तमुधिं यूके गुडविल एम्बास्डर एरिका वर्षकै उत्कृष्ट महिला खेलाडी घोषित

लन्डन- तमुधिं यूकेकी गुडविल एम्बास्डर तथा नेपाली राष्ट्रिय कराते टोलीकी स्टार खेलाडी एरिका गुरुङ ‘हाम्रो खेलकुद’ डटकमको ११औँ वार्षिकोत्सवका अवसरमा महिलातर्फ वर्षको उत्कृष्ट खेलाडी घोषित भएकी छन्।
मंगलबार काठमाडौंमा आयोजित विशेष समारोहमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रामचरित्र मेहता र नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठ ले एरिकालाई अवार्ड तथा सम्मान प्रदान गरे। अवार्डसँगै उनले नगद रु. २५ हजार पनि प्राप्त गरिन्।
पछिल्ला केही वर्षयता नेपाली करातेमा उत्कृष्ट प्रदर्शन गर्दै आएकी एरिका अन्तर्राष्ट्रिय स्तरमा नेपालको पहिचान स्थापित गर्ने सफल खेलाडीका रूपमा परिचित छिन्। उनले १९औँ एसियाली खेलकुद २०२३मा महिला ६८ केजी प्लस कुमिते स्पर्धामा ऐतिहासिक रजत पदक जित्दै २५ वर्षपछि नेपाललाई एसियाडको व्यक्तिगत स्पर्धामा रजत पदक दिलाएकी थिइन्।
अष्ट्रेलियन ओपन कराते च्याम्पियनसिप–२०२५ मा स्वर्ण पदक जितेकी एरिकाले कराते–१ प्रिमियर लिग–२०२५ (रबाट, मोरक्को) मा कांस्य पदक जित्दै उक्त प्रतिष्ठित प्रतियोगितामा नेपालका लागि पहिलो पदक जित्ने इतिहास पनि रचेकी छन्। यसअघि यूएसए ओपन इन्टरनेशनल कराते च्याम्पियनसिपमा समेत स्वर्ण र रजत पदक जितेर उनले नेपालको गौरव अन्तर्राष्ट्रिय मञ्चमा उँचो बनाएकी छन्।
संस्थाकी गुडविल एम्बास्डर समेत रहेकी एरिका वर्षकै उत्कृष्ट खेलाडी घोषित भएकोमा तमुधिं यूके अध्यक्ष जुमकाजी गुरुङले खुशी व्यक्त गर्दै बधाई एवं शुभकामना दिएका छन्।
एरिकाले खेलकुदमार्फत अन्तराष्ट्रिय स्तरमा नेपालको प्रतिष्ठा बढाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएकोमा आफूहरु गौरवान्वित रहेको अध्यक्ष गुरुङले बताएका छन्।
आगामी दिनमा पनि एरिकाले अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा नेपालको गौरव अझ उँचो बनाउने विश्वास तमुधिं यूकेको छ।
यसैबीच, सोही समारोहमा पुरुषतर्फ राष्ट्रिय क्रिकेट टोलीका दीपेन्द्रसिंह ऐरी वर्ष उत्कृष्ट खेलाडी घोषित भए। उनको अनुपस्थितिमा राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान इन्दु वर्माले अवार्ड ग्रहण गरिन्। राखेपका उपाध्यक्ष विशाल श्रेष्ठ र भाटभटेनी होल्डिङ्सका निर्देशक कल्याण गुरुङ ले सम्मान प्रदान गरेका थिए। दीपेन्द्रले पनि अवार्डसहित रु. २५ हजार प्राप्त गरे।
‘हाम्रो खेलकुद’ले आफ्नो सातौँ वार्षिकोत्सवदेखि उत्कृष्ट खेलाडी सम्मान कार्यक्रम सञ्चालन गर्दै आएको छ भने गत वर्षदेखि हाम्रो खेलकुद कन्क्लेभ समेत आयोजना गर्दै आएको छ।


सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


