सोमबार, ३ अगस्ट, २०२६
11:02 | १५:४७

बेलायतको स्कन्द भेलमा स्व. पण्डित पोख्रेलको जीवनीमा आधारित पुस्तक लोकार्पण

नेपाली लिङ्क अगस्ट ३, २०२६

लन्डन – शिक्षा तथा संस्कृतिविद् स्व. पण्डित बालमुकुन्द पोख्रेलको जीवन र योगदानमाथि आधारित साहित्यकार दुर्गाप्रसाद पोख्रेलको हालै प्रकाशित पुस्तक “बुबा: केही जीवनी, केही सञ्जीवनी” एक विशेष समारोहबीच बेलायतको रमणीय धार्मिक पर्यटकीय स्थल स्कन्द भेलमा लोकार्पण गरिएको छ।

स्व. बालमुकुन्द पोख्रेलको २५औं पुण्यतिथिको अवसरमा प्रकाशित उक्त कृति नेपाली पण्डित संघ युकेका पदाधिकारीहरूको उपस्थितिमा संस्थाका अध्यक्ष पण्डित चिरन्जीवि ढकालले विमोचन गरेका हुन् ।

विमोचनका क्रममा अध्यक्ष ढकालले आचार्य दुर्गाप्रसाद पोख्रेलले आफ्ना बुबाबारे पुस्तक लेखेर पितृप्रतिको श्रद्धा र सम्मान प्रकट गर्दै समाजलाई प्रेरणा दिने काम गरेको बताए । उनले स्व. पण्डित पोख्रेलको जीवन, आदर्श र कर्मबाट आजको समाज र नयाँ पुस्ताले प्रशस्त मार्गदर्शन पाउन सक्ने उल्लेख गरे।

कार्यक्रममा संस्थाका सल्लाहकार एवं लेखक आचार्य दुर्गाप्रसाद पोख्रेलले उपस्थित सबैलाई धन्यवाद ज्ञापन गरे ।

कार्यक्रममा बेलायतका विभिन्न स्थानमा कार्यरत आचार्य पण्डित गुरुहरूको उल्लेख्य उपस्थिति थियो। पण्डितहरु नारायण गाउँले, नीलहरि घिमिरे, गोविन्द नेपाल, शेखर शाण्डिल्य, विनोद पन्थी, थानेश्वर पाण्डे, अर्जुन पाण्डे, वासुदेव सापकोटा, गणेश सुवेदी, पवन दाहाल, कीर्तिविलास पन्त, होमनाथ पौडेल, आनन्द लोहनीलगायत सहभागी थिए।


पण्डित संघले स्कन्द भेलस्थित मन्दिरमा विशेष पूजा-अर्चना समेत गरेको थियो। वरिष्ठ स्वामीहरू र सन्यासीहरूको सामूहिक समुदायद्वारा सञ्चालित यस विश्वप्रसिद्ध आश्रमका सन्यासी तथा व्यवस्थापकहरूले नेपाली पण्डित टोलीलाई भव्य स्वागत गरेका थिए।

सो अवसरमा पण्डित गुरुहरूको सामूहिक स्वस्ति वाचनले मन्दिर परिसर गुञ्जायमान भएको थियो। सन् १९७३ मा गुरु श्री सुब्रमनियमद्वारा स्थापित यस आश्रममा रहेको मुरगन मन्दिरमा नेपाली पण्डितहरूले विश्व शान्तिको कामना गर्दै अर्चना पश्चात् परिक्रमा समेत गरेका थिए।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू