मंगलबार, ४ अगस्ट, २०२६
14:09 | १८:५४

रेडिङमा १२० वर्षयताकै उच्च तापक्रम, घमाइलो र सुख्खा महिना बन्यो जुलाई

नेपाली लिङ्क अगस्ट ४, २०२६

लण्डन। बेलायतमा जारी अत्यधिक गर्मीका बीच रेडिङ विश्वविद्यालयले गत जुलाई महिनालाई १२० वर्षअघि (सन् १९०८ देखि) अभिलेख राख्न सुरु गरिएयताकै सबैभन्दा तातो, घमाइलो र सुख्खा महिना घोषणा गरेको छ।

विश्वविद्यालयको एटमस्फेरिक अब्जर्भेटरीका विज्ञहरूले जुलाईलाई ‘असाधारण महिना’ को संज्ञा दिँदै उक्त महिनामा कुल ३५९ घण्टा घाम लागेको र औसत दैनिक तापक्रम २१.२ डिग्री सेल्सियस पुगेको जनाएका छन्। यसअघि सन् २००६ को जुलाईमा कायम भएको कीर्तिमानसमेत यसपटक भङ्ग भएको छ।

रेडिङ आसपासका केही क्षेत्रमा जुलाईभर मापन गर्न सकिने वर्षा नै भएन। सन् १८५८ देखि स्थानीय वर्षाको अभिलेख राख्न थालिएयता यस्तो अवस्था पहिलोपटक देखिएको हो। जुलाईका केवल दुई दिन मात्र तापक्रम २५ डिग्री सेल्सियसभन्दा कम रह्यो भने आठ दिन तापक्रम ३० डिग्री सेल्सियसभन्दा माथि पुगेको थियो। यस वर्ष हालसम्म १६ दिन तापक्रम ३० डिग्री सेल्सियसभन्दा माथि पुगिसकेको छ, जसले सन् १९७६ मा कायम भएको १४ दिनको रेकर्डलाई समेत तोडेको छ।

रेडिङ विश्वविद्यालयकी मौसम विज्ञान तथा जलवायु विज्ञानकी प्राध्यापक हाना क्लोकका अनुसार यो अवस्था जलवायु परिवर्तन नियन्त्रणका लागि पर्याप्त काम नभइरहेको गम्भीर सङ्केत हो। उनले जीवाश्म इन्धनको प्रयोग रोक्न र बढ्दो गर्मी तथा खडेरीसँग जुध्न तत्काल अनुकूलनका उपायहरू अपनाउनुपर्नेमा जोड दिएकी छन्। ‘यो समस्या हामीले आफैँ सिर्जना गरेका हौँ र विज्ञानले लामो समयदेखि यसको चेतावनी दिँदै आएको छ, प्रा. क्लोकले भनिन्।

लामो समयसम्मको उच्च तापक्रम र वर्षाको अभावका कारण पानीका भण्डारहरू तीव्र रूपमा घटेका छन्। बेलायतको वातावरण एजेन्सीले यस अवस्थालाई ‘फ्ल्यास ड्राउट’ अर्थात् आकस्मिक खडेरीको संज्ञा दिएको छ।

वैज्ञानिकहरूका अनुसार जलवायु परिवर्तनले गर्दा खडेरी अझ गम्भीर र दीर्घकालीन बन्न सक्ने जोखिम बढेको छ। पानीको चरम अभाव उत्पन्न भएपछि साउदर्न वाटर, साउथ इस्ट वाटर र थेम्स वाटरसहित इंग्ल्याण्डका प्रमुख पानी प्रदायक कम्पनीहरूले सर्वसाधारणका लागि होसपाइप प्रयोगमा अस्थायी प्रतिबन्ध लगाएका छन्।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू