पत्रकार महासंघ यूकेको १५औँ स्थापना दिवस तयारी पूरा, सम्मानित व्यक्तित्व सार्वजनिक


लण्डन—नेपाल पत्रकार महासंघ यूके शाखाले यही १० जुलाई शुक्रबार साँझ आयोजना हुने १५औँ वार्षिक उत्सव तथा स्थापना दिवस सफलतापूर्वक सम्पन्न गर्न आवश्यक सम्पूर्ण तयारी पूरा गरेको जनाएको छ।
शाखाको कार्यसमिति बैठकले यस वर्षको ‘वर्ष पत्रकारिता सम्मान २०२६’ बेलायतमा नेपाली पत्रकारिताको प्रारम्भिक चरणदेखि नै सक्रिय रहँदै उल्लेखनीय योगदान पुर्याएका अग्रज पत्रकार सोनाम छिरिङ शेर्पालाई प्रदान गर्ने सर्वसम्मत निर्णय गरेको छ।
संस्थापक अध्यक्ष तथा सल्लाहकार नवीन पोखरेलको संयोजकत्वमा गठित सम्मान सिफारिस समितिको सिफारिसका आधारमा उक्त निर्णय गरिएको हो।
समितिमा वरिष्ठ पत्रकार खगेन्द्र नेपाली, पूर्वअध्यक्ष तथा सल्लाहकार नरेश खपाङ्गी मगर, ध्रुवराज अर्याल तथा शाखा अध्यक्ष विमला सेने सदस्य रहेका थिए।
त्यस्तै, पूर्व गोर्खा सैनिक, विश्व कीर्तिमानी पर्वतारोही, प्रेरणादायी वक्ता तथा अपाङ्गता अधिकार अभियन्ता हरि बुढा मगरलाई अदम्य साहस, दृढ इच्छाशक्ति र समाजमा पुर्याएको प्रेरणादायी योगदानको कदरस्वरूप विशेष सम्मान प्रदान गरिने बैठकले निर्णय गरेको छ।
यसैगरी, नेपाली कला, साहित्य र संस्कृतिको अन्तर्राष्ट्रिय प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउँदै आएकी लेखिका, कवियात्री तथा इन्टरनेशनल एसोसिएसन अफ आर्ट एण्ड कल्चर फर पिस (आइएएसीपी) र युनिभर्सल पिस फेडेरेशन यूकेकी अध्यक्ष डा. संगीता श्रेष्ठ ‘स्वेच्छा’लाई नेपाली साहित्यको सिर्जना, अनुसन्धान तथा अन्तर्राष्ट्रिय प्रवर्द्धनमा पुर्याएको योगदानको सम्मानस्वरूप सम्मान गरिने भएको छ।
बैठकले शाखाको अधिवेशनपछि देखिएको आन्तरिक विवाद समाधान तथा सहजीकरणका लागि नेपाल पत्रकार महासंघ केन्द्रको पत्रअनुसार गठित समितिले पेश गरेको प्रतिवेदन केही परिमार्जनसहित कार्यान्वयन गर्ने निर्णय पनि गरेको छ।
समितिमा अग्रज पत्रकार भगीरथ योगी, पूर्वअध्यक्षहरू नवीन पोखरेल, चिरन शर्मा, नरेश खपाङ्गी मगर, ध्रुवराज अर्याल तथा सदस्य सचिवका रूपमा शाखा अध्यक्ष विमला सेने थिए।
प्रतिवेदनको सिफारिस तथा महासंघको विधानबमोजिम शाखाको नयाँ सदस्यता आगामी अगस्ट २०२६ देखि खुला गर्ने निर्णय पनि बैठकले गरेको छ। यस सम्बन्धी विस्तृत सूचना स्थापना दिवसको कार्यक्रमपछि सार्वजनिक गरिने शाखाले जनाएको छ।
साथै, बैठकले शाखाका संस्थापक सदस्य विपिन निरौलालाई शाखाको सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको छ। निरौलाले विभिन्न माध्यमबाट सार्वजनिक गर्दै आएका भ्रामक सामग्री तथा शाखाको नाममा सञ्चालित इमेल र फेसबुक पेज आत्मालोचनासहित तत्काल बन्द गर्नुपर्ने निर्णय पनि गरिएको छ।
स्थापना दिवसका अवसरमा रक्तदान कार्यक्रम पनि आयोजना गरिने भएकाले इच्छुक व्यक्तिहरूले सम्पर्क गरी नाम दर्ता गराउन शाखाले अनुरोध गरेको छ।
यसै अवसरमा शाखाका वरिष्ठ उपाध्यक्ष तथा कार्यक्रम संयोजक नरेन्द्र बस्नेतको शब्द तथा लय संकलनमा तयार गरिएको पत्रकारिता विषयक थिम गीत पनि सार्वजनिक गरिनेछ। उक्त गीतमा एआई (कृत्रिम बुद्धिमत्ता) को प्रविधिबाट स्वर निर्माण गरिएको हो ।
कार्यक्रम संयोजक बस्नेतका अनुसार शाखाले १०औँ स्थापना दिवसदेखि निरन्तर आफ्नै संयोजनमा स्थापना दिवस आयोजना गर्दै आएको छ।
स्थापना दिवसका अवसरमा सञ्चार, सामाजिक तथा विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने व्यक्तित्वलाई सम्मान तथा पुरस्कृत गर्ने परम्परालाई यस वर्ष पनि निरन्तरता दिइने उनले बताए।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


