विश्व यसकारण त्रसित छ इरानसँग




डा. मुकुन्द बास्तोला
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध इजरायलसँग मिलेर खुला सैन्य कारबाहीमा सहभागी हुने निर्णय हाललाई स्थगन गर्दै दुई हप्ताको समय तोकेका छन्। यसै सन्दर्भमा, इरान र इजरायलबीचको केही पृष्ठभूमि प्रस्तुत गर्न चाहन्छु ।
सन् १९७९ को इस्लामिक क्रान्तिसम्म इजरायल र इरान घनिष्ठ मित्र थिए, जसबीच आर्थिक र सैनिक सम्बन्ध निकै बलियो थियो।
तर उक्त क्रान्तिले इरानमा एक कट्टरपन्थी शिया मुसलमान शासन स्थापना गर्यो, जसको विचारधारा प्रष्ट रूपमा पश्चिमविरोधी र इजरायलविरोधी थियो।
इरानका नयाँ सर्वोच्च नेता आयातोल्लाह खोमैनीको नेतृत्वमा इरानले इजरायलको अस्तित्व नै अस्वीकार गर्यो र इजरायललाई उत्पीडन र पश्चिमी साम्राज्यवादको प्रतीकका रूपमा चित्रित गर्न थाल्यो।
त्यसपछि इरानले इजरायलसँगको सबै प्रकारको सम्बन्ध तोड्यो, प्यालेस्टिनीहरूको समर्थनमा उभियो, र लेबनानको हेजबोल्लाह, गाजाको हमास तथा यमनका हुथीजस्ता इजरायलविरोधी सशस्त्र समूहहरूको मुख्य सहयोगी बन्यो।
त्यसपछि इजरायलले इरानलाई विश्वकै प्रमुख आतंकवाद समर्थक राष्ट्रको रूपमा चित्रित गर्दै आएको छ र अमेरिकासहित अन्य सहयोगीहरूसँग मिलेर इरानको आणविक कार्यक्रम एवं सैनिक गतिविधिहरूमाथि प्रतिबन्ध र कूटनीतिक दबाब दिने काम गर्दै आएको छ।
यसका साथै, इजरायलले इरानविरुद्ध वर्षौँदेखि गोप्य अपरेसनहरू पनि सञ्चालन गर्दै आएको छ, जुन दुवै देशबीचको लामो ‘छायाँ युद्ध’को हिस्सा हो । जुन अहिले खुल्ला द्वन्द्वमा परिणत भएको छ।
इजरायल तथा पश्चिमी राष्ट्रहरू इरानले आणविक हतियार प्राप्त गर्नु अत्यन्तै खतरनाक मान्दछन्, किनभने यस्ता हतियारले केवल मध्यपूर्व क्षेत्र मात्र होइन, सम्पूर्ण विश्वको सुरक्षामा गम्भीर खतरा निम्त्याउन सक्छ। इतिहासलाई हेर्ने हो भने इरानले लगातार हमास, हेजबोल्लाह र हुथीजस्ता सशस्त्र समूहहरूलाई समर्थन गर्दै आएको छ, जसलाई पश्चिमी राष्ट्रहरूले आतंककारी संगठनको रूपमा परिभाषित गरेका छन्। यदि इरानले आणविक हतियार हात पार्यो भने, तिनीहरूले ती हतियार आफ्ना परोक्ष सहयोगीहरूलाई प्रयोग गराउन सक्छन्, वा त्यसको प्रयोगद्वारा क्षेत्रीय अस्थिरता, त्रास फैलाउने र सामरिक दबाब सिर्जना गर्न सक्छन्। यस्तो अवस्था विश्व शान्तिका लागि गम्भीर चुनौती बन्न सक्छ।
तर तपाइँ हामी धेरैलाई थाहा भएको कुरा पश्चिमी राष्ट्रहरूको इरानप्रतिको चासो केवल आणविक हतियारमा सीमित छैन। इरान विश्वकै एक प्रमुख पेट्रोलियम उत्पादक राष्ट्र हो, र यही प्राकृतिक स्रोतमा पहुँच तथा नियन्त्रण राख्ने चाहना पनि इरानमाथिको पश्चिमी निगरानी र दबाबको मूल कारण हुन सक्छ, विशेष गरि अमेरिकाको ।
यसले यो द्वन्द्व केवल सुरक्षा वा आतंकवादको विषय होइन, ऊर्जा स्रोत र भू-राजनीतिक स्वार्थसँग पनि गहिरो रूपमा जोडिएको संकेत गर्छ।