बेलायतमा दैनिक ३० मिनेट हिँड्नेलाई एनएचएसले पुरस्कृत गर्ने

लन्डन । बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) ले नागरिकहरूलाई स्वस्थ राख्न तथा शारीरिक व्यायाममा प्रोत्साहन गर्न पहिलो पटक नौलो योजना अघि सारेको छ।
आगामी वर्षको सुरुबाट एनएचएस इङ्गल्यान्डले ‘महिनाको एक म्याराथन’ नामक चुनौती सुरु गर्न लागेको हो, जसअन्तर्गत सहभागीहरूले दैनिक करिब ३० मिनेट हिँड्नुपर्नेछ।
यस योजनाअनुसार हरेक दिन ३० मिनेट हिँड्दा एक महिनामा झन्डै २६ माइल अर्थात् एक पूरा म्याराथन बराबरको दूरी पूरा हुनेछ र सहभागीहरूले आफ्नो दैनिक हिँडाइलाई अनलाइन, मोबाइल एप वा स्मार्टवाचको माध्यमबाट रेकर्ड गर्न सक्नेछन्। यो चुनौती सफलतापूर्वक पूरा गर्नेहरूलाई एनएचएसले विभिन्न पुरस्कार, छुट तथा प्रोत्साहन सुविधाहरू प्रदान गर्ने बीबीसीले जनाएको छ।
यस योजनाप्रति विशेषगरी २५ वर्षमुनिका युवाहरूले सकारात्मक प्रतिक्रिया दिएका छन्। स्न्यापच्याट र डुओलिङ्गो जस्ता एपहरूमा लोकप्रिय रहेको ‘स्ट्रिक’ अर्थात् लगातार दिनसम्म काम गर्ने बानीसम्बन्धी संस्कृतिलाई यस अभियानमा जोडिएको छ र लगातार हिँड्ने बानी नटुटोस् भन्नका लागि यो खेलजस्तो बनाइएको शैली प्रभावकारी हुने युवाहरूको भनाइ छ।
यस अभियानको प्रारम्भिक व्यवस्थापन खर्च एनएचएसले बेहोर्ने भए तापनि आगामी दिनमा ठूला कर्पोरेट संस्थाहरूबाट परोपकारी आर्थिक सहयोग जुटाउने लक्ष्य राखिएको छ।
यो योजना प्रसिद्ध पूर्व ओलम्पिक पदक विजेता तथा ‘ग्रेट नर्थ रन’का संस्थापक सर ब्रेन्डन फोस्टरको सहकार्यमा विकास गरिएको हो र उनलाई एनएचएस इङ्गल्यान्डले मानिसहरूलाई हिँडाउनका लागि अभियान तयार गर्ने जिम्मेवारी सुम्पेको थियो। फोस्टरले बीबीसीसँग कुरा गर्दै भने कि आफू दौडिनका लागि चिनिन्छु तर यहाँ हाम्रो उद्देश्य एकदमै सरल छ, हामी मानिसहरू केवल हिँडून् भन्ने चाहन्छौं।
उनले यस अभियानमा एक लाखभन्दा बढी मानिसलाई आबद्ध गराउने लक्ष्य राखिएको र यो सफल भएमा इतिहासकै सबैभन्दा ठूलो म्याराथन हुने दाबी गर्दै थपे कि यदि कोही व्यक्ति हप्तामा पाँच पटक ३० मिनेट हिँड्छ भने उसले आफ्नो स्वस्थ जीवनमा थप चार वर्ष थप्न सक्छ।
एनएचएस इङ्गल्यान्डका अनुसार बेलायतमा प्रति छ जनामा एक जनाको मृत्युको कारण शारीरिक निष्क्रियता अर्थात् शारीरिक व्यायामको कमीसँग जोडिएको छ भने हप्तामा ३० मिनेटभन्दा कम व्यायाम गर्ने व्यक्तिलाई शारीरिक रूपमा निष्क्रिय मानिन्छ। ‘स्पोर्ट इङ्गल्यान्ड’को हालैको एक सर्वेक्षणअनुसार बेलायतमा झन्डै २४ प्रतिशत वयस्क अर्थात् करिब एक करोड २० लाख मानिस यो निष्क्रिय श्रेणीमा पर्दछन्।
यस अभियानले मानिसहरूको स्वास्थ्य सुधार गर्नुका साथै स्वास्थ्य उपचारमा हुने एनएचएसको अर्बौं पाउन्ड खर्च बचत गर्ने अपेक्षा गरिएको छ। ‘एक्सन अन साल्ट एन्ड सुगर’की अनुसन्धान प्रमुख सोनिया पोम्बोले यो सकारात्मक कदम भएको बताउँदै सरकारले व्यक्तिगत व्यवहार परिवर्तनसँगै खानपान र बालस्वास्थ्यमा थप कडा रोकथामका उपायहरू पनि ल्याउनुपर्नेमा जोड दिइन्।
यस भौचर तथा पुरस्कार योजनाको विस्तृत विवरण र दर्ता गर्ने प्रक्रिया आगामी महिनाहरूमा सार्वजनिक गरिने एनएचएसले जनाएको छ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५



