बिहीबार, १६ जुलाइ, २०२६
12:16 | १७:०१

यसरी दुरुपयोग हुन सक्छन् सामाजिक सञ्जालमा राखेका बालबालिकाका तस्विर

नेपाली लिङ्क जुलाइ १६, २०२६

लन्डन- सामाजिक सञ्जालमा तपाईले शेयर गर्नुभएका तपाईंका छोराछोरीका तस्विर कतै कुनै अश्लील वा यौन दुव्र्यवहारसम्बन्धी सामग्रीमा दुरुपयोग त भइरहेका छैनन् ? तस्विर शेयर गर्नुअघि एकपटक सोच्नैपर्ने भएको छ ।

हुन त आजको डिजिटल युगमा आफ्ना छोराछोरीका तस्बिर सामाजिक सञ्जालमा राख्नु सामान्य कुरा बनिसकेको छ । जन्मदिन, विद्यालयको कार्यक्रम होस् वा पारिवारिक घुमघाम, धेरै अभिभावकले ती खुसीका क्षण फेसबुक, इन्स्टाग्राम वा अन्य सामाजिक सञ्जालहरूमा सार्वजनिक गर्नु सामान्य नै हो । तर, अब यही बानीले गम्भीर जोखिम निम्त्याउन सक्ने चेतावनी दिइएको छ ।

बेलायतको नेशनल क्राइम एजेन्सी अर्थात् एनसीए र इन्टरनेट वाच फाउन्डेसनले अभिभावकहरूलाई आफ्ना बालबालिकाका तस्बिर सार्वजनिक रूपमा पोस्ट नगर्न आग्रह गरेका छन् । र, यसो गर्नुको कारण हो– एआईको बढ्दो दुरुपयोग ।

अधिकारीहरूका अनुसार अहिले अपराधीहरूले सामाजिक सञ्जालमा रहेका सामान्य तस्बिरहरू डाउनलोड गरेर एआईको सहायताले अश्लील र यौन दुव्र्यवहारसँग सम्बन्धित नक्कली तस्बिर तथा भिडियो बनाउन थालेका छन् । अझ चिन्ताजनक कुरा के छ भने, त्यस्ता तस्बिर बनाउन बालबालिकाको कुनै निजी वा आपत्तिजनक फोटो नै आवश्यक पर्दैन ।
सामान्य मुस्कानसहितको एउटा सार्वजनिक फोटो पनि पर्याप्त हुन्छ ।

इन्टरनेट वाच फाउन्डेसनका अनुसार सन् २०२५ मा मात्रै एआईमार्फत बनाइएका बाल यौन दुव्र्यवहारसँग सम्बन्धित ८ हजारभन्दा बढी तस्बिर र भिडियो फेला परेका छन् । यो अघिल्लो वर्षको तुलनामा करिब १४ प्रतिशतले बढी हो । विशेषगरी एआईबाट बनाइएका भिडियोहरूको संख्या तीव्र रूपमा बढेको बताइएको छ ।

विशेषज्ञहरूका अनुसार अपराधीहरूले विद्यालय, खेलकुद प्रतियोगिता, पारिवारिक समारोह वा सामाजिक सञ्जालमा सार्वजनिक रूपमा राखिएका बालबालिकाका तस्बिरहरू संकलन गरेर तिनलाई एआईको प्रयोगबाट दुरुपयोग गरिरहेका छन् । कतिपय घटनामा यस्ता नक्कली तस्बिर प्रयोग गरेर ब्ल्याकमेल गर्ने प्रयाससमेत भएको बताइएको छ ।

त्यसैले सुरक्षा निकायहरूले केही महत्वपूर्ण सावधानी अपनाउन सुझाव दिएका छन् । सामाजिक सञ्जालको प्राइभेसी सेटिङ पब्लिकबाट प्राइभेटमा परिवर्तन गर्ने, तस्बिरहरू सबैलाई देखिने गरी नराख्ने, केवल विश्वासिला साथीभाइ वा परिवारका सदस्यहरूले मात्र हेर्न मिल्ने बनाउने, पुराना सार्वजनिक पोस्टहरू समीक्षा गरेर आवश्यक परे हटाउने वा प्राइभेट गर्ने, र आफ्ना बालबालिकासँग उनीहरूको फोटो पोष्ट गर्दा हुने जोखिमबारे खुला रूपमा छलफल गर्ने ।

एआईले हाम्रो जीवनलाई धेरै क्षेत्रमा सहज बनाएको छ । तर, यही प्रविधि गलत हातमा पर्दा निर्दोष बालबालिकासमेत जोखिममा पर्न सक्छन् । त्यसैले सामाजिक सञ्जालमा एउटा फोटो पोस्ट गर्नु अघि राम्ररी सोच्नैपर्ने भएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू