शुक्रबार, ३ जुलाइ, २०२६
19:53 | ००:३८

बेलायतमा अपराधमा संलग्न विदेशीलाई तुरुन्तै देशनिकाला गरिने

नेपाली लिङ्क जुलाइ ३, २०२६

लन्डन- बेलायत सरकारले विदेशी अपराधीहरूमाथि कडा कदम चाल्ने तयारी गरेको छ । अब सामान्य अपराधमा दोषी ठहर भएका विदेशी नागरिकलाई पनि बेलायतबाट निकाल्न सजिलो बनाइने भएको छ ।

नयाँ योजनाअनुसार, जेल सजाय पाएका मात्रै होइन, साना अपराधमा दोषी ठहर भएका विदेशी नागरिकमाथि पनि डिपोर्ट प्रक्रिया अघि बढाउन सकिनेछ । बेलायतको गृह मन्त्रालयले अहिलेको कानुन निकै कमजोर भएको भन्दै यसलाई कडा बनाउन मंगलबार संसद्मा इमिग्रेशन तथा असाइलम विल पेश गरेको छ ।

सरकारका अनुसार, हालसम्म धेरै विदेशी अपराधीहरूले मानव अधिकारसम्बन्धी कानुनको सहारा लिएर डिपोर्ट रोकिरहेका छन् । विशेषगरी ‘फ्यामिली लाइफ’ अर्थात् परिवारसँग बस्ने अधिकारको कारण देखाएर धेरैले बेलायतमै बस्ने अनुमति पाइरहेका छन् ।

तर अब सरकारले ‘सार्वजनिक सुरक्षा पहिले’ भन्ने नीति अघि सारेको छ । नयाँ नियम लागू भएमा अपराध गर्ने विदेशी नागरिकको भिसा तुरुन्त रद्द हुन सक्नेछ, र जेल सजाय पूरा हुनुअघि नै उनीहरूलाई देश निकाला गर्न सकिनेछ ।

बेलायत सरकारले पछिल्ला वर्षहरूमा विदेशी अपराधीहरूको संख्या बढ्दै गएको दाबी गरेको छ । ‘द शन’ मा प्रकाशित एक रिपोर्टअनुसार हजारौँ विदेशी अपराधी अहिले पनि बेलायतमै स्वतन्त्र रूपमा बसिरहेका छन्, जबकि उनीहरूमाथि डिपोर्ट आदेश जारी भइसकेको छ ।

सरकारले यो कदमले जेलको चाप घट्ने, करदाताको पैसा बच्ने र देशको सुरक्षा मजबुत हुने दाबी गरेको छ । गृह मन्त्रालयका अनुसार, ‘यदि तपाईं बेलायत आउनुहुन्छ भने यहाँको कानुन पालना गर्नैपर्छ ।’

तर मानव अधिकारकर्मीहरूले भने यस कदममाथि चिन्ता व्यक्त गरेका छन् । उनीहरूका अनुसार, हतारमा गरिने डिपोर्टले कतिपय मानिसको पारिवारिक र व्यक्तिगत जीवनमा गम्भीर असर पर्न सक्छ ।

कानुनी रूप दिने तयारी भइरहेको यो प्रस्तावबारे संसदमा चर्को बहस हुने अनुमान गरिएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू