ध्वनि चिकित्साद्वारा शरीर, मन र आत्माको सन्तुलन सम्भव छ: श्री बालेश्वरी देवी


लण्डन — नेपालमा साउण्ड हिलिङ (ध्वनि चिकित्सा) लाई व्यवस्थित रूपमा अभ्यास गर्दै आएकी श्री बालेश्वरी देवी अहिले बेलायतमा पनि आफ्नो आध्यात्मिक तथा उपचार सेवाको विस्तार गरिरहनुभएको छ।
काठमाण्डौको लाजिम्पाटस्थित नेपाल हिलिङ तथा मेडिटेशन सेन्टर सञ्चालन गर्दै आउनुभएकी उहाँले विगत पाँच वर्षदेखि साउण्ड हिलिङमार्फत सैयौं व्यक्तिलाई सेवा प्रदान गरिसक्नुभएको छ।
भारतको पवित्र धार्मिक नगरी वृन्दावनमा करिब एक वर्षसम्म संस्कृत, वैदिक दर्शन, योग, ध्यान तथा आध्यात्मिक साधनाको अध्ययन गर्नुभएकी बालेश्वरी देवी निकट भविष्यमा श्रीमद्भागवत कथा वाचन गर्ने तयारीमा पनि हुनुहुन्छ। वृन्दावनको आध्यात्मिक वातावरणले आफ्नो जीवनदृष्टि, सोच र सेवाभावलाई अझ परिष्कृत बनाएको उहाँ बताउनु हुन्छ।
उहाँका अनुसार साउण्ड हिलिङ कुनै नयाँ उपचार पद्धति होइन, बरु हजारौँ वर्ष पुरानो प्राचीन चिकित्सा प्रणाली हो, जसले ध्वनि, कम्पन र ऊर्जाको माध्यमबाट शरीर, मन र चेतनामा सकारात्मक प्रभाव पार्छ। मानव शरीरमा रहेका सात ऊर्जा केन्द्र (चक्र) लाई सन्तुलनमा ल्याउने उद्देश्यले सिङ्गिङ बाउल, मन्त्र र कम्पनको प्रयोग गरिने उहाँ बताउनुहुन्छ।
“शरीरको ऊर्जा प्रणाली सन्तुलित हुँदा मानसिक तनाव कम हुन्छ, मन शान्त बन्छ र शरीरको प्राकृतिक उपचार प्रणाली सक्रिय हुन्छ,” उहाँ भन्नुहुन्छ।
बालेश्वरी देवीका अनुसार मानसिक तनाव, चिन्ता, डर, डिप्रेसन, एन्जाइटी, अनिद्रा, अत्यधिक थकान तथा शरीरका विभिन्न भागमा हुने ऊर्जा अवरोध (ब्लकेज) जस्ता समस्यामा साउण्ड हिलिङ विशेष रूपमा प्रभावकारी मानिन्छ। उहाँको अनुभवमा स्वस्थ व्यक्तिहरूले समेत शरीर र मनको सन्तुलन कायम राख्न यो उपचारबाट लाभ लिन सक्छन्।
‘समग्र स्वास्थ्य सुधार गर्ने प्रभावकारी उपचार पद्धति’
उहाँ साउण्ड हिलिङलाई आधुनिक चिकित्सा प्रणालीको विकल्पभन्दा पनि समग्र स्वास्थ्य सुधार गर्ने प्रभावकारी उपचार पद्धतिका रूपमा लिनुपर्ने बताउनुहुन्छ। आधुनिक चिकित्सा उपचारसँगै सहायक उपचारका रूपमा यसले अझ राम्रो परिणाम दिन सक्ने उहाँको विश्वास छ।
ध्वनि उपचारको उत्पत्ति सृष्टिको आरम्भसँगै जोडिएको धार्मिक एवं आध्यात्मिक मान्यता रहेको छ । नेपाललाई ‘सिङ्गिङ बाउल’ को उद्गमस्थलका रूपमा पनि लिइन्छ। भगवान गौतम बुद्धले ध्यानका क्रममा ध्वनिको प्रयोग गर्नुभएको उल्लेख पाइने र आज पनि बौद्ध परम्परामा सिङ्गिङ बाउलको व्यापक प्रयोग हुने गरेको छ ।
उहाँले मुख्य रूपमा चक्र हिलिङ, फिजिकल हिलिङ तथा साउण्ड बाथमार्फत सेवा प्रदान गर्दै आउनुभएको छ। चक्र हिलिङले शरीरका सात ऊर्जा केन्द्रलाई सन्तुलित बनाउँदै मानसिक शान्ति र आध्यात्मिक विकासमा सहयोग गर्ने उहाँको भनाइ छ। त्यस्तै फिजिकल हिलिङले शरीरका विभिन्न प्रकारका असन्तुलन र असहजता कम गर्न मद्दत पुर्याउने उहाँ बताउनुहुन्छ।
मूलाधार, स्वाधिष्ठान, मणिपुर, अनाहत, विशुद्ध, आज्ञा र सहस्रार गरी सात प्रमुख चक्र रहेको उल्लेख गर्दै उहाँ ती ऊर्जा केन्द्रहरूको सन्तुलनले सम्पूर्ण शारीरिक, मानसिक र आध्यात्मिक स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पार्ने विश्वास व्यक्त गर्नुहुन्छ।
उहाँका अनुसार चक्र सन्तुलनले शरीरमा ऊर्जा प्रवाह सहज बनाउनुका साथै रक्तसञ्चार सुधार गर्न, शरीरलाई विश्राम दिन तथा सम्भावित स्वास्थ्य समस्याको जोखिम कम गर्न सहयोग पुर्याउँछ।
उपचारको अवधि स्वास्थ्य अवस्थाअनुसार फरक हुने उहाँ बताउनुहुन्छ। सामान्य स्वास्थ्य सन्तुलनका लागि एक सत्र पर्याप्त हुन सक्ने भए पनि जटिल समस्या भएका व्यक्तिहरूले कम्तीमा सात दिन लगातार सात सत्र लिनुपर्ने उहाँको सुझाव छ। प्रत्येक सत्र करिब ४५ मिनेटदेखि एक घण्टासम्म सञ्चालन गरिन्छ।
स्वस्थ जीवनशैलीबारे उहाँ शरीर, मन र आत्माबीचको सन्तुलनलाई सबैभन्दा महत्वपूर्ण मान्नुहुन्छ। नियमित योग, ध्यान, व्यायाम, सात्विक भोजन, पर्याप्त पानी, सकारात्मक सोच तथा सेवा र करुणाको भावले जीवनलाई स्वस्थ र अर्थपूर्ण बनाउने उहाँको विश्वास छ।

आध्यात्मिक सेवासँगै सामाजिक तथा सांस्कृतिक क्षेत्रमा पनि सक्रिय बालेश्वरी देवी पश्चिम लण्डनमा हिन्दु मन्दिर निर्माणको आवश्यकता रहेको बताउनुहुन्छ। उहाँका अनुसार यस्तो मन्दिरले नेपाल र भारतीय मूलका हिन्दु समुदायका नयाँ पुस्तालाई आफ्नो धर्म, संस्कृति, भाषा र परम्परासँग जोडेर राख्न महत्वपूर्ण भूमिका खेल्नेछ। “मन्दिर केवल पूजा गर्ने स्थान होइन, यो सांस्कृतिक संरक्षण, सामुदायिक एकता र आध्यात्मिक शिक्षाको केन्द्र बन्नुपर्छ,” उहाँ भन्नुहुन्छ।
भविष्यको योजनाबारे उहाँले वृन्दावनमा श्रीमद्भागवतको अध्ययन पूरा गरिसके पनि कथा वाचनका लागि थप तयारी गरिरहेको जानकारी दिनुभयो। विभिन्न स्थानबाट कथा वाचनका निम्तोहरू प्राप्त भइरहेकाले व्यक्तिगत तथा पारिवारिक व्यवस्थापन पूरा भएपछि उचित तयारीका साथ कथा वाचन सुरु गर्ने उहाँको योजना रहेको छ।
आध्यात्मिक साधना, प्राचीन उपचार पद्धति र मानव सेवालाई एउटै यात्रामा जोड्दै अघि बढिरहनुभएकी श्री बालेश्वरी देवी नेपालदेखि बेलायतसम्म साउण्ड हिलिङ र वैदिक जीवनदर्शनलाई प्रवर्द्धन गर्ने अग्रणी व्यक्तित्वका रूपमा स्थापित हुँदै जानुभएको छ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


