शनिबार, १ अगस्ट, २०२६
22:22 | ०३:०७

बेलायतमा सात दिने चक्र विज्ञान सम्पन्न, ऐश्वर्य विज्ञान कार्यशाला सुरु

नेपाली लिङ्क अगस्ट १, २०२६

लन्डन – ‘आरोग्य र समृद्धिको लागि स्व–जागरण’ भन्ने मूल नाराका साथ आयोजित सात दिने चक्र विज्ञान कार्यक्रम लन्डनमा शुक्रबार सम्पन्न भएको छ।

जीवन विज्ञानका संस्थापक एवम् जीवन विकास विशेषज्ञ गुरुदेवद्वय एल पी भानु शर्मा तथा रमेश नेपालद्वारा प्लमस्टिड म्यानर स्कुल, लन्डनमा गत २५ जुलाईदेखि ३१ जुलाईसम्म चक्र विज्ञान कार्यशाला संचालन गरिएको थियो ।

कार्यशाला समुद्घाटन बेलायतका लागि नेपालका कार्यवाहक राजदूत बिपिन दुवाडी तथा गुरुदेवद्वयले गरेका थिए ।

यी सात दिन सहभागीहरूले केवल चक्रहरूको ज्ञान मात्र प्राप्त गरेनन्, आफ्नो आन्तरिक ऊर्जा, चेतना र असीम सम्भावनासँग प्रत्यक्ष साक्षात्कार गर्ने जीवन्त यात्रा अनुभव गरे ।

‘यस कार्यक्रमले फेरि एकपटक स्पष्ट सन्देश दिएको छ— मानव चेतनाको कुनै सीमा हुँदैन । ध्यानको कुनै भाषा हुँदैन । आरोग्य सम्पूर्ण मानवताको साझा आवश्यकता हो’, गुरु एलपी भानु शर्माले भने– ‘हिमालयको काखबाट जन्मिएको जीवन विज्ञान आज विश्वका विभिन्न देशमा फैलिँदै नेपालको आरोग्य, योग, ध्यान र चेतनामूलक जीवनशैलीलाई विश्व समुदायसँग जोड्ने सेतु बनिरहेको छ ।’

गुरु रमेश नेपालले लन्डनको यो सफलता केवल एउटा कार्यक्रमको सफलता मात्र नभएर नेपाललाई विश्वको आरोग्य र आध्यात्मिक गन्तव्यका रूपमा स्थापित गर्ने अभियान—‘नेपाल आरोग्य’—को एउटा महत्त्वपूर्ण उपलब्धि पनि भएको बताए ।

नेपालले विश्वलाई केवल हिमाल मात्र होइन, आरोग्य, शान्ति, ध्यान र चेतनाको जीवनदर्शन पनि दिनसक्ने उनको भनाइ थियो ।

शनिबार १ अगष्टदेखि सुरु भएको ऐश्वर्य विज्ञान कार्यक्रममार्फत गुरुदेवद्वयको प्रत्यक्ष प्रशिक्षणमा साधकहरु स्वास्थ्य, शान्ति, समृद्धि र आन्तरिक ऐश्वर्यको अर्को गहन यात्रामा अघि बढ्ने आयोजकले जनाएका छन् ।

‘निस्वार्थ सेवामार्फत मानव मात्रको चेतनास्तर उकास्न आफ्नो सम्पूर्ण जीवन समर्पित गर्नु भएका श्रद्धेय गुरुदेवद्वयको समुपस्थितिमा चक्र विज्ञान भव्य रुपमा सम्पन्न गर्न सघाउने सम्पूर्ण मित्रहरु र स्वयम् सेवकहरु प्रति हामी आभारी छौं। ऐश्वर्य विज्ञान कार्यशाला साधकहरुको जीवनमा सकारात्मक रुपान्तरण ल्याउन सफल हुने हाम्रो विश्वास छ’, जीवन विज्ञान यूकेकी योग प्रशिक्षक सरिता शर्माले भनिन् ।

थप जानकारीका लागि:

https://jeevanvigyan.org/en/uk

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू