आइतबार, २९ नोभेम्बर, २०२६
22:59 | ०४:४४

पुनर्वास र पुनर्निर्माणमा सरकारको गति अत्यन्त सुस्त रहेको भन्दै विज्ञहरुले गरे चिन्ता

नेपाली लिङ्क नोभेम्बर २९, २०२६

लन्डन— गत २६ अगस्टमा गएको भोटेकोशी–त्रिशूली बाढीपछिको राहत, पुनर्वास र पुनर्निर्माणमा सरकारको गति अत्यन्त सुस्त रहेको भन्दै विज्ञहरूले दीर्घकालीन जोखिम न्यूनीकरण, खाद्य सुरक्षा र समावेशी पुनर्लाभमा केन्द्रित हुन आग्रह गरेका छन्।

जय नेपाल अन्तर्राष्ट्रिय फाउन्डेसनद्वारा शनिबार आयोजित वेबिनारमा बोल्दै विज्ञहरूले भौतिक संरचना निर्माणसँगै स्थानीयको जीविकोपार्जन, पूर्वसूचना प्रणाली र नीतिगत कार्यान्वयनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए।

कार्यक्रममा मुख्य वक्ताका रूपमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. गोविन्द राज पोख्रेल, जलवायु परिवर्तन तथा खाद्य सुरक्षा विज्ञ एवं आईपीसीसीकी संयोजक प्रमुख लेखिका डा. शोभा पौडेल र विपत् जोखिम न्यूनीकरण विज्ञ मनबहादुर थापाले आ–आफ्नो अध्ययन र अनुभव प्रस्तुत गरेका थिए।

‘रेड जोन’ पहिचान र संस्थागत सक्रियता आवश्यकः डा. गोविन्द राज पोख्रेल

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. गोविन्द राज पोख्रेलले बाढी गएको तीन महिना पुग्न लाग्दा पनि पुनर्निर्माणको काम ‘बिजनेस एज युजुअल’ (सामान्य अवस्थाकै शैली) मा सीमित रहेको टिप्पणी गरे । सन् २०१५ को भूकम्पपछि एक महिनाभित्रै पीडीएनए प्रतिवेदन तयार गरी अन्तर्राष्ट्रिय सहयोग जुटाएको स्मरण गर्दै उनले यसपटक सरोकारवाला, विज्ञ र विकास साझेदारसँग पर्याप्त समन्वय नदेखिएको बताए।

डा. पोख्रेलले नदी किनारको ‘फ्लड रिस्क रेड जोन’ स्पष्ट रूपमा परिभाषित गरी मुआब्जासहित निजी जग्गा अधिग्रहण गर्नुपर्ने, जलविद्युत तथा सडक संरचनाको नयाँ मापदण्ड बनाउनुपर्ने र रसुवाका विस्थापितहरूको सुरक्षित पुनर्वासका लागि जग्गा प्राप्ति प्रक्रिया छिटो टुङ्ग्याउनुपर्ने बताए। करिब ३०० मेगावाट हाराहारीको जलविद्युत क्षमता र उत्तरी व्यापारिक नाका अवरुद्ध हुँदा अर्थतन्त्र, रोजगारी र पर्यटनमा गहिरो असर परेको उल्लेख गर्दै उनले राष्ट्रिय योजना आयोग, विपद् प्राधिकरण र मन्त्रालयहरूबीच स्पष्ट भूमिका र द्रुत कार्यसम्पादन आवश्यक रहेको बताए ।

‘कृषि, खाद्य सुरक्षा र लैङ्गिक संवेदनशीलतामा ध्यान दिन आवश्यक’

जलवायु परिवर्तन तथा खाद्य सुरक्षा विज्ञ डा. शोभा पौडेलले विपद्पछि भौतिक संरचनाको क्षति मात्र हेर्दा कृषि, पोषण र सीमान्तकृत समुदायका सूक्ष्म तर गम्भीर समस्या ओझेलमा पर्ने बताइन्। बाढीले करिब १,८०० हेक्टर खेतीयोग्य जमिन बगाउँदा साढे सात हजार टन बराबरको अन्नबाली नोक्सान भएको र १०५ वटा पुल तथा राजमार्ग अवरुद्ध हुँदा खाद्य आपूर्ति शृङ्खला नै प्रभावित भएको उनको अध्ययनले देखाएको छ।

पानी नपरीकनै ‘आइस–रक एभलाञ्चे’ जन्य फरक प्रकृतिको विपद् आउँदा विद्यमान पूर्वसूचना प्रणाली र जोखिम सञ्चार प्रभावकारी हुन नसकेको उल्लेख गर्दै डा. पौडेलले स्थानीय भाषामा स्पष्ट सन्देश र नियमित अभ्यास (ड्रिल) आवश्यक रहेको बताइन्। प्रभावित परिवार अझै आश्रयस्थल र परनिर्भरतामा बाँच्नुपरेको भन्दै उनले महिला, बालबालिका, गर्भवती, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिको संरक्षणका लागि लैङ्गिक तथ्याङ्क अद्यावधिक गर्न, संयुक्त जग्गा स्वामित्व प्रोत्साहन गर्न तथा बीउबिजन, मल र सहुलियतपूर्ण ऋणमार्फत कृषि एवं साना व्यवसाय पुनर्जीवित गर्न सुझाव दिइन्।

योजना होइन कार्यान्वयन र ‘जीवनको पुनर्निर्माण’ जरुरी

विपत् जोखिम न्यूनीकरण विज्ञ मनबहादुर थापाले नेपालमा नीति, कानुन र स्थानीय विपत् योजनाहरू प्रशस्त बने पनि कार्यान्वयन र मूल्याङ्कन पक्ष अत्यन्त कमजोर रहेको बताए । विपतलाई विकासको मूल प्रवाह र वार्षिक बजेट प्रणालीमा नजोड्दा तथा पूर्वतयारीभन्दा विपद्पछिको प्रतिक्रियामा मात्र सीमित रहँदा हरेक वर्ष उस्तै क्षति दोहोरिने गरेको उनको विश्लेषण छ ।

सन् २००४ को सुनामीपछिको इन्डोनेसिया र श्रीलङ्काको अनुभव सुनाउँदै थापाले पुनर्निर्माणलाई केवल भौतिक पूर्वाधार निर्माणमा सीमित नराखी ‘जीवनको पुनर्निर्माण’ का रूपमा बुझ्नुपर्नेमा जोड दिए । जोखिम मूल्याङ्कन नगरी गरिने स्थानान्तरणले पुनः विपद् निम्त्याउने चेतावनी दिँदै उनले बस्ती स्थानान्तरण गर्दा रोजगारी, शिक्षा, स्वास्थ्य, खानेपानी र बजारजस्ता आधारभूत सेवा सुनिश्चित गर्नुपर्ने तथा बालुवा–गेग्रान थुप्रिएको जमिनमा तत्काल खेती र जीविकोपार्जनका विकल्प दिनुपर्ने बताए ।

कार्यक्रम समापन गर्दै जय नेपाल अन्तर्राष्ट्रिय फाउन्डेसनका अध्यक्ष डा. यादव पण्डितले विश्वभर छरिएर रहेका नेपाली विज्ञहरूको ज्ञान र सीपलाई एकापसमा आदानप्रदान गर्दै नेपालको नीति निर्माण र विकासमा जोड्नु संस्थाको मुख्य उद्देश्य रहेको बताए ।

फाउन्डेसन गैरराजनीतिक संस्थाका रूपमा सरकार, राजनीतिक दल र सरोकारवाला सबै निकायसँग सहकार्य गर्दै अघि बढिरहेको उल्लेख गर्दै उनले भोटेकोशी बाढीपीडितका लागि विभिन्न संस्थामार्फत आर्थिक तथा मानवीय सहयोग जुटाइएको जानकारी दिए । आफ्नो फाउन्डेसनले अरूले गरिरहेका काम नदोहोरिने गरी अभाव देखिएका क्षेत्रमा रचनात्मक योगदान गर्ने प्रतिबद्धता जनाउँदै डा. पण्डितले आगामी दिनमा विपद् व्यवस्थापनसम्बन्धी सरकारी निकाय र विज्ञहरूसँग थप संवाद र सहकार्य जारी राख्ने बताए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू