शुक्रबार, ३१ जुलाइ, २०२६
10:33 | १५:१८

आइतबार लन्डनमा हुने माया टी १० क्रिकेटमा आउँदै पल शाह

नेपाली लिङ्क जुलाइ ३१, २०२६

लन्डन- आइतबार लन्डनमा सञ्चालन हुने दोस्रो माया टी १० क्रिकेट प्रतियोगितामा अभिनेता पल शाह पनि उपस्थित हुने भएका छन्।

आयोजक माया इभेन्टस एवम् माया क्रिकेट क्लबका संस्थापक राज पाण्डेका अनुसार प्रतियोगितामा विशेष आकर्षणका रुपमा अभिनेता शाह उपस्थित हुने भएका हुन्।

प्रतियोगितास्थलमा दर्शकलाई अभिनेता शाहसंग भेट्ने, कुराकानी गर्ने र तस्विर खिचाउने अवसर मिल्नेछ।

‘राष्ट्रिय स्तरका थुप्रै क्रिकेटरहरुलाई प्रत्यक्ष भेट्ने र उनीहरुको खेल हेर्ने अवसर त छंदैछ, थप आकर्षणका रुपमा लोकप्रिय अभिनेता पल शाहलाई पनि प्रस्तुत गर्दैछौं’, बेलायतवासी नेपालीहरुलाई पाण्डेको आग्रह छ, ‘सबैजना आउनुहोस्, रमाइलो गर्नुहोस् । क्रिकेटको आनन्दसंगै अभिनेता पल शाहलाई भेट्ने र तस्विर लिने मौकाको पनि लाभ उठाउनुहोस् ।’

माया इभेन्टसको आयोजनामा पश्चिम लन्डनको वेकम्ब हाउस क्रिकेट क्लबको मैदानमा तय प्रतियोगितामा नेपालका राष्ट्रिय स्तरका आधा दर्जन क्रिकेटर सहभागी हुंदैछन् ।

प्रतियोगिताको ब्रान्ड एम्बासाडरका रूपमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्टार अलराउन्डर गुल्सन झा आउँदैछन्।नेपाली राष्ट्रिय टोलीका खेलाडी भीम सार्की, अर्जुन साउद र रिजन ढकालल पनि माया क्रिकेट क्लबबाट प्रतिस्पर्धा खेल्दैछन्। त्यसैगरी, राष्ट्रिय टोलीका इशान पाण्डे र विनोद भण्डारी एभरेस्ट राइनोजबाट खेल्ने तय भएको छ।

यसपटक प्रतियोगितामा गौतमबुद्ध क्रिकेट क्लब, एभरेस्ट राइनोज, माया क्रिकेट क्लब, साथी क्रिकेट क्लब, गोर्खा केन्ट क्रिकेट क्लब र मिडल्यान्ड्स वारियर्स क्लब गरी बेलायतभरका छ टोलीले प्रतिस्पर्धा गर्दैछन्।

प्रतियोगिताको विजेता टोलीले ३ हजार पाउण्ड नगद पुरस्कार प्राप्त गर्नेछ। नेपाली समुदायकै सबैभन्दा ठूलो पुरस्कार राशि, राष्ट्रिय खेलाडीहरूको सहभागिता र प्रतिस्पर्धात्मक टोलीहरूको सहभागिताका साथमा अभिनेता पल शाह समेतको उपस्थितिले यस वर्षको माया टी–१० प्रतियोगिता थप विशेष बन्ने अपेक्षा गरिएको छ।

प्रतियोगितास्थलमा नेपाली खाना तथा विभिन्न मनोरञ्जन र बालबालिकाका लागि फेस पेन्टिङ, बाउन्सी क्यासललगायतका आकर्षणहरू पनि रहनेछन्।

प्रतियोगिता हेर्न दर्शकलाई प्रवेश निशुल्क छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू