मंगलबार, ७ जुलाइ, २०२६
21:04 | ०१:४९

बेलायतको प्रहरी प्रणाली संकटमा, आधारभूत पुनर्गठनकै आवश्यकता

नेपाली लिङ्क जुलाइ ७, २०२६

फाइल तस्विर

लन्डन- बेलायतको प्रहरी नेतृत्वमाथि एक गम्भीर र कडा समीक्षा सार्वजनिक भएको छ । स्वतन्त्र आयोगले सार्वजनिक गरेको नयाँ प्रतिवेदनले इंग्ल्यान्ड र वेल्सको प्रहरी नेतृत्वमा ‘आधारभूत पुनर्गठन’ आवश्यक रहेको निष्कर्ष निकालेको हो ।

पूर्वगृहमन्त्री लर्ड डेभिड ब्लन्केट र पूर्व प्रहरीमन्त्री लर्ड हर्बर्टको नेतृत्वमा तयार गरिएको प्रतिवेदनले प्रहरी संगठनभित्र नेतृत्व कमजोर, अत्यधिक नोकरशाही, जोखिम लिन नचाहने संस्कृति, र अपराध नियन्त्रणभन्दा आन्तरिक राजनीति हाबी भएको उल्लेख गरेको छ ।

रिपोर्टअनुसार हालको प्रहरी प्रणालीमा योग्य नेतृत्व विकास गर्ने संरचना नै कमजोर छ । धेरै प्रहरी बलमा प्रमुख पदका लागि एक जना मात्रै उपयुक्त उम्मेदवार भेटिने अवस्था रहेको बताइएको छ । साथै पदोन्नतिमा पक्षपात, व्यक्तिगत पहुँच र आन्तरिक समूहबन्दीको प्रभाव रहेको आरोप पनि प्रतिवेदनले उठाएको छ ।

रिपोर्टले प्रहरी संगठनभित्र मनोबल कमजोर बन्दै गएको र धेरै अधिकारीहरू नेतृत्वबाट निराश रहेको उल्लेख गरेको छ । इंग्ल्यान्ड र वेल्सका ४३ प्रहरी बलमध्ये कुनै पनि नेतृत्वतर्फ ‘उत्कृष्ट’ श्रेणीमा नपरेको तथ्य पनि सार्वजनिक गरिएको छ । केही बललाई त ‘अपर्याप्त’ श्रेणीमा राखिएको छ ।

बेलायती प्रहरीमाथि लगातार विवाद र आलोचना बढिरहेका बेला प्रहरीबारे नयाँ समीक्षा आएको हो । विशेषगरी सेवा गरिरहेका प्रहरी अधिकारीद्वारा भएका हत्या, यौन अपराध, जातीय विभेद र शक्ति दुरुपयोगका घटनाले जनविश्वासमा ठूलो गिरावट ल्याएको छ ।

प्रतिवेदनले अब प्रहरी नेतृत्वमा ‘नैतिक पुनर्संरचना’ आवश्यक रहेको भन्दै नयाँ राष्ट्रिय नेतृत्व एकेडेमी स्थापना, पदोन्नति प्रणाली परिवर्तन, र नेतृत्व तालिममा ठूलो लगानी गर्न सरकारलाई सुझाव दिएको छ ।

यो प्रतिवेदन करिब २ हजार सर्जेन्ट र इन्स्पेक्टरमाझ गरिएको सर्वेक्षण, विशेषज्ञहरूसँगको राउन्ड–टेबल छलफल, तथा प्रमाणका लागि गरिएको खुला आह्वानमा प्राप्त ४ सयभन्दा बढी प्रतिक्रियाका आधारमा तयार गरिएको हो ।

बेलायती सरकारले भने यो प्रतिवेदनलाई प्रहरी सुधारको आधार बनाइने संकेत दिएको छ । तर आलोचकहरू भने केवल प्रतिवेदन सार्वजनिक गरेर समस्या समाधान नहुने बताइरहेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू