शनिबार, ८ अगस्ट, २०२६
17:28 | २२:१३

एनआरएनए स्कटल्यान्डको आयोजनामा ग्लास्गोमा ‘खेलकुद महोत्सव’ हुँदै

नेपाली लिङ्क अगस्ट २, २०२६

ग्लास्गो- गैरआवासीय नेपाली संघ (एनआरएनए) स्कटल्यान्डले यही १० अगस्ट २०२६ मा ‘खेलकुद महोत्सव–२०२६’ आयोजना गर्ने भएको छ।

स्कटल्यान्डको ग्लास्गो पेस्लीस्थित रल्स्टन कम्युनिटी स्पोर्ट्स सेन्टरमा हुने महोत्सवमा वयस्क फुटबल, १२ वर्षमुनिका बालबालिकाको फुटबल, भलिबल, पुरुष तथा महिला दौड, रिले दौड आदि खेल संचालन गरिनेछ। साथै, घैँटो फोर्ने, तातो आलुलगायतका मनोरञ्जनात्मक खेलहरू पनि महोत्सवमा समावेश गरिएका छन्।

आयोजकका अनुसार ग्लास्गो, एडिनबरा, फल्कर्क, एबरडिनलगायत विभिन्न स्कटिस सहरबाट खेलाडी तथा नेपाली समुदायको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ। महोत्सवले खेलकुदमार्फत नेपाली समुदायबीच आपसी एकता, भाइचारा र सद्भाव अभिवृद्धि गर्नुका साथै नयाँ पुस्तालाई नेपाली भाषा, संस्कृति र परम्परासँग जोड्न महत्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ।

एनआरएनए स्कटल्यान्डले महोत्सवको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। खेल मैदान व्यवस्थापन, रेफ्री तथा अम्पायर छनोटसहित आवश्यक प्राविधिक तयारी पूरा भइसकेको आयोजकको भनाइ छ।

एनआरएनए स्कटल्यान्डका अध्यक्ष शेर केसी र खेलकुद संयोजक पदम खरेलले स्कटल्यान्डमा रहेका सम्पूर्ण नेपाली समुदाय, खेलाडी, संघसंस्था तथा शुभेच्छुकहरूलाई कार्यक्रममा सहभागी भई महोत्सव सफल बनाउन आग्रह गरेका छन्।

खेलकुदमार्फत नेपाली समुदायबीचको एकता, संस्कृति र नयाँ पुस्तासँगको सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यका साथ महोत्सव आयोजना गर्न लागिएको आयोजकको भनाइ छ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू