राष्ट्रिय शोक, गोर्खाली स्वाभिमान र वंशजको नागरिकताको निरन्तरता


”संसारका सर्वोच्च शिखरहरूमा नेपालको झण्डा फहराउने वीरलाई जिउँदो छँदा गैर-नागरिकको बिल्ला भिराउने, अनि अस्ताएपछि मात्र ‘वीर सपूत’ भन्दै शोक सन्देश छाप्ने—यो कस्तो विडम्बना हो?”
अपूरणीय क्षति र विश्वव्यापी स्तब्धता
विश्व कीर्तिमानी पर्वतारोही एवम् अदम्य साहसी नेपालीका शान निर्मल पुर्जा (निम्सदाई) को हालै पाकिस्तानको ‘ब्रोड पिक’ मा हिमपहिरोमा परी भएको दुःखद निधनले सिङ्गो विश्व पर्वतारोहण जगत्लाई मर्माहत बनाएको छ। ६ महिना ६ दिनमा संसारका १४ वटा आठ हजार मिटरभन्दा अग्ला हिमाल सफलतापूर्वक आरोहण गरेर विश्वलाई नै चकित पारेका निम्सदाईले आफ्नो अद्भूत आँट, अनुशासन र समर्पणमार्फत नेपाल र गोर्खालीको पहिचान संसारको कुना-कुनामा पुर्याए।
उनको निधनपश्चात् नेपाल सरकार, राजनीतिक नेतृत्व र बुद्धिजीवी वर्गबाट शोक सन्देशको बाढी नै आयो। उनलाई “नेपालको वीर सपूत”, “राष्ट्रको गौरव” र “अमर नायक” भन्दै श्रद्धाञ्जली अर्पण गरियो। तर, यो औपचारिक आदर र सम्मानको तडकभडक पछाडि एउटा यस्तो तितो सत्य लुकेको छ, जसले हरेक देशभक्त नेपालीको छाती पोलिरहेको छ।
राज्यको दोहोरो चरित्र र इतिहासको विडम्बना
निर्मल पुर्जा एक भूतपूर्व ब्रिटिस गोर्खा सैनिक थिए। सन् १८१६ को सुगौली सन्धि र सन् १९४७ को त्रिपक्षीय (नेपाल-भारत-ब्रिटेन) सम्झौताको ऐतिहासिक पृष्ठभूमिमा टेकेर लाखौँ नेपाली युवा बेलायती र भारतीय सेनामा भर्ती हुन बाध्य भए। स्वदेशमा पर्याप्त रोजगारी र अवसर नहुँदा, राज्य स्वयंले गरेका अन्तर्राष्ट्रिय सन्धि-सम्झौताका कारण विदेशी सेनामा पसिना र रगत बगाउन पुगेका गोर्खालीहरूले सधैँ नेपालकै शिर उँचो बनाए।
सेवाको प्रकृति र सेवानिवृत्तिपछि बेलायत सरकारले दिएको आवासीय अधिकार तथा नागरिकता लिनु उनीहरूको बाध्यात्मक परिस्थिति बन्यो। तर, नेपालको विद्यमान संवैधानिक र कानुनी व्यवस्थाले आफ्नै माटोमा जन्मेका र नेपालकै नाममा विश्वमा पहिचान बनाएका ती सपूतहरूको वंशजको नेपाली नागरिकता खोस्यो।
निर्मल पुर्जा जीवित रहँदासम्म उनलाई कानुनी रूपमा ‘गैर-नेपाली’ बनाइयो। तर, उही व्यक्तिले हिमालको चुचुरोमा नेपालको झण्डा फहराउँदा र उही व्यक्तिको भौतिक शरीर अस्ताउँदा भने राज्यलाई उनी “नेपाली गौरव” नै चाहियो। यो दोहोरो मापदण्ड र ढोंगलाई निर्मल पुर्जाको योगदान र देशभक्त नेपालीहरूले कहिल्यै बिर्सने छैनन्।
निष्कर्ष: अब ढिलाइ नगरियोस्
निर्मल पुर्जाको साहसिक गाथा र बलिदान इतिहासको पानामा सधैँ अमर रहनेछ। तर, उनी जस्ता वीरहरूलाई अस्ताएपछि मात्र “राष्ट्रको गहना” भन्ने र जिउँदो छँदा नागरिकता खोसेर अङ्गीकृत वा विदेशी बनाउने राज्यको विभेदकारी नीतिको अन्त्य हुनैपर्छ।
ब्रिटिस गोर्खाली र उनीहरूका सन्ततिमाथि भएको यो ऐतिहासिक अन्यायलाई सच्याउनु नै निर्मल पुर्जा लगायत सम्पूर्ण अमर गोर्खालीहरूप्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ। “एक पटकको नेपाली, सधैँको नेपाली” भन्ने मूल मन्त्रलाई कागज र भाषणमा मात्र होइन, देशको संविधानमै वंशजको नागरिकताको निरन्तरता सुनिश्चित गरी लिपिबद्ध गर्न अब अलिकति पनि विलम्ब गरिनु हुँदैन ।
– सन्तोष थलङ


