बेलायतको बाथमा तीन दिने ‘नेपाल क्याम्प‘- जमघट हुंदैछन् तीन सय नेपाली क्याम्पर

लन्डन- बेलायतको पर्यटकीय शहर बाथमा यसै सप्ताहन्त तीन दिने नेपाली क्याम्पिङ इभेन्ट सञ्चालन हुंदैछ।
पोखरेली मञ्च यूकेको आयोजनामा शुक्रबारदेखि आइतबारसम्म हुन लागेको क्याम्प नेपाल २०२६ मा बेलायतवासी तीन सय नेपाली क्याम्परहरुको सहभागिता रहने भएको छ ।
नेपाली संस्कृति, अनुभव र समुदायलाई जोड्ने उद्देश्यसहित आयोजना गरिएको यस इभेन्टमा लाइभ संगीतसहित विभिन्न मनोरञ्जनात्मक गतिविधि पनि रहनेछन्।
आयोजकका अनुसार नेपाल क्याम्पमा सहभागी हुन तीन सय ५० भन्दा बढीले चासो देखाएपनि क्याम्पस्थलको क्षमता सीमित भएकाले पहिलो आउनेलाई पहिलो प्राथमिकता (फर्स्ट कम, फर्स्ट सर्भ) को आधारमा तीन सयलाई मात्र सहभागी गराइएको हो।
आयोजक मञ्चको टोली बिहीबार नै क्याम्पस्थल पुगेर आवश्यक तयारी र व्यवस्थापनमा जुट्दैछ। तीन सय सहभागीको व्यवस्थापनका लागि करिब ९० वटा टेन्ट क्याम्पस्थलमा तयार गरिनेछ। यसअघि पोखरेली मञ्च यूकेले विगतमा वेल्समा आयोजना गर्दै आएको ‘हाइक फर नेपाल’ कार्यक्रमलाई नयाँ स्वरूप दिँदै यस वर्षदेखि ‘नेपाल क्याम्प’ नामबाट अघि बढाउन लागेको हो।
नेपाल क्याम्प २०२६ मा नेपाली संगीत मुख्य आकर्षणमध्ये एक रहनेछ। शनिबार साँझका लागि तय लाइभ सांगीतिक कार्यक्रममा सामथ्र्य ब्यान्डको साथै नेपथ्य ब्यान्डका संस्थापक गायक रविन श्रेष्ठको विशेष प्रस्तुति रहनेछ। श्रेष्ठका ‘छेक्यो छेक्यो देउराली डाँडा’ लगायतका गीत निकै लोकप्रिय छन्।
सो अवसरमा बालबालिकाको लागि विभिन्न खेल, कविता तथा कथावाचन, अनुभव आदानप्रदानलगायतका कयौं गतिविधि समेत सञ्चालन गरिनेछ।
आयोजक मञ्च अध्यक्ष पवित्र गुरुङले बेलायतभरको नेपाली समुदायलाई एकै ठाउँमा जोड्ने उद्देश्यले नेपाल क्याम्प आयोजना गरिएको बताए। उनका अनुसार नेपाल क्याम्प केवल क्याम्पिङ कार्यक्रम मात्र नभई नेपाली संस्कृति, संगीत र आपसी सम्बन्धलाई अझ बलियो बनाउने एउटा साझा अवसर पनि हो।
मञ्चका निवर्तमान अध्यक्ष करम गुरुङले विगतका कार्यक्रमहरूको अनुभवलाई अझ फराकिलो बनाउँदै यस पटक नयाँ स्वरूपमा नेपाल क्याम्प आयोजना गरिएको बताए।
नेपाल क्याम्प २०२६ को संयोजनमा उपाध्यक्ष शेरा गुरुङ, मधु गुरुङ तथा महासचिव विक्रम भट्टराईलगायतको टोली सक्रिय रूपमा खटिएको छ।

सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


