जेनजी प्रदर्शनका कारण लन्डनमा तय इन्फा अवार्ड स्थगित


लन्डन- १३ सेप्टेम्बर लन्डन ग्रीनफोर्ड टाउन हलमा आयोजना गर्ने तयारी भएको दोस्रो इन्टरनेशनल नेपाली फिल्म (इन्फा) अवार्ड २०२५ तत्कालका लागि स्थगित गरिएको छ।
आयोजकले दिएको जानकारी अनुसार नेपालमा जारी जेनजी प्रदर्शनका कारण उत्पन्न विषम परिस्थितिका कारण अवार्ड कार्यक्रम हाल स्थगित गरि नोभेम्बर १ तारिखका लागि सारिएको हो ।
इन्फा इभेन्ट्स यूके र इन्फा नेपालको संयुक्त आयोजनामा हुन लागेको यस अवार्डमा नेपालबाट तीन दर्जन बढी कलाकार सहभागी हुने जनाइएको थियो ।
कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको र कलाकारहरूको भिसा तथा होटलसम्म बुकिङलगायतका सम्पूर्ण कामहरु पूरा भइसकेको आयोजकले बताएका थिए। तर, स्वदेशमा भइरहेको पछिल्लो घटनाक्रमका कारण अहिले कार्यक्रम स्थगित गर्ने निर्णय गरिएको हो ।
इभेन्ट प्रमुख संयोजक उमेशराज मोक्तानले भने, “प्रहरी दमनका कारण युवा मरिरहेका छन् । देश जलिरहेको छ, यस्तो अवस्थामा हामीलाई रमाइलो उत्सव मनाउन मनले मानेन ।”
आगामी नोभेम्बर १ तारिख पुन: अवार्ड कार्यक्रम गर्ने मोक्तानले जनाए । यसबाट पर्न गएको असुविधाका लागि आयोजक टीमले क्षमायाचना गरेको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


