मंगलबार, ११ अगस्ट, २०२६
14:29 | १९:१४

हिमपहिरोमा प्रख्यात पर्वतारोही निर्मलसहित १० सदस्यीय अन्तर्राष्ट्रिय टोली सम्पर्कविहीन

रासस जुलाइ ३१, २०२६

काठमाडौँ, साउन १५ गते । उत्तरी पाकिस्तानको ब्रोड पिकमा हिमपहिरो जाँदा प्रख्यात पर्वतारोही निर्मल पुर्जा नेतृत्वको १० सदस्यीय अन्तर्राष्ट्रिय आरोहण टोली सम्पर्कविहीन भएको छ ।

पाकिस्तान अल्पाइन क्लबका उपाध्यक्ष करार हैद्रीले बिहीबार राति जारी गरेको विज्ञप्तिअनुसार निर्मल पुर्जाको नेतृत्वमा रहेको आरोहण टोली हिमपहिरोमा परेसँगै सम्पर्क विच्छेद भएको छ ।

नेपाली आरोहीमा निर्मल पुर्जा, पुरबहादुर गुरुङ, निमा शेर्पा, किलीपेम्बा शेर्पा, ग्यालु शेर्पा र नवाङ थिन्डु शेर्पा छन् । त्यसैगरी, विदेशी आरोही सोहेल शाखी (पाकिस्तान), वाङ झोङ (चीन), नादिरा अहमद (ओमान) र म्यालोरी गेइस (अमेरिका) रहेको जनाइएको छ ।

पाकिस्तान अल्पाइन क्लबका अध्यक्ष मेजर जनरल इरफान अरशद तथा क्लबका वरिष्ठ पदाधिकारीहरूले तत्काल खोज तथा उद्धार अभियान सञ्चालनका लागि सरकारी अधिकारीहरूसँग समन्वय गरिरहेका जनाएका छन् ।

बेपत्ता आरोहीको खोजी गर्न नेपाल सरकारको आग्रह

नेपाल सरकारले ब्रोड पिकमा बेपत्ता आरोहीको खोजी गर्न सम्बन्धित निकायसँग आग्रह गरेको छ ।

पाकिस्तानको काराकोरम हिमशृङ्खलामा अवस्थित ८,०४७ मिटर अग्लो ब्रोड पिक आरोहणका क्रममा हिमपहिरोमा परी नेपालीसहित विभिन्न देशका पर्वतारोही बेपत्ता भएको घटनाप्रति संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गहिरो दुःख व्यक्त गर्दै खोजीका निम्ति आग्रह गरेको हो ।

पर्यटन विभागले आज जारी गरेको प्रेस विज्ञप्तिअनुसार साउन १४ गतेको हिमपहिरोपछि बेपत्ता भएका आरोहीहरूको शीघ्र खोज तथा उद्धारका लागि आवश्यक पहल र समन्वय गर्न सरोकार भएका सबैसँग आग्रह गरिएको छ ।

बेपत्ता नेपाली आरोहीहरूको खोज तथा उद्धारका लागि पाकिस्तानस्थित नेपाली दूतावासमार्फत पाकिस्तान सरकारसँग निरन्तर समन्वय भइरहेको विभागले जनाएको छ ।

साथै, खोज तथा उद्धार कार्यसम्बन्धी आधिकारिक जानकारीका लागि सम्बन्धित निकायबाट जारी सूचनामात्र विश्वास गर्न पनि विभागले अनुरोध गरेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू