बिहीबार, असार ५, २०८२
06:54 | ११:३९

भूटानी नेपाली साहित्यकारहरुले हेगमा गरे विश्व सम्मेलन

नेपाली लिङ्क जुन १८, २०२५


हेग । भूटानी नेपाली साहित्यकारहरुको अन्तर्राष्ट्रिय संगठन ग्लोबल भूटनीज लिटरेचर अर्गनाइजेशन (जिबीएलओ) को बृहत अन्तर्राष्ट्रिय साहित्यिक अनुष्ठान ६, नेदरल्याण्डको हेगमा सम्पन्न भएको छ ।

जुन १३ देखि १५ सम्म आयोजना गरिएको उक्त कार्यक्रममा पहिलो दिन हेगको डेल्फ युनिभर्सिटीमा विभिन्न कार्यपत्र प्रस्तुत गरियो । कार्यपत्रहरुमध्ये स्वीकारोक्ति सिद्धान्तको बारेमा सिद्धान्तकार डेन्जोम साम्पाङले सहभागीहरुबीच अन्तरक्रिया तथा बृहत चर्चा गरे ।

दोस्रो दिन आर्य समाज भवनको हलमा साहित्यिक वाचन,  कार्यपत्र प्रस्तुत, सम्मान प्रदान, कृति विमोचन, नयाँ नेतृत्व घोषणासंगै अहिलेसम्म नेपाली साहित्यको क्षेत्रमा सबैभन्दा बढी राशीको स्वीकारोक्ति सिद्धि पुरस्कार यस वर्ष वरिष्ठ साहित्यकार बैरागी काँईलालाई प्रदान गर्ने घोषणा गरेको छ ।

काँईलालाई निकट भविश्यमा नेरु ६ लाख रुपैया नगद पुरस्कार प्रदान गरिने भएको छ । यस अघि आसमका नेपाली साहित्यकार स्व. लिल बहादुर क्षेत्रीलाई सो पुरस्कार प्रदान गरिएको थियो ।

तेस्रो दिन शान्ति र स्थायित्वको निमित्त स्वीकारोक्ति सिद्धान्त नाराका साथ स्वीकारोक्तिको रंग हरियो भेष्ट लगाई डेढ दर्जन स्रष्टाहरुले हेग विश्वविद्यालयको प्राङ्गणबाट साइकल यात्रा शुरु गरि शहरको शान्ति दरबार, अन्तर्राष्ट्रिय फौजदारी अपराध अदालत, पार्लियामेन्ट लगायतका स्थानमा साइकल र्‍याली गरेका थिए ।


सम्मेलनमा अमेरिका, यूके, न्यूजिल्याण्ड, अष्टेलिया, नर्वे, स्लोभानिया, पोल्याण्ड, बेल्जियम, नेदरल्याण्ड, डेनमार्क, भुटान, नेपाल, फ्रान्स लगायत विश्वका विभिन्न १६ मुलुकबाट सहभागिता थियो । सोही अवसरमा सन् २०२५ – २०२७ को निमित्त नयाँ नेतृत्व समेत चयन गरिएको छ ।

जस अनुसार अध्यक्ष पातले अन्तरे (अमेरिका), वरिष्ठ उपाध्यक्ष गोपाल पौडेल (न्यूजिल्याण्ड), महासचिव सुसन माझी (ओहायो), सचिव लक्की रासी (केन्टकी), कोषाध्यक्ष शेखर कोइराला (पेन्सिलभेनिया), सहकोषाध्यक्ष अबि न्यौपाने (ओहायो), कार्यक्रम प्रबन्धक र निर्देशक ईश्वर ढकाल (ओहायो), साँस्कृतिक संयोजक सरगम थपलिया (पेन्सिलभेनिया), प्रचार प्रसार प्रमुख भिम गुरूङ (नेब्रास्का), सदस्यहरू क्रमशः खडग गजमेर (नेब्रास्का), देवी राई (आईहोवा), यादु अधिकारी (ओहायो) र छत्र दंगाल (अष्ट्रेलिया) छन्।

बोर्ड अप ट्रष्टीमा डेन्जोम साम्पाङ (पेन्सिलभेनिया), जय वान्तावा (जर्जिया), कर्ण गुरूङ (नेब्रास्का), प्रदिप गुरूङ (पेन्सिलभेनिया), आभाष रिखाम (पेन्सिलभेनिया), ममता मोक्तान (पेन्सिलभेनिया) छन् ।

सविना श्रेष्ठको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमका मुख्य अतिथि बेनालुक्सको निमित्त नेपाली राजदूत सेवा लम्साल र विशिष्ट अतिथिमा गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राट्रिय समन्वय परिषदका उपाध्यक्षमा भर्खर नवनिर्वाचित विश्वासदीप तिगेला थिए ।

कार्यक्रमा डा. नारद पोखरेलले स्वीकारोक्ति सिद्धान्तको बारेमा सैद्धान्तिक चर्चा गरे । कवि प्रकाश आङदेम्बे, डिल्लीराज अम्माई, सूर्यराज गिरी, कवि दिपा राई पुन, पंचम अधिकारी, हरि पौडेल, भूटनीज मानव अधिकारकर्मी राम कार्की, एनआरएनए नेदरल्याण्डका पूर्व अध्यक्ष शशी पौडेल, वर्तमान अध्यक्ष थानेश्वर कंडेल लगायतले आफ्नो सिर्जना वाचन तथा मन्तब्य दिएका थिए ।

कार्यक्रममा स्थानीय कलाकारहरुबाट नृत्य तथा गीत संगीत प्रस्तुतिले थप रौनक थपेको थियो । वीरमान श्रेष्ठ, सबु पौडेल र रस्मिता पराजुलीले शान्ति योगा गराएका थिए भने एनआरएनएका उपाध्यक्ष विश्वास दीप तिगेलाले एक कार्यपत्र प्रस्तुत गर्दे नेपाली भाषाको नामै खस–जुम्ली भाषा भनिनुपर्ने र नेपालभित्र बोलिने सबै भाषाको साहित्यलाई नेपालीय साहित्य भनिनुपर्ने प्रस्ताव राखे ।

उनले प्राप्त तथ्यांकलाई प्राज्ञिक हिसाबले छलफलका लागि प्रस्तुत गरेका थिए । समाज भाषा वैज्ञानिक सर्वेक्षण २०१६ को अध्ययनको फिल्ड प्रतिवेदन अनुसार जुम्ली नेपाली भाषी मध्ये ७५ प्रतिशतले अरुसँग कुरा गर्दा प्रायः ‘नेपाली भाषा’ को माध्यम प्रयोग गर्ने गर्दछन् ।’ त्यसैले खसजुम्ली भन्न सकिने तर्क राखे । सिंजा उपत्यकामा विकास भएको खस भाषा विभिन्न प्रशाखा मध्ये एक जुम्ली हो । प्राचीन खस भाषा स्वयं चाहि लोपोन्मुख अवस्थामा छ ।

कार्यक्रमको अन्तमा समारोहका सभापति कर्ण गुरुङले मायाको चिनो वितरण गर्दै सहभागी सबैलाई धन्यवाद दिएका थिए । नेदरल्याण्डमै रहेर हेग र डेल्फ विश्वविद्यालयमा अध्यापन गराउने डि. पी. शर्मा मैनालीले यस छैठौ संस्करणको सम्मेलनको संयोजनकारी भूमिका निर्वाह गरेका थिए ।

कार्यक्रमलाई महासचिव पातलो अन्तरेले संचालन गरेका थिए । भूटानी पूर्नवासितहरु विश्वका विभिन्न मुलुकहरुमा छरिएर रहेका छन ति मध्ये नेदरल्याण्डमा करिब ५ सय भुटानी परिवार रहेका छन् । त्रिदिवसिय कार्यक्रम पश्चात करिब एक दर्जन भूटानी नेपाली साहित्यकारहरु बेल्जियम, लग्जमवर्ग, जर्मनी, स्वीजरल्याण्ड, फ्रान्स र यूके भ्रमणमा निस्किएका छन् ।

भूटानमा नेपाली भाषा साहित्यको अधिकारका लागि आवाज उठाउदा शरणार्थी हुनु पुगेका भूटानी नेपालीहरुको यो अभियान र योगदान अनुकरणीय छ ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू