको छ।

राजा चार्ल्स तृतीय र राजपरिवारका अन्य सदस्यहरूले ट्रम्पलाई बुधबार वीन्डसरमा स्वागत गर्ने कार्यक्रम छ। अर्को दिन प्रधानमन्त्री स्टार्मरलाई भेट्ने ट्रम्पको तालिका छ । यस भ्रमण ट्रान्साटलान्टिक आर्थिक सम्बन्ध सुदृढ पार्न केन्द्रित हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू