लन्डन बिस्का जात्रामा नेपाली दूतावासको सहकार्य, ‘कम्युनिटी पार्टनर’ मा आधा दर्जन संघसंस्था



लन्डन । तेश्रो लन्डन बिस्का जात्रामा लन्डनस्थित नेपाली दूतावासको सहकार्य हुने भएको छ ।
गत ११ फेब्रुअरी बुधबार आयोजक पासा पुचः गुथि यूके पदाधिकारीहरु र कार्यवाहक राजदूत विपिन दुवाडीबीच भएको भेटघाटमा दूतावासले सहकार्य गर्ने निश्चित गरेको हो ।
आउंदो १९ अप्रिल आइतबार डाटफोर्डस्थित ओपन एयर थिएटर सेन्ट्रल पार्कमा जात्रा हुंदैछ ।
उक्त जात्राका लागि प्रमुख अतिथी बनिदिन आयोजकको निमन्त्रणा कार्यवाहक राजदूत दुवाडीले सहर्ष स्वीकार्दै जात्रा सफल बनाउन दूतावासबाट पूर्ण सहयोग हुने प्रतिवद्धता जनाएको पासा पुचः गुथि यूके अध्यक्ष सुशील प्रजापतिले नेपालीलिंकलाई जानकारी दिए ।
दूतावासले नेपाल सरकारका विभिन्न निकायबाट हुन सक्ने सहयोगका लागि समेत पहल गर्ने प्रतिवद्धता दुवाडीले दिलाएका थिए ।
उक्त भेटघाटमा आयोजकले दूतावासमा जात्रा तयारी र रुपरेखाबारे ‘पेपर प्रिजेन्ट’ गरेको थियो ।
अध्यक्ष प्रजापतिले जात्रा सफल बनाउन रोयल बरो अफ ग्रीनवीच नेपलिज कम्युनिटी, बेक्सली नेपाली समाज, डार्टफोर्ड नेपाली कम्युनिटी, इष्ट लन्डन नेपलिज गोर्खा कम्युनिटी, प्लमस्टिडस्थित श्री पशुपतिनाथ मन्दिर समिति र नेपलिज नर्सिङ एसोसिएसन यूकेलाई ‘कम्युनिटी पार्टनर’ का रुपमा प्रस्ताव राखिएको प्रजापतिले बताए ।

उक्त जात्रा संयोजनको जिम्मा पासा पुचः गुथि यूके साउथ इष्ट लन्डन अध्यक्ष सुरोज मास्केको कांधमा छ ।
जात्रामा भैरव र भद्रकालीको रथ तान्ने र योसिंद्यो (लिंगो) उठाइने योजना छ । यसपटक मुख्य आकर्षणमा पहिलोपटक मध्यपुरको मौलिक सिन्दुर जात्रा पनि गरिने छ ।
जात्राका लागि नेपाल गुथि संस्थानबाट दुई जना र संस्कृति सम्पदाविद यादवलाल कायस्थ, रवि शाक्य, हरिशंकर कुलुजु, पहिलो महिला धिमे वाद्यवाधक तथा गुरु इन्दिरा लाछी मोस्यू लगायत सात जना र भक्तपुर, काठमाडौं तथा मध्यपुर नगरप्रमुखलाई समेत निमन्त्रण पठाइएको आयोजकले जनाएका छन् ।
दिउसो १२ देखि सांझ ६ बजेसम्म सञ्चालन हुने जात्रामा भैरवको रथ परिक्रमा, खः जात्रा, विभिन्न खाना स्टल, नेपाली सामानका व्यापारिक स्टलहरु, विविध सांस्कृतिक कार्यक्रमसंगै दिनभर सांस्कृतिक मनोरञ्जन हुने आयोजकको दावी छ ।
सिन्दुर जात्राका लागि गुथिका चारवटै शाखाले एक एक वटा खः (कांधमा बोक्ने रथ) ल्याउनेछन् । ति शाखाहरुले धिमे, ढाः, खीं र बांसुरी बाजाको टोली पनि ल्याउने तय भएको छ । आयोजकका अनुसार, जात्रामा यूकेका विभिन्न ठाउंका १० वटा मौलिक नेवारी बाजा समूहले समेत भाग लिनेछन् ।
सन् २०२२ मा पहिलोपटक गरिएको लन्डन बिस्का जात्रा एक वर्षको अन्तरालमा गरिंदै आएको छ ।
तस्विरहरु- प्रजेश श्रेष्ठ

सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


