बेलायतको गुल्मेली भेला आइतबार, प्रकाश दूतराजदेखि प्रोसेस पाण्डेसम्मको आकर्षण

लन्डन- बेलायतमा बस्ने गुल्मेलीहरुको वार्षिक भेला यही आइतबार अगष्ट २ तारिखमा हुंदैछ।
लन्डन फेल्थामको ब्रावेल्स लेनस्थित स्प्रीङवेष्ट एकेडेमी परिसरमा हुने १८ औं वार्षिक भेलाका लागि तयारीका कार्य अन्तिम चरणमा पुगेको समाजले जनाएको छ ।
भेला संयोजक एवम् समाजका उपाध्यक्ष रि क्याप्टेन तामबहादुर ढेगाका अनुसार भेलामा प्रमुख आकर्षण नेपालका ख्यातिप्राप्त राष्ट्रिय कलाकारहरुको सांगीतिक प्रस्तुति रहनेछ । पछिल्लो समयका लोकप्रिय गायक प्रकाश दूतराज, भोइस् अफ नेपाल सिजन ६ का विजेता प्रोसेस पाण्डे, गायिकाहरु सम्झना भण्डारी र पुनम गुरुङ तथा डान्सर सरिष्मा मगरजस्ता राष्ट्रिय स्तरका चर्चित कलाकारले प्रस्तुति गर्ने भएका छन्।
भेलामा सधैंजस्तै प्रथम नौमती बाजा गुल्मी यूकेले विशेष नौमती बाजाको प्रस्तुति गर्नेछ । त्यस्तै, गुल्मेली ठाडो भाका, सालैजो, झयाउरे, घाटुनाचजस्ता मौलिक नेपाली गीतसंगीतको प्रस्तुति कार्यक्रमको अर्को आकर्षण रहनेछ । त्यसअवसरमा भजनकिर्तनदेखि मौलिक तीजका गीतसम्ममा नाचगान समेत गरिनेछ ।
सोहि अवसरमा विभिन्न स्थानीय कलाकारहरुका तर्फबाट विविध सांस्कृतिक प्रस्तुति पनि गरिनेछ ।
कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाउन होस्टहरु दीपक थापा माइथाने मगर र सुजु शेर्पा पौडेलले तयारी गरिरहेका छन्। साथमा, दर्शक नचाउन डिजे हेम विष्ट त छंदै छन्।

भेला आयोजक समितिका सहसंयोजक एवम् समाजका पूर्व अध्यक्ष वीर बलालले कार्यक्रमका लागि सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको बताए । उनले लोकप्रिय राष्ट्रिय कलाकारहरुको साथमा पूर्ण मनोरन्जनात्मक र गुणस्तरीय कार्यक्रमको लक्ष्य राखेर व्यवस्थापकीय तयारी गरिएको जनाए । बलालका अनुसार कार्यक्रमस्थलमा सुरक्षा, प्राथमिक स्वास्थ्यलगायतका सबै बन्दोबस्ती मिलाइएको छ ।
यस वर्षको भेलामा बेलायतभरबाट झण्डै १५ सय जनाको सहभागिता अपेक्षा गरिएको छ । भेलाका लागि साउथ इष्ट लन्डनबाट दुई तथा नटिङहम, स्कटल्यान्ड र लिभरपुलबाट एक-एक वटा कोच बुक भइसकेका छन् भने थप केही क्षेत्रबाट समेत कोच बुकिङ नै गरेर सहभागी आउने तयारी छ ।
समाजका कोषाध्यक्ष अर्जुन बस्नेतका अनुसार कमर्यक्रममा धेरै सहभागी आकर्षित गर्ने उद्धेश्यले हरेक कोचका लागि समाजका तर्फबाट ५ सय पाउण्डको सहयोग उपलब्ध गराइएको छ । जसबाट सहभागीहरुलाई भारी छुटसहित आवतजावतको व्यवस्था उपलब्ध भएको छ ।
त्यस्तै, हरेक ५० पाउण्ड सहयोग तथा प्रायोजनमा एक र १ सय पाउण्डमा तीन वटाका दरले टिकटको व्यवस्था गरिएको छ ।
कार्यक्रममा सहभागी हुन टिकट शुल्क २० पाउण्ड (प्रि बुकिङ) मा सिमित गरिएको छ । कार्यक्रमकै दिन गेटमा लिंदा भने २५ पाउण्ड लाग्नेछ । बालबालिकाका लागि भने टिकट शुल्क १२ पाउण्ड लाग्नेछ । सोही टिकमा स्टार्टर, मेन कोर्स र डिजर्टसहितको तीन कोर्स खाना उपलब्ध गराइनेछ।
समाजका महासचिव महलाल घिमिरेले बेलायतका लागि नेपाली कार्यवाहक राजदूत विपिन दुवाडी भेलामा प्रमुख अतिथिका रुपमा सहभागी हुने पक्का भएको जानकारी दिए । उनले बेलायतभरका प्रमुख नेपाली संघसंस्था र समुदायका प्रतिनिधिलाई अतिथिका रुपमा निम्त्याइएको पनि जानकारी दिए।
बिहान ११ बजेदेखि बेलुका ८ बजेसम्मलाई कार्यक्रम तय छ । सो अवसरमा आकर्षक पुरस्कारसहितको राफल ड्र, बालबालिकाका लागि मनोरञ्जनात्मक खेलदेखि विभिन्न व्यापार र सेवाका स्टल जस्ता अरु आकर्षण पनि रहनेछन् ।
समाजकी अध्यक्ष मञ्जु भण्डारी खरेलले भेलामा बेलायतभरका सबै गुल्मेली तथा गैरगुल्मेली नेपालीलाई सहभागिताको आव्हान गरेकी छन्।
‘वर्षमा एकपटक आफन्त, साथीभाइ भेट्ने, राष्ट्रिय कलाकारहरुसंगै नाच्दै, गाउँदै रमाउने अवसरको सदुपयोग गर्नुहोला’, अध्यक्ष भण्डारीले भनिन्, ‘त्यसबाहेक गुल्मी जिल्ला र त्यस क्षेत्रमा प्रचलित मौलिक कला, संस्कृति र परम्परा झल्काउने विविध सांस्कृतिक प्रस्तुतिको प्रदर्शनी पनि गरिने भएकाले गैरगुल्मेली पाहुनाहरुका लागि कार्यक्रम झनै रोचक र आकर्षक बन्नेछ भन्ने हाम्रो विश्वास छ ।’

सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


